दफा ५४: दामासाही सम्बन्धी कारबाही प्रारम्भ गर्न सकिने

Estimated reading: 1 minute 5 views

१) कुनै व्यक्तिको ऋण तथा निजले व्यहोर्नु पर्ने अन्य दायित्व निजको जायजेथाभन्दा बढी भएमा त्यस्तो जायजेथाबाट ऋण भुक्तानी वा असुल गर्नु वा दायित्व फल्छ्यौँट गर्नु दामासाही सम्बन्धी कारबाही प्रारम्भ गर्न सकिनेछ ।

२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायका अवस्थामा दामासाही सम्बन्धी कारबाही प्रारम्भ गर्न सकिने छैन:-

(क) नियमित आम्दानी भएको वा भविष्यमा आम्दानी हुने निश्चितता भएको व्यक्तिले आफ्नो आम्दानीबाट निश्चित अवधिमा ऋण वा अन्य दायित्व भुक्तानी वा फछ्यौँट गर्न सक्ने कुरा निजले प्रमाणित गरेमा वा त्यस्तो कुरामा साहु सन्तुष्ट भएमा,

(ख) दामासाहीमा पर्न लागेको व्यक्तिले दामासाहीको कारबाही प्रारम्भ गर्नु पने अवस्था सूचना भएको मितिबाट त्यस्तो कारबाही प्रारम्भ नगर्न वा नगराउनको लागि साहुको ऋण भुक्तानीको अवधि र त्यसको स्रोत खुलाई पाँच वर्षसम्मको समयावधि माग गरेमा, वा

(ग) दामासाहीको कारबाही प्रारम्भ गर्नु वा गराउन साहुले मञ्जुर नगरेमा ।

स्पष्टीकरण:

(१) यस परिच्छेदको प्रयोजनको लागि “जायजेथा” भन्नाले सम्बन्धित व्यक्तिको तत्काल कायम रहेको वा यस परिच्छेद बमोजिम दामासाही सम्बन्धी कारबाही सम्पन्न हुनुभन्दा अगाडिसम्म अर्जन हुने वा हुन सक्ने सम्पत्ति सम्झनु पर्छ ।

(२) खण्ड (ग) को प्रयोजनको लागि “साहु” भन्नाले एकभन्दा बढी साहु भएको अवस्थामा दामासाहीमा पर्न लागेको व्यक्तिको कुल ऋणमध्ये पचास प्रतिशत वा सोभन्दा बढी ऋण लिनु पने साहु वा साहुहरूको समूह सम्झनु पर्छ ।

३) यस परिच्छेद बमोजिम कुनै व्यक्तिको जायजेथाबाट साहुको ऋण वा दाबी फछ्यौँट भएकोमा त्यस्तो व्यक्ति साहुको दामासाहीमा परेको मानिनेछ ।

४) उपदफा (३) बमोजिम दामासाहीमा परेको व्यक्तिको लगत अदालतले त्यस्तो प्रयोजनका लागि खडा भएको दामासाही प्रशासन कार्यालयमा पठाउनु पर्छ ।

५) उपदफा (४) बमोजिमको लगत दामासाही प्रशासन कार्यालयले अधावधिक गरी राख्नु पर्नेछ ।

६) उपदफा (३) बमोजिम कुनै व्यक्ति दामासाहीमा परेकोमा यस परिच्छेद बमोजिम फछ्यौँट भएको निजले लिएको ऋण वा निजले पूरा गर्नु पर्ने दायित्व बाहेक अन्य ऋण वा दायित्व निजले भुक्तानी वा पूरा गर्नु पर्ने छैन ।

७) उपदफा (६) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै व्यक्ति साहूको दामासाहीमा परेपछि निजले शुरू गर्ने व्यापार, व्यवसाय वा कारोबारबाट देहायको दायित्व पूरा गर्नु पनेछ:-

(क) “नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहलाई बुझाउनु पर्ने कर, शुल्क वा दस्तुर,

(ख) अदालतको आदेश बमोजिम बुझाउनु पर्ने दण्ड, जरिबाना बापतको रकम,

(ग) आफ्नो संरक्षकत्व वा माथवरमा रहेको व्यक्तिको सम्पत्ति हिनामिना गरे बापत बुझाउनु पर्ने रकम,

(घ) चोरी गरेको सामानको बुझाउनु पर्ने रकम,

(ङ) गुठीको सम्पत्ति हिनामिना गरे बापत बुझाउनु पर्ने रकम ।

८) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि दामासाहीमा परेको व्यक्तिले त्यस्तो हैसियतमा कानून बमोजिम गर्न नहुने काम, कारवाही बाहेक अन्य जुनसुकै व्यापार, व्यवसाय वा कारोबार गर्न सक्नेछ ।

Share this Law

दफा ५४: दामासाही सम्बन्धी कारबाही प्रारम्भ गर्न सकिने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.