दफा १०४ः विशेष व्यवस्थापन समूहको काम, कर्तव्य र अधिकार

Estimated reading: 1 minute 287 views

१) दफा १०३ बमोजिम गठित विशेष व्यवस्थापन समूहले बीमकको साधारण सभा, सञ्चालक समिति, कार्यकारी प्रमुख वा अन्य पदाधिकारीले प्रयोग गर्न पाउने सम्पूर्ण अधिकार प्रयोग गर्न सक्नेछ।

२) विशेष व्यवस्थापन समूहलाई उपदफा (१) को अधीनमा रही सम्बन्धित बीमकको चल, अचल सम्पत्तिको व्यवस्थापन गर्ने, कुनै सम्पत्ति तथा दायित्वको फरफारक गर्ने र बीमकको सम्पत्तिको संरक्षण तथा हेरचाह गर्न आवश्यक सबै उपाय अवलम्बन गरी सो बीमकलाई सञ्चालन गर्ने सम्बन्धमा देहायको अधिकार हुनेछः-

(क)बीमकले जारी गरेको कुनै वा सबै शेयरधनी शेयर वा अन्य उपकरण तोकिए बमोजिम अन्य कुनै व्यक्ति वा संस्थाको नाममा नामसारी गर्न वा हस्तान्तरण गर्न,

(ख)बीमक वा बीमकको सहायक कम्पनीको केही वा सबै सम्पत्ति प्राप्त गर्न, बिक्री गर्न, कार्यालय, बहीखाता, अभिलेख, सम्पत्ति तथा सूचना प्रणालीमाथि पहुँच राख्न वा नियन्त्रण गर्न,

(ग) बीमकको वा बीमकको अन्य कुनै व्यक्ति वा संस्थामा रहेको सम्पत्ति वा हक अधिकार प्राप्त गर्न वा बिक्री गर्न,

(घ) बीमकको निश्चित अधिकार तथा दायित्व अर्को व्यक्तिमा हस्तान्तरण गर्न,

(ङ) बीमकको बिक्री हुन बाँकी शेयर बिक्री गर्न,

(च) बीमकले जारी गरेका केही वा सबै शेयर तथा अन्य वित्तीय उपकरणलाई खारेज गर्न,

(छ) शेयर वा पूँजी सम्बन्धी अन्य उपकरण जारी गर्न,

(ज) बीमकले गर्दै आएको बीमा व्यवसायको केही वा सबै प्रकार (पोर्टफोलियो) अर्को बीमकलाई हस्तान्तरण गर्न,

(झ) विशेष व्यवस्थापन समूहको काम कारबाही अघि बढाउन आवश्यक ठानेका कागजात सम्बन्धित व्यक्ति वा संस्थाबाट पेश गर्न लगाउन,

(ञ) बीमितको हकहित संरक्षण गर्नका लागि आवश्यक कार्य गर्न, गराउन।

३) यस दफा बमोजिम व्यवस्थापन गर्दा विशेष व्यवस्थापन समूहले बीमकको संस्थापक, शेयरधनी, बीमित, बीमा मध्यस्थकर्ता लगायतका सार्वजनिक वा निजी क्षेत्रका कुनै पनि व्यक्ति वा संस्थाको स्वीकृति लिन वा यस परिच्छेदमा अन्यथा उल्लेख भएकोमा बाहेक कुनै व्यक्ति, फर्म, कम्पनी वा संस्थालाई सूचित गर्न आवश्यक पर्ने छैन।

४) विशेष व्यवस्थापन समूहले बीमकको तर्फबाट देहायका कार्यहरू गर्न वा गराउन सक्नेछः-

(क) बीमकले गरिरहेको कार्यलाई निरन्तरता दिन र निरन्तरता दिन आवश्यक सबै कार्य गर्न,

(ख) बीमकले गरी आएको केही वा सबै कार्यलाई स्थगित वा बन्द गर्न,

(ग) बीमा जोखिमाङ्कन वा बीमा दायित्वको भुक्तानी रोक्का राख वा सोको सीमा निर्धारण गर्न,

(घ) बीमकको लागि आवश्यक कर्मचारी, पदाधिकारी वा परामर्शदाता नियुक्त गर्न,

(ङ) आवश्यक ठानेको विषयमा छलफल तथा निर्णय गर्नका लागि शेयरधनी, बीमित, बीमा मध्यस्थकर्ता, कर्मचारी वा पदाधिकारीको सभा बोलाउन,

(च) बीमकको नामबाट कुनै कानूनी प्रतिरक्षा गर्न वा मुद्दा मामिला गर्न,

(छ) बीमकको कार्यसँग सम्बन्धित अन्य आवश्यक कार्य गर्न वा गराउन ।

५) विशेष व्यवस्थापन समूहले आफ्नो नियन्त्रणमा रहेको बीमकलाई गाभ्न वा गाभीन उपयुक्त ठानेमा सोको कारण सहित प्राधिकरण समक्ष प्रस्ताव गर्नु पर्नेछ।

६) प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि विशेष व्यवस्थापन समूहले बीमकको सम्पत्ति बिक्री गर्दा तोकिए बमोजिमका आधारभूत न्यूनतम मूल्य निर्धारण गरी पारदर्शी एवं व्यावसायीक रूपमा लिलाम, सिलबन्दी प्रस्ताव, वार्ता जस्ता एक वा एकभन्दा बढी तरिका अपनाउन सक्नेछ।

७) विशेष व्यवस्थापन समूहले वित्तीय विवरण, सो संस्थाको सम्पत्ति बिक्रीको योजना र सो सम्बन्धमा आफ्नो दृष्टिकोण, सो संस्थाको दायित्वको पूर्वानुमान वा सोको भुक्तानीको तरिका, सम्पत्तिको वास्तविक हस्तान्तरण र दायित्वको अनुमान सहितको विवरण तोकिए बमोजिम समय समयमा प्राधिकरण समक्ष पेश गर्नु पर्नेछ।

८) विशेष व्यवस्थापन समूहले सम्पत्ति बिक्री, सम्पत्ति एकत्रीत, दायित्वको पूर्वानुमान जस्ता कार्य गर्न आवश्यक ठानेमा त्यस्तो कार्य गर्न सक्ने कुनै निकाय वा कम्पनीलाई जिम्मा दिन सक्नेछ।

९) विशेष व्यवस्थापन समूहले यस दफा बमोजिम आफूलाई तोकिएको कार्य सम्पन्न गर्दा लाग्ने सम्पूर्ण खर्च बीमकले व्यहोर्ने र त्यस्तो खर्चको सीमा प्राधिकरणले निर्धारण गरे बमोजिम हुनेछ।

Share this Law

दफा १०४ः विशेष व्यवस्थापन समूहको काम, कर्तव्य र अधिकार

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.