दफा २: परिभाषा

Estimated reading: 1 minute 333 views

विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा,

(क) “मुद्रा” भन्नाले सबै किसिमको करेन्सी नोट, पोस्टल अर्डर, पोस्टल नोट, मनी अर्डर, चेक, ड्राफ्ट, ट्राभलर्स चेक, प्रतीतपत्र, विनिमयपत्र, प्रतिज्ञापत्र, क्रेडिट कार्ड सम्झनुपर्छ र सो शब्दले बैङ्कले सार्वजनिक सूचना प्रकाशन र प्रसारण गरी तोकिदिएका अन्य यस्तै प्रकारका मौद्रिक उपकरण समेतलाई जनाउँछ ।

(क१) “करेन्सी नोट” भन्नाले नगदको रूपमा चलन चल्तीमा रहेको बैङ्क नोट सम्झनुपर्छ र सो शब्दले सिक्का समेतलाई जनाउँछ ।

(ख) “विदेशी मुद्रा” भन्नाले नेपाली मुद्रा बाहेक अन्य मुद्रा सम्झनुपर्छ र सो शब्दले अन्तर्राष्ट्रिय मुद्रा कोषबाट रकम झिक्ने विशेष अधिकार (स्पेशल ड्रइङ्ग राइट्स), एशियन करेन्सी युनिट, युरोपियन करेन्सी युनिट तथा बैङ्कले सार्वजनिक सूचना प्रकाशन र प्रसारण गरी तोकिदिएका अन्य उपकरण समेतलाई जनाउँछ।

(ग) “नेपाली मुद्रा” भन्नाले नेपाली रूपैयाँमा अङ्कित मुद्रा सम्झनुपर्छ।

(ग१) “परिवर्त्य विदेशी मुद्रा” भन्नाले बैङ्कले सार्वजनिक सूचना प्रकाशन र प्रसारण गरी परिवर्त्य विदेशी मुद्रा भनी तोकिदिएको विदेशी मुद्रा सम्झनुपर्छ ।

(घ) “विदेशी विनिमय” भन्नाले विदेशी मुद्रा, विदेशी मुद्रामा भुक्तानी हुने वा प्राप्त हुने सबै किसिमको निक्षेप, कर्जा, मौज्दात, विदेशी धितोपत्र र विदेशी मुद्रामा भुक्तानी हुने वा हुन सक्ने अन्तर्राष्ट्रिय प्रचलनमा रहेका चेक, ड्राफ्ट, ट्राभलर्स चेक, इलेक्ट्रोनिक फण्ड ट्रान्सफर, क्रेडिटकार्ड, प्रतीतपत्र, विनिमयपत्र, प्रतिज्ञापत्र सम्झनुपर्छ र सो शब्दले बैङ्कले सार्वजनिक सूचना प्रकाशन र प्रसारण गरी तोकिदिएको अन्य जुनसुकै मौद्रिक उपकरण समेतलाई जनाउँछ।

(घ१) “विदेशी विनिमय कारोबार” भन्नाले विदेशी विनिमय खरिद बिक्री गर्ने, ऋण लिने, दिने वा अन्य कुनै तरिकाले विदेशी विनिमय लिने, दिने कार्य सम्झनुपर्छ र सो शब्दले बैङ्कले विदेशी विनिमय सटही स्वीकृति दिने कार्य समेतलाई जनाउँछ ।

(घ२) “इजाजतपत्र” भन्नाले विदेशी विनिमय कारोबार गर्नका लागि कुनै व्यक्ति फर्म, कम्पनी वा संस्थाले दफा ३ बमोजिम बैङ्कबाट प्राप्त गरेको इजाजतपत्र सम्झनुपर्छ ।

(ङ) “इजाजतपत्र प्राप्त व्यक्ति” भन्नाले विदेशी विनिमय कारोबार गर्न दफा ३ बमोजिम बैङ्कबाट इजाजतपत्र प्राप्त गरेको व्यक्ति, फर्म, कम्पनी वा संस्था सम्झनुपर्छ ।

