परिच्छेद-१४ बीमा व्यवसाय हस्तान्तरण तथा बीमक गाभ्ने वा गाभिने व्यवस्था

दफा ११६ः बीमकले अर्को बीमक प्राप्ति गर्न सक्ने

Estimated reading: 1 minute 102 views

१) कुनै बीमकले उस्तै किसिमको बीमा व्यवसाय गर्ने अर्को बीमकलाई प्राप्ति (एक्विजिसन) गर्न सक्नेछ ।

२) उपदफा (१) बमोजिम एक बीमकले अर्को बीमकलाई प्राप्ति गर्न चाहेमा दुबै बीमकले आ-आफ्नो साधारण सभाबाट सो सम्बन्धी विशेष प्रस्ताव पारित गरी प्राधिकरण समक्ष सैद्धान्तिक सहमतिका लागि संयुक्त निवेदन दिनु पर्नेछ।

३) उपदफा (२) बमोजिम प्राप्त निवेदन जाँचबुझ गर्दा सैद्धान्तिक सहमति दिन उपयुक्त देखिएमा प्राधिकरणले देहायको आधारमा सैद्धान्तिक सहमति प्रदान गर्न सक्नेछः-

(क) अल्पकालीन वा दीर्घकालीन दायित्व पूरा गर्नको लागि लक्षित बीमक असमर्थ भई अर्को बीमकले प्राप्ति गर्नु मनासिब देखिएमा,

(ख) दफा ३६ बमोजिमको चुक्ता पूँजी कायम गर्न वा यस ऐन बमोजिम कायम गर्नु पर्ने कोष कायम गर्न लक्षित बीमक असमर्थ भई अर्को बीमकले प्राप्ति गर्नु मनासिब भएमा,

(ग) लक्षित बीमकले निर्धारित अवधिभित्र सर्वसाधारणलाई शेयर जारी गर्न नसकेमा ।

४) उपदफा (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि एक बीमकले अर्को बीमकलाई प्राप्ति गर्दा बीमितलाई अहित वा हानि नोक्सानी हुने, बीमा व्यवसायमा अस्वस्थ प्रतिस्पर्धा बढ्ने वा कुनै बीमकको एकाधिकार कायम हुने वा नियन्त्रित अभ्यास कायम हुन सक्ने सम्भावना देखिएमा प्राधिकरणले त्यस्तो बीमकलाई प्राप्ति गर्न स्वीकृति दिने छैन।

५) उपदफा (३) बमोजिम प्राधिकरणबाट सैद्धान्तिक सहमति प्राप्त भएमा प्राप्ति गर्ने बीमकले बीमकको लेखापरीक्षक हुन योग्यता पुगेका व्यक्तिहरू मध्येबाट देहायका विषयमा अध्ययन गरी प्रतिवेदन पेश गर्न मूल्याड्डनकर्ता नियुक्ति गर्नु पर्नेछ:-

(क) प्राप्ति गर्ने र लक्षित बीमकको सम्पत्ति, दायित्व र व्यवसायको मूल्याङ्कन सहित समग्र आर्थिक स्थिति,

(ख) प्राप्ति गर्ने बीमकले लक्षित बीमक प्राप्ति गर्दा बीमा प्रणालीमा हुन सक्ने प्रभावको सामान्य प्रक्षेपण र प्राप्ति गर्ने बीमकको व्यावसायिक योजना,

(ग) प्राप्ति पश्चातको लक्षित बीमकका कर्मचारीको व्यवस्थापन,

(घ) प्राप्ति पश्चातको लक्षित बीमकको अल्पकालीन र दीर्घकालीन दायित्वको व्यवस्थापन,

(ङ) तोकिए बमोजिमको अन्य विवरण ।

६) उपदफा (५) बमोजिम नियुक्त मूल्याङ्कनकर्ताले आफूले तयार गरेको अध्ययन प्रतिवेदनको एक प्रति प्राधिकरण र प्राप्ति गर्ने बीमक समक्ष पेश गर्नु पर्नेछ।

७) उपदफा (६) बमोजिमको प्रतिवेदनबाट लक्षित बीमकलाई प्राप्ति गर्न उपयुक्त हुने देखिएमा प्राधिकरणले त्यस्तो बीमक प्राप्ति (एक्विजिसन) गर्नको लागि स्वीकृति प्रदान गर्नेछ।

८) उपदफा (७) बमोजिम स्वीकृति प्राप्त भएपछि लक्षित बीमकको सम्पत्ति र दायित्व व्यवस्थापन सम्बन्धमा दुबै बीमकले आपसी सम्झौता गरी प्राप्ति गर्ने बीमकले लक्षित बीमकको तोकिए बमोजिम सङ्ख्याका संस्थापक शेयर वा अन्य शेयर खरिद गर्नु पर्नेछ।

९) बीमकको प्राप्ति (एक्विजिशन) सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ।

Share this Law

दफा ११६ः बीमकले अर्को बीमक प्राप्ति गर्न सक्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.