दफा ८८गः विशेष प्रशासन समूहको काम, कर्तव्य तथा अधिकार

Estimated reading: 1 minute 323 views

१) विशेष प्रशासन समूहलाई सम्बन्धित वाणिज्य बैङ्क वा वित्तीय संस्थाको साधारण सभा, सञ्चालक समिति, प्रमुख कार्यकारी अधिकृत तथा अन्य पदाधिकारीले प्रयोग गर्न पाउने सम्पूर्ण अधिकार हुनेछ ।

२) उपदफा (१) को अधीनमा रही विशेष प्रशासन समूहलाई सम्बन्धित वाणिज्य बैङ्क वा वित्तीय संस्थाको चल, अचल सम्पत्तिको व्यवस्थापन गर्ने, कुनै सम्पत्ति तथा दायित्व फरफारख गर्ने तथा सो वाणिज्य बैङ्क वा वित्तीय संस्था सञ्चालन गर्ने सम्बन्धमा देहायका अधिकार हुनेछः-

(क) वाणिज्य बैङ्क वा वित्तीय संस्थाको बिक्री हुन बाँकी पुरै वा आंशिक शेयर नयाँ व्यक्तिलाई बिक्री गर्ने,

(ख) कुनै कारोबार सञ्चालन गर्न एवं प्रणालीगत दृष्टिकोणले नियमित रुपमा सञ्चालन गर्न सकिने खास कार्य गर्न अन्य कुनै संस्थालाई जिम्मा दिने वा त्यस्तो कार्य सञ्चालन गर्नको लागि केही समयको लागि छुट्टै पूल संस्था (ब्रीज इन्ष्टिच्यूसन) वा एकाइ स्थापना गर्ने,

(ग) सम्बन्धित वाणिज्य बैङ्क वा वित्तीय संस्था वा सो वाणिज्य बैङ्क वा वित्तीय संस्थाको कुनै सहायक कम्पनीको कुनै वा सबै कारोबार वा सम्पत्ति बिक्री गर्ने,

(घ) सम्बन्धित वाणिज्य बैङ्क वा वित्तीय संस्थाको अन्य कुनै व्यक्ति वा संस्थामा रहेको सम्पत्ति वा हक अधिकार बिक्री गर्ने।

३) विशेष प्रशासन समूहलाई फरफारखको प्रक्रिया वाणिज्य बैङ्क वा वित्तीय संस्थाका सम्बन्धमा देहाय बमोजिमको अन्य अधिकार समेत हुनेछः-

(क) फरफारखको काम कारबाही अगाडि बढाउन विशेष प्रशासन समूहले आफूले आवश्यक ठानेका कागजात सम्बन्धित व्यक्तिबाट पेश गर्न लगाउने,

(ख) सम्बन्धित वाणिज्य बैङ्क वा वित्तीय संस्थाले जारी गरेका शेयर वा अन्य उपकरणको स्वामित्व हस्तान्तरण गर्ने वा गर्न लगाउने, सम्बन्धित वाणिज्य बैङ्क वा वित्तीय संस्थाको निश्चित अधिकार, सम्पत्ति वा दायित्व अर्को व्यक्तिमा हस्तान्तरण गर्ने,

(घ) सम्बन्धित वाणिज्य बैङ्क वा वित्तीय संस्थाले जारी गरेका शेयर वा अन्य उपकरणलाई खारेज गर्ने,

(ङ) सम्बन्धित वाणिज्य बैङ्क वा वित्तीय संस्थाले जारी गरेका वा त्यसको कुनै वा सबै शेयरधनीले धारण गरेको शेयर वा अन्य स्वामित्व सम्बन्धी उपकरण तोकिए बमोजिमको आधारमा अन्य कुनै व्यक्तिको नाममा नामसारी गर्ने,

(च) अग्राधिकार शेयर वा पूँजी सम्बन्धी अन्य उपकरण जारी गर्ने,

(छ) सम्बन्धित वाणिज्य बैङ्क वा वित्तीय संस्थाको सम्पत्ति संरक्षण र हेरचाह गर्न आवश्यक देखिएका सबै कदमहरु चाल्ने।

