दफा ९कः निकासी भएको मालसामानको मूल्य भुक्तानी प्राप्त गर्ने बारे

Estimated reading: 1 minute 226 views

१) निकासीकर्ताले बैङ्कले तोकको निकासी प्रज्ञापनपत्रमा उल्लेखित विवरणहरू भरी उक्त प्रज्ञापनपत्रमा घोषित मूल्य बैङ्कद्वारा स्वीकृत विदेशी विनिमयमा तोकिएको अवधिभित्र भुक्तानी ल्याउँछु भनी भन्सार अधिकृतसमक्ष घोषणा गर्नुपर्नेछ ।

२) निकासी गरिएको मालसामानको भुक्तानी प्राप्त गर्नु अघि प्रज्ञापनपत्रमा घोषित मूल्य भन्दा कम वा बढी मूल्य भुक्तानी हुने अवस्था परेमा निकासीकर्ताले सो कुराको प्रमाण सहित बैङ्क समक्ष आवेदन गर्नुपर्नेछ र उक्त कुरा पुष्टि भएमा बैङ्कले त्यस्तो कम वा बढी भुक्तानी प्राप्त गर्ने स्वीकृति दिन सक्नेछ।

३) उपदफा (१) अन्तर्गत तोकिएको अवधिभित्र निकासीकर्ताले निकासी गरिएको मालसामानको मूल्य भुक्तानी प्राप्त नगरेमा निजले यस ऐनको उल्लङ्घन गरेको मानिनेछ ।

(४) उपदफा (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि निकासीकर्ताले उपदफा (१) अन्तर्गत तोकिएको अवधिभित्र निकासी गरिएको मालसामानको मूल्य भुक्तानी प्राप्त गर्न नसक्नाको मनासिव कारण खोली प्रमाण सहित बैङ्कमा निवेदन दिएमा र बैङ्क सो कुरामा विश्वस्त भएमा बैङ्कले सम्बन्धित निकासीकर्तालाई पुनः अवधी तोकी देहाएको आदेश दिन सक्नेछः-

(क) मालसामान विक्री भैसकेको भए त्यसको भुक्तानी ल्याउन,

(ख) मालसामान विक्री भैनसकेको भए सो विक्री गरी भुक्तानी ल्याउन वा त्यस्तो मालसामान नेपालमै फिर्ता ल्याउन।

तर निकासीकर्ताले आफ्नो काबू बाहिरको परिस्थिति परी निकासी भएको मालसामानको भुक्तानी ल्याउन नसक्नाको मनासिव कारण खोली प्रमाण सहित बैङ्कमा निवेदन दिएमा बैङ्कले आवश्यक छानविन गरी त्यस्तो मालसामान फिर्ता गर्न वा आंशिक वा पूरै भुक्तानी ल्याउन नपर्ने गरी छुट दिन सक्नेछ।

५) प्रज्ञापनपत्रमा घोषित मूल्य तोकिएको अवधीभित्र तोकिएको तरीकाले भुक्तानी हुने व्यहोरा बैङ्कले प्रमाणित गराउन चाहेमा निकासीकर्ताबाट निजले विदेशी क्रेतासँग गरेको यस सम्बन्धी सम्झौतापत्र तथा अन्य प्रमाण पेश गर्न लगाउन सक्नेछ ।

६) निकासी गरिएको मालसामानको पूरा मूल्य भुक्तानी प्राप्त हुने व्यवस्था गर्न बैङ्कले निकासी हुने सबै वा कुनै खास किसिमको मालसामान वा सबै वा कुनै खास निर्यातकर्ताको सम्बन्धमा देहाय बमोजिम गर्नुपर्ने गरी आदेश जारी गर्न सक्नेछः-

(क) नेपाल सरकारले अन्यथा तोकेको अवस्थामा बाहेक निकासी गरिएका मालसामानहरूको भुक्तानी प्रतीतपत्रको माध्यमबाट वा बैङ्कले तोकेको अन्य माध्यमबाट मात्र प्राप्त गर्नुपर्ने,

(ख) उपदफा (१) बमोजिम प्रज्ञापनपत्रमा घोषित मूल्य नै निर्यातको वास्तविक मूल्य हो भनी प्रमाणित गराउन उक्त प्रज्ञापनपत्र बैङ्कले तोकेको अधिकारी वा संस्थामा पेश गर्नुपर्ने,

७) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि ज्ञान तथा सूचना मूलक प्रविधिको निकासी र सोको भुक्तानी प्राप्त गर्ने प्रक्रिया बैङ्कले सार्वजनिक सूचना प्रकाशन र प्रसारण गरी तोकिदिए बमोजिम हुनेछ।

Share this Law

दफा ९कः निकासी भएको मालसामानको मूल्य भुक्तानी प्राप्त गर्ने बारे

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.