(च) “धितोपत्र” भन्नाले कुनै सङ्गठित संस्थाले जारी गरेका शेयर, स्टक, बण्ड, डिवेन्चर, डिवेन्चर स्टक वा प्रचलित कानुन बमोजिम सङ्गठित संस्थाले जारी गरेको एकाङ्क बचत कार्यक्रम वा समूहगत बचत कार्यक्रम सम्बन्धी प्रमाणपत्र वा हस्तान्तरण योग्य निक्षेप प्रमाणपत्र सम्झनुपर्छ र सो शब्दले नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकिदिएको धितोपत्र वा धितोपत्रको धरौटी सम्बन्धी भर्पाई, धितोपत्र सम्बन्धी हक र अधिकार समेतलाई जनाउँछ।

(छ) “विदेशी धितोपत्र” भन्नाले नेपाल बाहेक अन्य कुनै मुलुकबाट निष्काशन वा जारी गरिएको धितोपत्र सम्झनुपर्छ।

(छ१) “विदेशी लगानी” भन्नाले कुनै फर्म, कम्पनी वा संस्थामा विदेशी लगानीकर्ताले गरेको देहाय बमोजिमको लगानी सम्झनुपर्छः-

(१) शेयरमा गरेको लगानी,

(२) निक्षेपमा गरेको लगानी,

(३) उपखण्ड (१) र (२) बमोजिमको लगानीबाट प्राप्त आयको पुनर्लगानी,

(४) ऋण वा ऋण सुविधाको रूपमा गरेको लगानी।

(छ२) “प्रविधि हस्तान्तरण” भन्नाले कुनै फर्म, कम्पनी वा संस्था र विदेशी लगानीकर्ताबीच देहायका कुराको सम्बन्धमा सम्झौता गरी गरिने प्रविधिको हस्तान्तरण सम्झनुपर्छ :-

(१) विदेशी उत्पत्तिको कुनै प्रविधि सम्बन्धी अधिकार, विशिष्टता, फर्मुला, प्रक्रिया, पेटण्ट वा प्राविधिक ज्ञानको उपयोग गर्ने,

(२) विदेशी स्वामित्वको ट्रेडमार्क उपयोग गर्ने,

(३) वैदेशिक प्राविधिक सल्लाहकार, व्यवस्थापन तथा बजार सेवा उपलब्ध गर्ने।

(छ३) “विदेशी लगानीकर्ता” भन्नाले विदेशी लगानी वा प्रविधि हस्तान्तरण गर्ने कुनै विदेशी व्यक्ति, फर्म, कम्पनी वा संस्था सम्झनुपर्छ र सो शब्दले विदेशी सरकार वा अन्तर्राष्ट्रिय संस्था समेतलाई जनाउँछ।

(छ४) “विदेशमा लगानी” भन्नाले नेपालमा संस्थापित कम्पनी वा प्रतिष्ठानले विदेशमा गरेको देहायको लगानी सम्झनु पर्छः-

(१) विदेशको धितोपत्र बजारमा सूचीकृत नभई विदेशमा संस्थापना वा दर्ता भएको सीमित दायित्वको साझेदारी, फर्म, लगानी कोष, कम्पनी वा सीमित दायित्व रहने गरी संस्थापित यस्तै प्रकृतिको निकायको शेयरमा वा शेयर खरिदमा गरेको लगानी,

(२) विदेशको धितोपत्र बजारमा सूचीकृत भई विदेशमा संस्थापना वा दर्ता भएको सीमित दायित्वको साझेदारी, फर्म, लगानी कोष, कम्पनी वा सीमित दायित्व रहने गरी संस्थापित यस्तै प्रकृतिको निकायको चुक्ता पुँजीको बिस प्रतिशतसम्म शेयरमा वा शेयर खरिदमा गरेको लगानी,

तर कुनै नेपाली नागरिकले आफू विदेशमा रहँदा बस्दाको अवधिमा आर्जन गरेको रकम लगानी गर्दा त्यस्तो सीमा लागू हुने छैन।

(३) नेपालमा संस्थापित कम्पनी वा प्रतिष्ठानले विदेशमा आफ्नो शाखा वा सम्पर्क कार्यालय खोल्न वा दर्ता गर्न गरेको लगानी,