४) यस दफा बमोजिम वाणिज्य बैङ्क वा वित्तीय संस्थाको फरफारख सम्बन्धी कार्य गर्दा विशेष प्रशासन समूहले देहायको कार्य गर्न आवश्यक पर्ने छैनः-

(क) फरफारखको प्रक्रियामा रहेको वाणिज्य बैङ्क वा वित्तीय संस्थाका शेयरधनी, निक्षेपकर्ता वा साहु लगायतका सार्वजनिक वा निजी क्षेत्रका कुनै व्यक्तिहरुको पूर्व स्वीकृति लिन,

(ख) यस परिच्छेदमा अन्यथा उल्लेख भएकोमा बाहेक कुनै व्यक्ति,फर्म, कम्पनी वा संस्थालाई सूचित गर्न।

५) विशेष प्रशासन समूहले यस ऐन बमोजिमको फरफारख सम्बन्धी कार्य प्रारम्भ गरेको एक वर्षभित्र सम्पन्न गरिसक्नु पर्नेछ ।

तर विशेष प्रशासन समूहले गरिरहेका फरफारखसँग सम्बन्धित कुनै कार्य तोकिएको समयमा सम्पन्न हुन नसकेमा आवश्यकता र औचित्यताको आधारमा बैङ्कले विशेष प्रशासन समूहको कार्यावधि थप गर्न सक्नेछ ।

६) विशेष प्रशासन समूहले सम्बन्धित वाणिज्य बैङ्क वा वित्तीय संस्थाको तर्फबाट देहायका कुनै वा सबै कार्यहरु समेत गर्न सक्नेछः-

(क) निक्षेप संकलन गर्ने तथा कुनै पनि कर्जा प्रदान गर्ने बाहेक वाणिज्य बैङ्क वा वित्तीय संस्थाले गरिरहेका अन्य काम कारबाहीलाई निरन्तरता प्रदान गर्न,

(ख) वाणिज्य बैङ्क वा वित्तीय संस्थाले गरि आएका कुनै काम कारबाही स्थगित वा बन्द गर्न,

(ग) वाणिज्य बैङ्क वा वित्तीय संस्थाको सम्पत्ति धितो राखी वा नराखी कर्जा लिन,

(घ) वाणिज्य बैङ्क वा वित्तीय संस्थाको दायित्वको भुक्तानी रोक्न वा सोका लागि सीमा निर्धारण गर्न,

(ङ) वाणिज्य बैङ्क वा वित्तीय संस्थाको लागि आवश्यक पदाधिकारी, कर्मचारी वा व्यवसायिक सल्लाहकारलाई नियुक्त गर्न वा बर्खास्त गर्न,

(च) विशेष प्रशासन समूहले आवश्यक ठानेको विषयमा छलफल तथा निर्णय गर्ने प्रयोजनको लागि निक्षेपकर्ता तथा साहुहरुको सभा बोलाउन,

(छ) वाणिज्य बैङ्क वा वित्तीय संस्थाको नामबाट कुनै कानूनी प्रतिरक्षा गर्न, वा

(ज) फरफारखसँग सम्बन्धित अन्य आवश्यक कार्य गर्न वा गराउन ।

७) विशेष प्रशासन समूहलाई सम्बन्धित वाणिज्य बैङ्क वा वित्तीय संस्था तथा सोका सहायक कम्पनीको कार्यालय, बहिखाता, अभिलेख, सम्पत्ति तथा सूचना प्रविधि प्रणाली माथि पहुँच राख्ने तथा नियन्त्रण गर्ने पूर्ण अधिकार हुनेछ ।

८) विशेष प्रशासन समूहले आफ्नो नियन्त्रणमा रहेको वाणिज्य बैङ्क वा वित्तीय संस्थाको पूरै वा मुख्य सम्पत्ति अन्य कुनै वाणिज्य बैङ्क वा वित्तीय संस्थामा गाभ्ने वा अर्को कुनै वाणिज्य बैङ्क वा वित्तीय संस्थाको सम्पत्ति प्राप्त गरी एक आपसमा गाभिन उपयुक्त ठानेमा सो सम्बन्धमा प्रचलित कानून बमोजिम प्रस्ताव सहितको निवेदन बैङ्कमा पेश गर्नु पर्नेछ। यसरी प्रस्ताव सहितको निवेदन प्राप्त भएपछि बैङ्कले त्यस्तो निवेदनलाई स्वीकार वा अस्वीकार गर्ने सम्बन्धी निर्णय लिनु पर्नेछ।

