दफा २८५: आपराधिक उपद्रव गर्न नहुने

Estimated reading: 1 minute 3 views

१) कसैले आपराधिक उपद्रव गर्न वा गराउन हुँदैन।

२) उपदफा (१) को प्रयोजनको लागि कसैले देहायको कुनै काम गरेमा निजले आपराधिक उपद्रव गरेको मानिनेछ:-

(क) नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तह, नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको पूर्ण वा अधिकांश स्वामित्व वा नियन्त्रण रहेको सङ्गठित संस्था, सर्वसाधारण वा कुनै व्यक्तिलाई कुनै हानि, नोक्सानी वा क्षति पुर्‍याउने नियतले वा त्यस्तो क्षति पुग्न सकछ भन्ने जानीजानी वा विश्वास गर्नु पर्ने मनासिब कारण भई वा लापरबाही वा हेलचेक्र्याइँ गरी कुनै सरकारी, सार्वजनिक वा निजी सम्पत्ति नाश गरेमा वा त्यसको मूल्य, महत्त्व वा उपयोगिता घट्ने कुनै काम गरेमा,

(ख) सार्वजनिक वा निजी ढल, निकाल, कुलो, पँधेरो, सडक, पुल वा कुनै सञ्चार वा यातायातको साधन इत्यादिको हानि, नोक्सानी वा अनुचित क्षति पुर्‍याएमा वा क्षति पुग्ने कुनै काम गरेमा वा सोको उपयोगमा जानीजानी कुनै किसिमले बाधा अवरोध हानि, नोक्सानी वा अनुचित क्षति पुर्‍याएमा वा क्षति पुग्ने कुनै काम गरेमा,

(ग) अधिकार प्राप्त अधिकारीको आदेशले बाहेक सार्वजनिक सुविधाको लागि राखिएको कुनै सङ्केत वा चिह्र नासेमा, हटाएमा, मेटेमा वा बिगारेमा,

(घ) झुटो अफवाह फैलाएर वा अरुलाई धोका हुने कुनै साधनको प्रयोग गरेर अर्काको काम कारोबार वा व्यवसायमा बाधा पुर्‍याएमा वा अर्काको व्यापारको ख्यातिलाई क्षति पुर्‍याएमा,

(ङ) अर्काको चिठ्ठी, सूचना, पुलिन्दा वा अन्य कुनै माल लुकाएमा वा बदनियतसाथ ढिलो पुग्ने गराएमा ।

३) उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई देहाय बमोजिमको सजाय हुनेछ:-

(क) नेपाल सरकारले संरक्षण गरेको वा कानून बमोजिम संरक्षित कुनै वन्यजन्तु वा वनस्पतिको प्रजातिको अस्तित्व नै विनाश गर्ने उद्देश्यले राष्ट्रिय निकुञ्ज वा आरक्ष वा संरक्षित क्षेत्र, विश्व सम्पदा सूचीमा समावेश भएका ऐतिहासिक वा पुरातात्त्विक स्मारक वा स्तम्भ, ऐतिहासिक वा पुरातात्त्विक महत्वका वस्तु सङ्कलन गरी राखिएको स्थान वा सङ्ग्रहालय, ऐतिहासिक लिखतहरू राखिएको अभिलेखालय, जङ्गी वा प्रहरीको हातहतियार तथा खरखजाना राखिएको सैनिक वा अर्धसैनिक घर वा ठाउँ, सुरक्षा छापाखाना, सिक्का टकमारी गर्ने टक्सार, कारखाना, बैङ्क नोट छाप्ने वा थुपार्ने नेपाल राष्ट्र बैङ्कको गोदाममा आगो लगाएमा वा विष्फोटक पदार्थ प्रयोग गरेमा जन्मकैदको सजाय र बिगो बमोजिम जरिबाना,

(ख) खण्ड (क) मा लेखिए बाहेकका ऐतिहासिक, पुरातात्त्विक वा धार्मिक स्मारक वा स्तम्भ, सार्वजनिक वा सरकारी महत्त्वका कागजात रहेको भवन वा तहविल रहेको अदालत, संवैधानिक निकाय, नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको कार्यालय वा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको पूर्ण वा अधिकांश स्वामित्व वा नियन्त्रण रहेको संस्था, विदेशी कूटनीतिक नियोग वा अन्तर्राष्ट्रिय वा अन्तरसरकारी संस्थाको कार्यालयमा आगो लगाई वा विष्फोटक पदार्थ प्रयोग गरी आपराधिक उपद्रव गरेको भए पाँच वर्षदेखि बाह्र वर्षसम्म कैद र बिगो बमोजिम जरिबाना,

(ग) खण्ड (क) वा (ख) मा लेखिएदेखि बाहेक अन्य कुनै काम गरी कुनै सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याई आपराधिक उपद्रव गरेको भए चार वर्षसम्म कैद र चालीस हजार रूपैयाँसम्म जरिबाना,

(घ) कसैको घर, कार्यालय वा कुनै सम्पत्तिमा आगो लगाई वा विष्फोटक पदार्थ प्रयोग गरी आपराधिक उपद्रव गरेकोमा दुई वर्षदेखि पाँच वर्षसम्म कैद र बीस हजारदेखि पचास हजार रुपैयाँसम्म जरिबाना,

(ङ) खण्ड (क), (ख), (ग) वा (घ) मा लेखिएदेखि बाहेक अरु कुनै काम गरी आपराधिक उपद्रव गरेको कारणले कसैलाई कुनै हानि, नोक्सानी भएकोमा तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिबाना ।

४) यस दफा बमोजिमको कसूरबाट कसैलाई हानि, नोक्सानी भएमा हानि, नोक्सानी भएको बिगो बराबरको क्षतिपूर्ति कसूरदारबाट पीडितलाई भराई दिनु पर्नेछ ।

Share this Law

दफा २८५: आपराधिक उपद्रव गर्न नहुने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.