परिच्छेद १ प्रारम्भिक

दफा २: परिभाषा

Estimated reading: 1 minute 3 views

विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा,-

(क) “उपभोक्ता” भन्नाले यस ऐन बमोजिम कुनै वस्तु वा सेवा उपभोग वा प्रयोग गर्ने व्यक्ति वा संस्था सम्झनु पर्छ।

(ख) “करार” भन्नाले दफा ७ बमोजिमको करार सम्झनु पर्छ ।

(ग) “क्रेता” भन्नाले यस ऐन बमोजिम कुनै वस्तु वा सेवा खरिद गर्ने कुनै व्यक्ति वा संस्था सम्झनु पर्छ र सो शब्दले निजको प्रतिनिधिलाई समेत जनाउँछ ।

(घ) “ढुवानीकर्ता” भन्नाले व्यवसायीले वस्तुको ढुवानी गर्ने प्रयोजनको लागि काममा लगाएको व्यक्ति, फर्म, कम्पनी वा संस्था सम्झनु पर्छ र सो शब्दले त्यस्तो व्यक्ति, फर्म, कम्पनी वा संस्थाको प्रतिनिधिलाई समेत जनाउँछ ।

(ङ) “निरीक्षण अधिकृत” भन्नाले उपभोक्ता संरक्षण सम्बन्धी प्रचलित संघीय कानून बमोजिम नियुक्त भएको वा तोकिएको निरीक्षण अधिकृत सम्झनु पर्छ ।

(च) “विक्रेता” भन्नाले यस ऐन बमोजिम मध्यस्थ व्यवसायीलाई वस्तु वा सेवा बिक्रीको लागि उपलब्ध गराउने व्यक्ति, फर्म, कम्पनी वा संस्था सम्झनु पर्छ र सो शब्दले सूचीमा आधारित विद्युतीय व्यापार गर्ने व्यवसायीलाई समेत जनाउँछ ।

(छ) “मध्यस्थ (इन्टरमेडियरी) व्यवसायी” भन्नाले विक्रेताको वस्तु वा सेवा विद्युतीय प्लेटफर्मको माध्यमबाट क्रेतालाई बिक्री गर्नको लागि सहजीकरण गर्ने व्यक्ति, फर्म, कम्पनी वा संस्था सम्झनु पर्छ।

(ज) “मन्त्रालय” भन्नाले नेपाल सरकारको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्झनु पर्छ ।

(झ) “महानिर्देशक” भन्नाले विभागको महानिर्देशक सम्झनु पर्छ।

(ञ) “वस्तु” भन्नाले उपभोक्ताले उपभोग वा प्रयोग गर्ने वस्तु वा वस्तुहरूको सम्मिश्रणबाट स्वास्थ्यलाई हानि, नोक्सानी वा कुनै किसिमको नकारात्मक प्रभाव नगर्ने गरी बनेको पदार्थ सम्झनु पर्छ र सो शब्दले त्यस्तो वस्तुको निर्माणमा प्रयोग हुने कच्चा पदार्थ, रङ्ग, सुगन्ध वा रसायनलाई समेत जनाउँछ ।

(ट) “विद्युतीय प्लेटफर्म” भन्नाले कम्प्युटर, मोबाइल वा यस्तै प्रकृतिका विद्युतीय उपकरणको प्रयोग गरी वेबसाइट, एप्लिकेसन, सफ्टवेयर, इन्टरनेट, इन्ट्रानेट, सामाजिक सञ्जालको मार्केट प्लेस लगायतका माध्यमबाट सूचना सङ्कलन, सम्प्रेषण वा सङ्ग्रह गरी वस्तु वा सेवाको कारोबार गर्ने प्रयोजनको लागि बनाइएको प्रणाली सम्झनु पर्छ।

(ठ) “विद्युतीय व्यापार (इ-कमर्स)” भन्नाले विद्युतीय प्लेटफर्म मार्फत् कुनै वस्तु वा सेवाको खरिद वा बिक्री गर्ने प्रक्रिया सम्झनु पर्छ।

तर वस्तु वा सेवाको बारेमा जानकारी दिन वा प्रवर्धन गर्न विद्युतीय प्लेटफर्म प्रयोग गरेमा त्यसलाई विद्युतीय व्यापार (इ-कमर्स) गरेको मानिने छैन ।

(ड) “विभाग” भन्नाले नेपाल सरकारको वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग सम्झनु पर्छ।

(ढ) “व्यवसायी” भन्नाले मध्यस्थ व्यवसायी वा सूचीमा आधारित विद्युतीय व्यापार गर्ने व्यवसायी सम्झनु पर्छ।

(ण) “सूचीमा आधारित विद्युतीय व्यापार गर्ने व्यवसायी” भन्नाले आफ्नो स्वामित्वमा रहेको वस्तु वा सेवाको सूची तयार गरी त्यस्तो सूचीमा रहेको वस्तु वा सेवा विद्युतीय प्लेटफर्मको माध्यमबाट प्रत्यक्ष रूपमा उपभोक्तालाई बिक्री गर्ने फर्म, कम्पनी वा संस्था सम्झनु पर्छ ।

(त) “सेवा” भन्नाले विद्युत, खानेपानी, टेलिफोन, सूचना प्रविधि, स्वास्थ्य, शिक्षा तथा परामर्श, ढुवानी, पर्यटन, मनोरञ्जन, यातायात, ढल मर्मत सम्भार, बैङ्किङ्ग, बीमा वा यस्तै प्रकृतिका अन्य सेवा सम्झनु पर्छ र सो शब्दले कानुनी, लेखापरीक्षण, चिकित्सा वा इन्जिनियरिङ्ग सेवालाई समेत जनाउँछ ।

Share this Law

दफा २: परिभाषा

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.