९) वाणिज्य बैङ्क वा वित्तीय संस्थाको वित्तीय स्थितिका आधारमा उपलब्ध रकममध्ये फरफारखको प्रक्रियामा लाग्ने अनुमानित खर्च तथा प्रचलित कानून बमोजिमका अन्य खर्चका लागि आवश्यक पर्न सक्ने रकमको विवरण तयार गरी परिपक्व भैसकेको निक्षेप दायित्वको भुक्तानी गर्न उपलब्ध हुन सक्ने रकम मध्येबाट सो दायित्व बापतको रकम एकै पटक वा किस्ताबन्दीमा फिर्ता गर्ने वा भुक्तानी गर्ने व्यवस्था मिलाउनु पर्नेछ। यसरी भुक्तानी गर्दा एकै वर्गका निक्षेपकर्ता तथा साहुहरुलाई समान व्यवहार गर्नु पर्नेछ ।

१०) सम्बन्धित वाणिज्य बैङ्क वा वित्तीय संस्था उपर निक्षेपकर्ता र साहुले पेश गरेका दाबीको वैधता निर्धारण, दाबी भुक्तानी, दायित्व निर्धारण तथा ग्राहकको व्यक्तिगत सम्पत्ति फिर्ता गर्ने सम्बन्धी कार्यविधि तोकिए बमोजिम हुनेछ ।

११) प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि विशेष प्रशासन समूहले वाणिज्य बैङ्क वा वित्तीय संस्थाको सम्पत्ति बिक्री गर्दा तोकिए बमोजिमका आधारमा न्यूनतम मूल्य निर्धारण गरी लिलाम, सिलबन्दी प्रस्ताव, वार्ता जस्ता एक वा एकभन्दा बढी तरिकाबाट पारदर्शी र व्यावसायिक दृष्टिकोण राखी बिक्री गर्न सक्नेछ ।

१२) विशेष प्रशासन समूहले वाणिज्य बैङ्क वा वित्तीय संस्थाको वित्तीय विवरण, सो संस्थाको सम्पत्ति बिक्रीको योजना र सो सम्बन्धमा आफ्नो दृष्टिकोण, सो संस्थाको दायित्वको पूर्वानुमान वा सोको भुक्तानीको तरिका, सम्पत्तिको वास्तविक हस्तान्तरण र दायित्वको अनुमान सहितको विवरण तोकिए बमोजिम समय समयमा बैङ्क समक्ष पेश गर्नु पर्नेछ

१३) विशेष प्रशासन समूहले सम्बन्धित वाणिज्य बैङ्क वा वित्तीय संस्थाको नयाँ शेयर जारी गर्न, सम्पत्ति बिक्री गर्न, धितोपत्रिकरण (सेक्यूरिटाइजेशन) को लागि सम्पत्ति एकीकृत गर्न, दायित्वको पूर्वानुमान गर्ने व्यवस्था गर्न वा त्यस्ता कार्यहरुको व्यवस्थापन गर्न आवश्यक ठानेमा प्रचलित कानून बमोजिम सम्पत्ति व्यवस्थापन सम्बन्धी कार्य गर्न स्थापित कुनै निकाय वा कम्पनीलाई सो कार्य गर्ने जिम्मा दिन सक्नेछ। त्यस्ता निकाय वा कम्पनीलाई सम्बन्धित वाणिज्य बैङ्क वा वित्तीय संस्थाको निष्क्रिय कर्जा, मूल्याङ्कन गर्न कठिन सम्पत्ति तथा दायित्व बिक्री गर्ने अधिकार समेत हस्तान्तरण गर्न सक्नेछ ।

Share this Law

दफा ८८गः विशेष प्रशासन समूहको काम, कर्तव्य तथा अधिकार

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.