(४) नेपालमा संस्थापित कम्पनी वा प्रतिष्ठानले विदेशमा रहेको बैङ्कको निक्षेप खातामा जम्मा गरिएको रकम, वा

(५) उपखण्ड (१) र (२) बमोजिमको लगानीबाट प्राप्त आयको पुनर्लगानी।

(ज) “सुन” भन्नाले कानुनी रूपले प्रचलनमा भएको वा नभएको सिक्काको रूपमा रहेको सुन, शुद्धीकरण भएको वा नभएको सुनका ढिक्काहरू र पाताहरू तथा पूर्णतया वा मुख्यतया सुनबाट बनेका गहना र मालवस्तुहरूलाई समेत जनाउँछ।

(झ) “चाँदी” भन्नाले कानुनी रूपले प्रचलनमा भएको वा नभएको सिक्काको रूपमा रहेको चाँदी र शुद्धीकरण भएको वा नभएको चाँदीका ढिक्काहरू र पाताहरू तथा पूर्णतया वा मुख्यतया चाँदीबाट बनेका गहना र माल वस्तुहरूलाई समेत जनाउँछ।

(ञ) “बैङ्क” भन्नाले नेपाल राष्ट्र बैङ्क सम्झनुपर्छ ।

(ट) “तोकिएको” वा “तोकिए बमोजिमको” भन्नाले यो ऐन अन्तर्गत बनेको नियममा तोकिएको वा तोकिए बमोजिमको सम्झनुपर्छ।

(ठ) “कुनै धितोपत्रको सम्बन्धमा धनी” भन्नाले सो धितोपत्र बेचबिखन वा नामसारी गर्न पाउने हक भएको व्यक्ति वा सो धितोपत्र आफ्नो नाउँमा राख्ने व्यक्ति वा सो आफ्नै वा अरू व्यक्तिको तर्फबाट सो धितोपत्रको लाभांश वा व्याज प्राप्त गर्ने व्यक्ति वा सो धितोपत्रमा कुनै हक भएको व्यक्तिलाई समेत जनाउँछ र सो धितोपत्र कुनै ट्रष्टमा राखिएको वा त्यसको लाभांश वा व्याज कुनै ट्रष्ट फण्डमा जम्मा हुने रहेछ भने सो ट्रष्ट वा त्यसको कुनै शर्तलाई अरू कुनै व्यक्तिको मञ्जुरी लिई वा नलिई सञ्चालन गराउन वा खारेज गर्न वा हेरफेर गर्न पाउने हक भएको वा ट्रष्ट मनीको लगानीलाई नियन्त्रण गर्न पाउने हक भएको व्यक्तिलाई जनाउँछ ।

(ड) “अनुसन्धान अधिकारी” भन्नाले दफा ११क. बमोजिम तोकिएको अनुसन्धान अधिकारी सम्झनुपर्छ ।

(ढ) “नेपालमा बसोबास गर्ने व्यक्ति” भन्नाले सम्झनुपर्छः-

१. नोकरी, व्यापार वा अन्य कुनै व्यवसाय गरी वा अरू कुनै कामले बैङ्कले सार्वजनिक सूचना प्रकाशन र प्रसारण गरी तोकिदिएको भन्दाबढी अवधिको लागि नेपाल बाहिर बसोबास गरिरहेका नेपाली नागरिक बाहेक अरू नेपाली नागरिक,

२. नोकरी, व्यापार वा अन्य कुनै व्यवसाय गरी बैङ्कले सार्वजनिक सूचना प्रकाशन र प्रसारण गरी तोकिदिएको भन्दाबढी अवधिको लागि नेपालमा बसोबास गरिरहेका गैर नेपाली नागरिक ।

(ण) “नेपाल बाहिर बसोबास गर्ने व्यक्ति” भन्नाले नेपालमा बसोबास गर्ने व्यक्ति बाहेकको अन्य व्यक्ति सम्झनुपर्छ।

१. आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०८१ द्वारा थप।

Share this Law

दफा २: परिभाषा

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.