परिच्छेद ९क फरफारख सम्बन्धी व्यवस्था

दफा ८८टः फरफारख सम्बन्धी कारबाही प्रारम्भ हुनुभन्दा पहिलेका कारबाही निष्क्रिय हुने

Estimated reading: 1 minute 47 views

१) विशेष प्रशासन समूहले देहायको अवस्थामा वाणिज्य बैङ्क वा वित्तीय संस्थाको सम्पत्तिमा प्रभाव पार्ने कारोबार वा तेस्रो पक्षसँग सम्बन्धित हस्तान्तरणलाई निष्क्रिय गर्न सक्नेछः-

(क) फरफारखको प्रक्रिया शुरु हुनु अगावै सम्बन्धित वाणिज्य बैङ्क वा वित्तीय संस्थाका निक्षेपकर्ता वा साहुको हित विपरीत हुने गरी गरेका कारोबार वा सम्झौताहरु,

(ख) फरफारखको प्रक्रिया शुरु भएको मितिले पाँच वर्ष अगाडिसम्म कुनै शेयरधनी, सञ्चालक, पदाधिकारी वा तिनका नातेदारहरुलाई वाणिज्य बैङ्क वा वित्तीय संस्थाले बिना मूल्य गरेका कुनै पनि हस्तान्तरणहरु,

(ग) फरफारखको प्रक्रिया शुरु भएको मितिले तीन वर्ष अगाडिसम्म कुनै तेस्रो पक्षलाई वाणिज्य बैङ्क वा वित्तीय संस्थाले बिना मूल्य गरेका कुनै पनि हस्तान्तरणहरु,

(घ) फरफारखको प्रक्रिया शुरु भएको मितिले तीन वर्ष अगाडिसम्म वाणिज्य बैङ्क वा वित्तीय संस्थाले तुलनात्मक रुपमा कम प्रतिफल प्राप्त गर्ने वा अर्को पक्षलाई बढी प्रतिफल दिने किसिमले सम्पन्न गरेका कारोबारहरु,

(ङ) फरफारखको प्रक्रिया शुरु भएको मितिले पाँच वर्ष अगाडिसम्म वाणिज्य बैङ्क वा वित्तीय संस्थाका निक्षेपकर्ताको हित विपरीत हुने वा अधिकार हनन हुने गरी गरिएको कुनै कार्य,

(च) फरफारखको प्रक्रिया शुरु भएको मितिले छ महिना अगाडिसम्म सम्बन्धित वाणिज्य बैङ्क वा वित्तीय संस्थाले भुक्तानी गर्नुपर्ने कर्जा बापत कुनै व्यक्तिलाई फाइदा पुर्‍याउने उद्देश्यले वा खारेजीको प्रक्रियामा साहुले प्राप्त गर्ने रकम बढाउने उद्देश्यले निजको नाममा भएको सम्पत्ति हस्तान्तरण।

तर प्रति निक्षेप बिमा र सुरक्षणले खामेसम्मको रकम ननाघ्ने गरी गरिएको निक्षेप बापतको भुक्तानीका सम्बन्धमा यो खण्डको व्यवस्था आकर्षित हुने छैन।

२) विशेष प्रशासन समूहले फरफारखको प्रक्रिया शुरु भएको मितिले एक वर्ष अगाडिसम्म वाणिज्य बैङ्क वा वित्तीय संस्थाको सञ्चालक, पदाधिकारी वा निजका नजिकको नातेदारसँग संस्थाको निक्षेपकर्ता तथा साहुको हित विपरीत हुने गरी गरिएका कारोबार बदर गर्न वा तिनीहरुबाट सो बापतको रकम असूल गर्न सक्नेछ।

३) उपदफा (१) र (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि सम्बन्धित वाणिज्य बैङ्क वा वित्तीय संस्थाले आफ्नो सामान्य कारोबारको सिलसिलामा गरेका वा उचित र पर्याप्त मूल्य आदान प्रदान भएका वा त्यस्तो संस्था फरफारखमा जानु अगाडिसम्म भुक्तानी नभएका कारोबारलाई विशेष प्रशासन समूहले बदर गर्ने छैन।

४) उपदफा (१) र (२) बमोजिम बदर गरिएका कारोबार वा हस्तान्तरणबाट सम्पत्ति प्राप्त गर्ने व्यक्तिले त्यस्तो सम्पत्ति अविलम्ब फिर्ता गर्नु पर्नेछ। सम्पत्ति प्राप्त गर्ने व्यक्तिसँग त्यस्तो सम्पत्ति नरहेको अवस्थामा सो सम्पत्तिको मूल्य बराबरको रकम सम्बन्धित वाणिज्य बैङ्क वा वित्तीय संस्थामा जम्मा गर्नु पर्नेछ। कुनै गलत मनसायले त्यस्तो कारोबार गर्ने तथा कारोबार बदर भएपछि सम्पत्ति वा सो बराबरको मूल्य सम्बन्धित वाणिज्य बैङ्क वा वित्तीय संस्थामा अविलम्ब फिर्ता नगर्ने व्यक्तिको हकमा निज उपर सुरक्षित साहु सरह दाबी कायम रहनेछ।

५) विशेष प्रशासन समूहले सम्बन्धित वाणिज्य बैङ्क वा वित्तीय संस्थाबाट अस्वभाविक रूपले कम मूल्यमा कुनै व्यक्तिलाई हस्तान्तरण भई त्यस्तो व्यक्तिबाट समेत तेस्रो पक्षमा हस्तान्तरण भएको कुनै सम्पत्तिको हकमा सोको लागत मूल्य दिई फिर्ता लिन सक्नेछ।

६) विशेष प्रशासन समूहले फरफारखको प्रक्रिया सञ्चालन गर्दा कुनै पनि किसिमको चल अचल सम्पत्ति वा हक हस्तान्तरण गर्न सम्बन्धित निकायलाई लेखी पठाउन सक्नेछ। यसरी विशेष प्रशासन समूहले लेखी पठाएकोमा सम्बन्धित निकायले त्यस्तो चल अचल सम्पत्ति वा हक सम्बन्धित वाणिज्य बैङ्क वा वित्तीय संस्थाको नाममा दाखिल खारेज वा हस्तान्तरण गरिदिनु पर्नेछ।

७) कुनै वाणिज्य बैङ्क वा वित्तीय संस्थामा फरफारखको लागि विशेष प्रशासन समूह गठन भई प्रक्रियामा रहेको अवस्थामा कसैले सो अगावै प्रदान गरेका विद्युत, पानी, टेलिफोन, घरजग्गा, सवारी साधन जस्ता अन्य वस्तु तथा सेवा बापतको रकम प्राप्त नगरेको कारणले मात्र त्यस्तो वस्तु तथा सेवा बन्द गर्न गराउन हुँदैन। त्यसरी प्राप्त वस्तु तथा सेवाको भुक्तानीको हकमा विशेष प्रशासन समूहले फरफारखको प्रक्रियामा जानु अघि कायम रहेको वक्यौता रकम सम्बन्धित सेवा प्रदायकलाई भुक्तानी गर्नु पर्नेछ।

Share this Law

दफा ८८टः फरफारख सम्बन्धी कारबाही प्रारम्भ हुनुभन्दा पहिलेका कारबाही निष्क्रिय हुने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.