परिच्छेद-१ प्रारम्भिक

दफा २ः परिभाषा

Estimated reading: 1 minute 226 views

विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा,-

(क) “अध्यक्ष” भन्नाले दफा ६ बमोजिमको सञ्चालक समितिको अध्यक्ष सम्झनु पर्छ।

(ख) “अन्य बीमा सेवा प्रदायक” भन्नाले बीमा सम्बन्धी कार्य गर्न प्राधिकरणबाट इजाजतप्राप्त बीमक वा बीमा मध्यस्थकर्ता बाहेकको अन्य व्यक्ति वा संस्था सम्झनु पर्छ।

(ग) “आधारभूत शेयरधनी” भन्नाले बीमकको चुक्ता पूँजीको एक प्रतिशत वा सोभन्दा बढी शेयर स्वामित्व भएको व्यक्ति, कम्पनी वा संस्था सम्झनु पर्छ र सो शब्दले एकाघरको परिवारको सदस्यले अलग अलग रुपमा एक प्रतिशत वा सोभन्दा बढी शेयरको स्वामित्व लिएको भए त्यस्तो एकाघरको परिवारलाई समेत जनाउँछ।

(घ) “इजाजतपत्र” भन्नाले यस ऐन बमोजिम बीमा व्यवसाय गर्न दिइएको इजाजतपत्र सम्झनु पर्छ र सो शब्दले बीमा मध्यस्थकर्ता तथा अन्य बीमा सेवा प्रदायकलाई तोकिए बमोजिमको काम गर्न दिइएको इजाजतपत्रलाई समेत जनाउँछ।

(ङ) “एकाघरको परिवार” भन्नाले सम्बन्धित व्यक्तिको पति वा पत्नी, छोरा, बुहारी, छोरी, धर्मपुत्र, धर्मपुत्री, बाबु, आमा, सौतेनी आमा र आफूले पालन पोषण गर्नु पर्ने वा आफूलाई पालन पोषण गर्ने अन्य व्यक्ति सम्झनु पर्छ।

(च) “कार्यकारी प्रमुख” भन्नाले दफा ५७ बमोजिम नियुक्त बीमकको प्रशासकीय, व्यवस्थापकीय वा व्यवसाय सञ्चालनको जिम्मेवारी भएको प्रमुख कार्यकारी अधिकृत सम्झनु पर्छ।

(छ) “खुद सम्पत्ति” भन्नाले बीमकको तत्काल कायम रहेको कुल जायजेथाबाट चुक्ता पूँजी तथा शेयरधनीको हक लाग्ने जुनसुकै नामाकरण गरिएको जगेडा, कोष वा सञ्चित मुनाफा वा बीमकको कुनै ख्याति भए सो बाहेकको अन्य सम्पूर्ण दायित्व रकम र सङ्कलित नोक्सानी भए सो समेत कट्टा गरी बाँकी रहेको रकम सम्झनु पर्छ ।

(ज) “जीवन बीमा” भन्नाले कुनै व्यक्तिको जीवन सम्बन्धमा निजको उमेरको आधारमा एकमुष्ठ वा किस्ताबन्दीमा कुनै खास रकम बुझाएमा निज वा निजले अख्तियारी दिएको व्यक्तिले वा निजको मृत्यु भएको अवस्थामा बीमालेखमा उल्लेख भए बमोजिम निजले अख्तियारी दिएको व्यक्ति वा निजले इच्छाएको व्यक्ति वा निजको हकवालाले कुनै खास रकम पाउने गरी बीमकले बीमितसँग गरेको करार सम्झनु पर्छ।

(झ) “तेस्रो पक्ष सहजकर्ता” भन्नाले बीमक र बीमितबीच बीमा सञ्चालन गर्नका लागि माध्यमको रूपमा काम गर्ने इजाजपत्रप्राप्त बीमा मध्यस्थकर्ता सम्झनु पर्छ।

(ञ) “तोकिएको” वा “तोकिए बमोजिम” भन्नाले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम वा विनियममा तोकिएको वा तोकिए बमोजिम सम्झनु पर्छ।

(ट) “नजिकको नातेदार” भन्नाले एकाघरको परिवार वा सासु, ससुरा, दाजु, भाई, दिदी, बहिनी, भाउजु, बुहारी, साला, साली, भिनाजु, काका, काकी, मामा, माइजु, नाति, नातिनी, नातिनी बुहारी, भान्जा, भान्जी, फुपु, फुपाजु, भतिजा,
भतिजी, भदा, भदै तथा ति नाताहरूको श्रीमान, श्रीमती, छोरा बुहारी वा छोरी ज्वाईं समेतको नातेदार सम्झनु पर्छ।

