परिच्छेद-१७ उजुरी सम्बन्धी व्यवस्था

दफा १२८ः दाबी भुक्तानी सम्बन्धी उजुरी

Estimated reading: 1 minute 115 views

१) बीमकले बीमालेखमा उल्लिखित अवधिभित्र बीमितलाई बीमा दाबी भुक्तानी नगरेमा, दायित्व निर्धारण नगरेमा वा बीमितलाई मर्का पर्ने गरी दायित्व निर्धारण गरेमा सम्बन्धित बीमितले प्राधिकरणसमक्ष उजुरी गर्न सक्नेछ।

२) उपदफा (१) बमोजिम उजुरी परेमा प्राधिकरणले आवश्यक छानबिन गरी सम्बन्धित बीमकलाई प्रतिउत्तर पेश गर्न पन्ध्र दिनको समय दिनेछ।

३) उपदफा (२) बमोजिम प्रतिउत्तर प्राप्त भएमा सो बमोजिम प्रमाण बुझी र प्रतिउत्तर दिने म्यादभित्र बीमकले प्रतिउत्तर नदिएमा प्राधिकरणले देहाय बमोजिम गर्न सक्नेछः-

(क) उजुरवाला र बीमकबीच मिलापत्र गराउने,

(ख) दाबी भुक्तानी नगरेको कारणले बीमितलाई कुनै क्षति हुन गएकोमा मनासिब क्षतिपूर्ति भराउने आदेश दिने,

(ग) बीमकले निर्धारण गरेको दायित्व मनासिब भएको नदेखिएमा पुनः दायित्व निर्धारण गर्न सम्बन्धित बीमकलाई आदेश दिने,

(घ) बीमकले दाबी भुक्तानी गर्नुपर्ने देखिएमा भुक्तानी गर्नको लागि सम्बन्धित बीमकलाई आदेश दिने,

(ङ) अन्य उपयुक्त आदेश दिने।

४) बीमालेख बमोजिम दाबी भुक्तानी नदिएको कारणले कुनै बीमक विरुद्ध उजुरी परी दाबी भुक्तानी दिनु पर्ने ठहरेमा बीमा रकमको अतिरिक्त उजुरी परेको मितिदेखि दश प्रतिशतका दरले हुने ब्याज तथा कानूनी उपचार प्राप्त गर्न लागेको वास्तविक खर्च बराबरको रकम समेत उजुरवालालाई सम्बन्धित बीमकले भराई दिनु पर्नेछ।

५) प्राधिकरणले उपदफा (३) बमोजिम दिएको आदेशमा चित्त नबुझ्ने बीमक, बीमित वा अन्य कुनै व्यक्तिले पैंतीस दिनभित्र सम्बन्धित उच्च अदालतमा पुनरावेदन गर्न सक्नेछ।

६) यस दफा बमोजिम उजुरी उपरको कारबाही सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ।

Share this Law

दफा १२८ः दाबी भुक्तानी सम्बन्धी उजुरी

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.