परिच्छेद ९क फरफारख सम्बन्धी व्यवस्था

दफा ८८ठः फरफारख सम्बन्धी अन्य व्यवस्था

Estimated reading: 1 minute 41 views

१) प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि फरफारखको प्रक्रियामा रहेको वाणिज्य बैङ्क वा वित्तीय संस्थासँग सम्बन्धित सबै दाबीहरुका सम्बन्धमा यसै ऐन बमोजिम हुनेछ।

२) विशेष प्रशासन समूहको पहुँच र नियन्त्रणको अधिकारमा कसैले बाधा अवरोध, दखल वा हस्तक्षेप गर्नु गराउनु हुँदैन। कसैले त्यस्तो कार्य गरे गराएमा विशेष प्रशासन समूहले सम्बन्धित प्रशासन वा प्रहरीलाई आवश्यक सहयोगको लागि अनुरोध गर्न सक्नेछ। त्यसरी अनुरोध भई आएमा सम्बन्धित निकायले आवश्यक सुरक्षाको व्यवस्था गरी त्यस्तो वाणिज्य बैङ्क वा वित्तीय संस्थाको कार्यालय, सम्पत्ति, अभिलेख, बहिखाता र सूचना प्रविधि प्रणाली माथि विशेष प्रशासन समूहको पहुँच र नियन्त्रण कायम गर्न सहयोग गर्नु पर्नेछ।

३) यस परिच्छेद बमोजिम विशेष प्रशासन समूह वा बैङ्कले गरेको काम कारबाहीमा मर्का पर्ने कुनै पक्षले क्षतिपूर्तिको लागि विशेष प्रशासन समूहले बैङ्कमा प्रतिवेदन पेश गरेको वा कुनै कारणले विशेष प्रशासन समूह विघटन भएकोमा विघटन भएको मितिले साठी दिनभित्र अदालत समक्ष निवेदन दिन सक्नेछ।

४) अदालतले देहायको अवस्थामा मर्का पर्ने पक्षलाई मनासिब माफिकको आर्थिक क्षतिपूर्ति भराई दिन सक्नेछः-

(क) फरफारखको क्रममा अधिकार क्षेत्र नाघी गरेको कुनै काम कारबाही भएकोमा,

(ख) यस ऐन बमोजिम फरफारखको प्रक्रिया पूरा नगरेकोमा,

(ग) फरफारखको कारबाही गर्दा पर्याप्त आधार र कारण बिना गरेकोमा।

५) विशेष प्रशासन समूहले यस ऐन बमोजिम आफूलाई प्राप्त अधिकारको प्रयोग गर्दा पारदर्शी एवं न्यायोचित तवरले सम्बन्धित निक्षेपकर्ता तथा अन्य दाबीकर्ताको हित हुने गरी गर्नु पर्नेछ।

६) फरफारखको प्रक्रियाको सिलसिलामा बैङ्क वा विशेष प्रशासन समूहको प्रतिनिधित्व गर्ने वा निजलाई सहयोग गर्ने व्यक्तिले प्राप्त गर्नेपारिश्रमिक तथा सुविधा बैङ्कले निर्धारण गरे बमोजिम हुनेछ।

७) फरफारखको प्रक्रियालाई सहयोग पुग्ने गरी बैङ्क वा विशेष प्रशासन समूहको निर्णय कार्यान्वयन गर्ने सिलसिलामा सम्बन्धित वाणिज्य बैङ्क वा वित्तीय संस्थाका सञ्चालक तथा पदाधिकारीले गरेको कुनै कार्यका विरुद्धमा कुनै निक्षेपकर्ता, शेयरधनी वा मामिला गर्न पाउने छैन।

८) प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि बैङ्कले कुनै वाणिज्य बैङ्क वा वित्तीय संस्थाको फरफारख प्रक्रियाको सम्बन्धमा सो संस्थासँग सम्बन्धित सूचना एवं विवरणहरु कुनै सरकारी वा निजी क्षेत्रको कुनै व्यक्ति, फर्म, कम्पनी वा संस्थाबाट प्राप्त गर्न सक्नेछ। बैङ्कले आदेश दिएमा कुनै वाणिज्य बैङ्क वा वित्तीय संस्थाको मुख्य व्यवस्थापकीय सूचना, प्रविधि रहने स्थान तथा सो संस्थाले गर्ने संवेदनशील एवं मुख्य कार्य सहितको विवरण बैङ्क समक्ष पेश गर्नु पर्नेछ। त्यसरी बैङ्कले मागेको कुनै पनि सूचना प्रदान गर्नु सम्बन्धित व्यक्ति, फर्म, कम्पनी वा संस्थाको कर्तव्य हुनेछ।

Share this Law

दफा ८८ठः फरफारख सम्बन्धी अन्य व्यवस्था

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.