(ठ) “निर्जीवन बीमा” भन्नाले जीवन बीमा तथा पुनर्बीमा बाहेकको बीमा सम्झनु पर्छ र सो शब्दले कुनै सम्पत्ति वा दायित्वको जोखिमका सम्बन्धमा बीमा शुल्क लिई बीमालेखमा उल्लेख भए बमोजिमको जोखिम स्वीकार गरे बापत कुनै खास रकम हर्जाना वा क्षतिपूर्ति प्रदान गर्न बीमकले बीमितसँग गरेको करार सम्झनु पर्छ।

(ड) “पुर्नबीमा” भन्नाले कुनै एक बीमकलेआफूले धारण गर्ने जोखिमभन्दा बढी अंशको जोखिम पुर्नबीमकले वा अर्को बीमकले व्यहोर्ने गरी त्यस्तो बीमकसाँग गरेको करार सम्झनु पर्छ।

(ढ) “प्रस्तावित बीमा कम्पनी” भन्नाले बीमा व्यवसाय गर्ने उद्देश्यले प्रचलित कानून बमोजिम संस्थापना गर्न प्रस्ताव गरिएको पब्लिक लिमिटेड कम्पनी सम्झनु पर्छ ।

(ण) “प्राधिकरण” भन्नाले दफा ३ बमोजिमको नेपाल बीमा प्राधिकरण सम्झनु पर्छ।

(त) “बीमक” भन्नाले यस ऐन बमोजिम बीमा व्यवसाय गर्न इजाजतपत्रप्राप्त बीमाकम्पनी वा पुनर्बीमा कम्पनी सम्झनु पर्छ।

(थ) “बीमा अभिकर्ता” भन्नाले बीमकको कर्मचारी बाहेक बीमकको तर्फबाट कमिसनको आधारमा काम गर्ने इजाजतपत्रप्राप्त बीमा मध्यस्थकर्ता व्यक्ति वा संस्था सम्झनु पर्छ।

(द) “बीमा करार” भन्नाले निश्चित बीमा शुल्क भुक्तानी गरी बीमक र बीमितबीच सम्झौता बमोजिम जोखिम बहन गर्ने शर्तमा गरिने लिखित सम्झौता सम्झनु पर्छ ।

(ध) “बीमा दलाल” भन्नाले बीमा व्यवसाय सम्बन्धमा बीमा दलालको रूपमा कार्य गर्नको लागि इजाजतपत्रप्रापत बीमा मध्यस्थकर्ता व्यक्ति वा संस्था सम्झनु पर्छ।

(न) “बीमा पुल” भन्नाले कुनै खास प्रकृतिको बीमा वा जोखिमका सम्बन्धमा बीमकहरूले सामूहिक रूपमा जोखिम बहन गर्न, एकै स्थानमा बीमा शुल्क जम्मा गर्न, पुनर्बीमा व्यवस्था गर्न तथा दाबी भुक्तानी व्यवस्था गर्न स्थापित सामूहिक बीमा कोष सम्झनु पर्छ।

(प) “बीमा मध्यस्थकर्ता” भन्नाले प्राधिकरणबाट इजाजतपत्रप्राप्त बीमा अभिकर्ता, बीमा सर्भेयर, बीमा दलाल, तेस्रो पक्ष सहजकर्ता वा तोकिए बमोजिमका अन्य बीमा मध्यस्थकर्ता भन्ने सम्झनु पर्छ।

(फ) “बीमा व्यवसाय” भन्नाले जीवन बीमा व्यवसाय, निर्जीवन बीमा व्यवसाय वा पुनर्बीमा व्यवसाय सम्झनु पर्छ ।

(ब) “बीमाङ्गी” भन्नाले बीमकको सम्पत्ति तथा दायित्वको मूल्याङ्कन गर्नको लागि मान्यताप्राप्त संस्थाबाट बीमाङ्डीको उपाधि हासिल गरेको व्यक्ति सम्झनु पर्छ।

(भ) “बीमालेख” भन्नाले बीमकले कुनै पनि जोखिम स्वीकार गरी बीमितलाई जारी गरेको बीमाको लिखत सम्झनु पर्छ।

(म) “बीमा सर्भेयर” भन्नाले क्षतिग्रस्त सम्पत्ति तथा दायित्वको मूल्याङ्कन गर्ने इजाजतपत्रप्राप्त बीमा मध्यस्थकर्ता व्यक्ति वा संस्था सम्झनु पर्छ।

(य) “बीमाशुल्क” भन्नाले बीमा गर्दा प्रतिफलको रुपमा बीमितबाट एकमुष्ठ वा किस्ताबन्दी रुपमा बीमकले लिने रकम सम्झनु पर्छ।

(र) “बीमित” भन्नाले बीमा गर्ने व्यक्ति सम्झनु पर्छ र सो शब्दले बीमालेखबाट लाभ लिन पाउने अधिकार भएको व्यक्तिलाई समेत जनाउँछ।

(ल) “बोनस” भन्नाले मुनाफामा सरिक हुने जीवन बीमा अन्तर्गत बीमा रकमको आधारमा बीमितलाई प्रदान गरिने मुनाफाको हिस्सा वा रकम सम्झनु पर्छ।

