दफा ३४: आचरण पालन गर्नु पर्ने

Estimated reading: 0 minutes 27 views

१) सदस्य र पेशागत प्रमाणपत्र प्राप्त सदस्यले यो ऐन वा वा यस ऐन अन्तर्गत बनेको नियमको पूर्ण पालना गर्नु पर्छ ।

२) आफ्नो वर्गको पेशागत प्रमाणपत्र प्राप्त सदस्यको प्रमाणपत्र नपाएका व्यक्तिसँग साझेदारी वा अन्य कुनै किसिमबाट मिली लेखापरीक्षण कार्य गर्नु हुँदैन ।

३) संस्थाको सदस्यता पाएको व्यक्ति बाहेक अन्य व्यक्तिसँग आफूले पाएको वा आर्जन गरेको लेखापरीक्षण शुल्क वा पारिश्रमिकमा कुनै किसिमको साझेदारी गर्न वा मुनाफामा हिस्सा दिनु हुँदैन र सदस्यता पाएको व्यक्ति लगायत अन्य कुनै व्यक्तिसँग आफूले पाएको वा आर्जन गरेको व्यावसायिक शुल्कमा कमिसन, दलाली आदि दिनु हुँदैन ।

४) डर, धाक, त्रास वा प्रलोभन देखाई कसैलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपले लेखा व्यवसायको कामहरु पाउनका लागि प्रभावित गर्न हुँदैन ।

५) आफूलाई काम लगाउने व्यक्ति र प्रचलित कानूनले बाध्य गराएको व्यक्तिलाई बाहेक अन्य व्यक्तिलाई आफ्नो व्यवसायको सिलसिलामा पाएका सूचना तथा स्पष्टीकरणहरु दिन वा भन्न हुँदैन ।

६) पेशागत प्रमाणपत्र प्राप्त सदस्यले आफू वा आफ्नो साझेदार वा कर्मचारीले जाँची रुजू नगरेसम्म कुनै पनि आर्थिक विवरण प्रमाणित गर्न वा कुनै किसिमको प्रतिवेदन दिन हुँदैन ।

७) पेशागत प्रमाणपत्र प्राप्त सदस्यले आफ्नो वा आफ्नो साझेदारको हित भएको कुनै संस्थाको आर्थिक विवरण प्रमाणित गर्दा वा प्रतिवेदन दिंदा आफ्नो वा आफ्नो साझेदारको स्वार्थ निहित रहेको कुरा पनि स्पष्ट रुपले उल्लेख गर्नु पर्नेछ ।

तर कम्पनीमा शेयर होल्डर मात्र भएकोमा स्वार्थ निहित रहेको मानिने छैन ।

८) पेशागत प्रमाणपत्र प्राप्त सदस्यले आफूले प्रमाणित गरेको कुनै पनि आर्थिक विवरणलाई यथार्थ रुपमा दर्शाउन आफूलाई थाहा भएका कुनै पनि मूलभूत कुराहरु स्पष्ट रुपले देखाउनु पर्नेछ वा आफूले थाहा पाएसम्म आफूले प्रमाणित गरेको आर्थिक विवरणमा कुनै गलत विवरण वा स्पष्टीकरण रहेछ भने सो पनि स्पष्ट रुपले उल्लेख गर्नु पर्नेछ ।

९) पेशागत प्रमाणपत्र प्राप्त सदस्यले आफ्नो व्यवसायको सिलसिलामा गर्नुपर्ने कर्तव्य सावधानीपूर्वक गर्नु पर्नेछ र प्रचलित कानून तथा लेखापरीक्षण सम्बन्धी मान्य सिद्धान्त अनुरुप नभएका वा नगरिएका कुनै पनि मूलभूत कुराहरु माथि सम्बन्धित सबैको ध्यानाकर्षण गराउनु पर्नेछ ।

१०) पेशागत प्रमाणपत्र प्राप्त सदस्यले आफूले काम गरे बापत पाउनुपर्ने पारिश्रमिकलाई मुनाफाको प्रतिशत वा अन्य कुनै अनिश्चित नतिजा माथि आधारित गर्नु हुँदैन ।

११) नेपाल सरकारको कुनै कार्यालय, विभाग वा कुनै संस्थालाई प्रचलित कानून बमोजिम दिनुपर्ने सूचना, स्पष्टीकरण वा विवरणमा जानी जानी वा लापरवाही साथ झुट्टो कुरा उल्लेख गर्नु हुँदैन ।

१२) आफूले नोकरी गरेको संस्थाको सेवा गर्न छोडेको कम्तीमा तीन वर्ष नपुगी सो संस्थाको लेखापरीक्षण गर्नु हुँदैन ।

१३) प्रचलित कानून बमोजिम लेखापरीक्षकमा नियुक्त हुन आवश्यक रीत पूरा भएको यकिन नगरी कुनै पनि पेशागत प्रमाणपत्र प्राप्त सदस्यले कुनै संस्थाको लेखापरीक्षकमा भएको नियुक्ति स्वीकार गर्नु हुँदैन ।

१४) लेखा परीक्षण सम्बन्धमा आफ्नो राय व्यक्त गर्नु अगाडि यथेष्ट रुपमा सम्बन्धित सूचना प्राप्त गरेको हुनुपर्छ ।

१५) पेशागत प्रमाणपत्र प्राप्त सदस्य र सदस्यले पालना गर्नुपर्ने आचरण सम्बन्धी अन्य कुराहरु तोकिए बमोजिम हुनेछ ।

Share this Law

दफा ३४: आचरण पालन गर्नु पर्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.