दफा २०६: व्यक्ति बेपत्ता पार्ने काम गर्न गराउन नहुने

Estimated reading: 1 minute 3 views

१) कसैले कसैलाई बेपत्ता पार्ने कार्य गर्न वा गराउन हुँदैन।

२) उपदफा (१) को प्रयोजनको लागि “व्यक्ति बेपत्ता पार्ने कार्य” भन्नाले देहायको कार्य सम्झनु पर्छ:-

(क) कानून बमोजिम पक्राउ गर्न, अनुसन्धान गर्ने वा कानून कार्यान्वयन गर्ने अख्तियारी पाएको व्यक्ति वा सुरक्षाकर्मीले पक्राउ गरेको, हिरासतमा राखेको वा अन्य कुनै किसिमले नियन्त्रणमा लिएको व्यक्तिलाई मुद्दा हेर्ने अधिकारी समक्ष त्यसरी पक्राउ गरेको वा नियन्त्रणमा लिएको मितिले बाटोको म्याद बाहेक चौबीस घण्टाभित्र उपस्थित नगराई वा सरोकारवालालाई भेटघाट गर्न नदिई निजलाई कहाँ, कसरी र कुन अवस्थामा राखिएको छ भने सम्बन्धमा जानकारी नदिने।

(ख) कुनै व्यक्ति, सङ्गठन वा सङ्गठित वा असङ्गठित समूहको नामबाट कुनै व्यक्तिलाई अपहरण गरी, कब्जा वा नियन्त्रणमा लिई वा अन्य कुनै किसिमले निजको वैयक्तिक स्वतन्त्रताबाट बञ्चित गरेकोमा त्यसरी बञ्चित गर्नुको कारण तथा निजलाई कहाँ, कसरी र कुन अवस्थामा राखिएको छ भन्ने सम्बन्धमा सरोकारवालालाई जानकारी नदिने।

३) कुनै व्यक्तिलाई जुन व्यक्तिको आदेशले पक्राउ गरी, थुनामा राखी वा नियन्त्रणमा लिई वेपत्ता पारेको हो त्यस्तो आदेश दिने र त्यस्तो आदेशको कार्यान्वयन गर्ने व्यक्ति बेपत्ता पार्ने मुख्य कसूरदार मानिनेछ।

४) व्यक्ति बेपत्ता पार्ने कार्य कुनै सार्वजनिक पद धारण गरेको व्यक्ति वा सङ्गठन वा सङ्गठित वा असङ्गठित समूहको जिम्मेबार व्यक्तिको आदेश वा निर्देशन बमोजिम भए गरेको रहेछ भने त्यस्तो आदेश वा निर्देशन दिने व्यक्ति बेपत्ता पार्ने मुख्य कसूरदार मानिनेछ।

५) कसैले आफू मातहतको पदाधिकारी, निकाय वा समूहद्वारा व्यक्ति बेपत्ता पार्ने कार्य गर्न वा गराउन लागेको कुरा थाहा पाएर पनि त्यसको उपेक्षा गरेमा वा त्यस्तो कार्य रोक्ने सम्बन्धमा आवश्यक उपाय नअपनाएमा निजले समेत यस दफा बमोजिम कसूर गरेको मानिनेछ।

६) कुनै व्यक्तिलाई एकभन्दा बढी व्यक्तिले सामूहिक रूपमा बेपत्ता पारेमा त्यस्तो कार्यमा संलग्न प्रत्येक व्यक्ति समान रूपमा कसूरदार मानिनेछ।

७) उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई देहाय बमोजिमको सजाय हुनेछ:-

(क) व्यक्ति बेपत्ता पान्नलाई बेपत्ता पारेको अवधि र अवस्थालाई समेत विचार गरी त्यस्तो काम गर्ने मुख्य कसूरदारलाई पन्ध्र वर्षसम्म कैद र पाँच लाख रूपैयाँसम्म जरिवाना,

(ख) व्यक्ति बेपत्ता पार्न मतियार बन्ने वा षड्यन्त्र गर्नेलाई व्यक्ति बेपत्ता पार्ने मुख्य कसूरदार सरह र सोको उद्योग गर्ने वा परिपञ्च मिलाउने व्यक्तिलाई मुख्य कसूरदारलाई हुने सजायको आधा सजाय।

८) महिला वा बालबालिका विरुद्ध उपदफा (१) बमोजिमको कसूर मानिने कार्य गर्नेलाई उपदफा (७) बमोजिम हुने सजायमा थप दुई वर्ष कैद सजाय हुनेछ।

९) कसैले कुनै व्यक्तिलाई बेपत्ता पारिएको अवस्थामा बेपत्ता पारिएको व्यक्तिको विरुद्ध कानून बमोजिम सजाय हुने अन्य कुनै कसूर गरेको रहेछ भने निजलाई त्यस्तो कसूर बापत कानून बमोजिम हुने सजायमा यस दफा बमोजिम थप सजाय हुनेछ ।

१०) सरकारी साधन, भवन, हातहतियार वा मालसामान प्रयोग गरी व्यक्ति बेपत्ता पार्ने व्यक्तिलाई यस दफामा हुने सजायमा थप एक वर्ष कैद हुनेछ ।

Share this Law

दफा २०६: व्यक्ति बेपत्ता पार्ने काम गर्न गराउन नहुने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.