(व) “मन्त्रालय” भन्नाले नेपाल सरकारको अर्थ मन्त्रालय सम्झनु पर्छ।

(श) “लघुबीमा” भन्नाले न्यून आय भएका, आर्थिक, सामाजिक तथा भौगोलिक रूपले पिछडिएका वर्गलाई लक्षित गरी परिच्छेद-८ बमोजिम गरिने लघुबीमा सम्झनु पर्छ।

(ष) “लेखापरीक्षक” भन्नाले लेखापरीक्षण गर्न प्रचलित कानून बमोजिम इजाजतपत्रप्राप्त लेखापरीक्षक सम्झनु पर्छ।

(स) “वित्तीय स्वार्थ” भन्नाले देहायका व्यक्ति, संस्था, फर्म, कम्पनी वा सङ्गठित संस्थाको बीमकमा संलग्नता रहने अवस्था सम्झनु पर्छः-

(१) सञ्चालक वा आधारभूत शेयरधनी वा कार्यकारी प्रमुख वा निजको एकाघरको परिवारको सदस्य,

(२) सञ्चालक मनोनीत गर्ने अधिकार पाएको एकल वा संयुक्त फर्म, कम्पनी वा सङ्गठित संस्था,

(३) उपखण्ड (२) बमोजिमको फर्म, कम्पनी वा सङ्गठित संस्थाको सञ्चालक, कार्यकारी प्रमुख वा निजको एकाघरको परिवारको सदस्य, वा

(४) उपखण्ड (१) वा (२) बमोजिमको व्यक्ति, फर्म, कम्पनी वा सङ्गठित संस्थाले कुनै अर्को एकल वा संयुक्त फर्म, कम्पनी वा सङ्गठित संस्थामा चुक्ता पूँजीको दश प्रतिशत वा सोभन्दा बढी शेयर लिएको रहेछ भने त्यस्तो शेयर लिएको फर्म, कम्पनी वा सङ्गठित संस्था।

(ह) “विदेशी बीमा कम्पनी” भन्नाले विदेशी मुलुकमा बीमा व्यवसाय गर्न इजाजत प्राप्त गरी नेपालभित्र बीमा व्यवसाय गर्न यस ऐन बमोजिम इजाजतपत्रप्राप बीमा कम्पनी सम्झनु पर्छ।

(क्ष) “व्यवस्थापक तह” भन्नाले कुनै सङ्गठित संस्थाको सञ्चालन तथा व्यवस्थापन सम्बन्धी निर्णय प्रक्रियामा संलग्न हुने व्यवस्थापक सम्झनु पर्छ र सो शब्दले अन्तिम जिम्मेवारी वा अधिकार प्रयोग गर्न पाउने गरी कुनै सङ्गठित संस्था वा सोको कुनै शाखा वा इकाईको प्रमुखको पदमा नियुक्त व्यवस्थापक वा प्रबन्धक पदनाम धारण गरेको व्यक्ति वा अधिकृत द्वितीय श्रेणी वा सोभन्दा माथिल्लो तहलाई समेत जनाउँछ।

(त्र) “सञ्चालक समिति” भन्नाले दफा ४७ बमोजिम गठन हुने बीमकको सञ्चालक समिति सम्झनु पर्छ।

(ज्ञ) “सदस्य” भन्नाले प्राधिकरणको सञ्चालक समितिको सदस्य सम्झनु पर्छ र सो शब्दले अध्यक्षलाई समेत जनाउँछ।

(कक) “समिति” भन्नाले दफा ६ बमोजिम गठन भएको प्राधिकरणको सञ्चालक समिति सम्झनु पर्छ।

(कख) “सामूहिक बीमा कोष” भन्नाले कुनै खास प्रकृतिको बीमा वा जोखिमका सम्बन्धमा बीमकहरूले सामूहिक रूपमा जोखिम बहन गर्न, एकै स्थानमा बीमाशुल्क जम्मा गर्न, पुनर्बीमा व्यवस्था गर्न तथा दाबी भुक्तानी व्यवस्था गर्न स्थापना गरेको सामूहिक बीमा कोष (बीमा पुल) सम्झनु पर्छ।

(कग) “स्थायी आवासीय अनुमति” भन्नाले विदेशी मुलुकले कुनै शर्त तोकी वा नतोकी सो मुलुकमा स्थायी रूपले बसोवास गर्न पाउने गरी नेपाली नागरिकलाई उपलब्ध गराएको डाइभर्सिटी इमिग्रेन्ट भिसा (डि.भि.), परमानेन्ट रेजिडेन्ट भिसा (पि.आर.) वा ग्रीन कार्ड सम्झनु पर्छ र सो शब्दले नेपाली नागरिकलाई विदेशमा स्थायी रूपमा बसोबास गर्न दिइएको जुनसुकै नामको स्थायी आवासीय अनुमतिलाई समेत जनाउँछ।

Share this Law

दफा २ः परिभाषा

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.