परिच्छेद-१२ नियमन, निरीक्षण तथा अनुगमन

दफा ९८ः नियमन, निरीक्षण तथा अनुगमन गर्ने

Estimated reading: 0 minutes 173 views

१) प्राधिकरणले बीमक, बीमा मध्यस्थकर्ता, अन्य बीमा सेवा प्रदायक वा त्यस्तो बीमक, बीमा मध्यस्थकर्ता वा अन्य बीमा सेवा प्रदायकसँग सम्बन्धित व्यक्ति वा संस्थाको काम कारबाहीको सम्बन्धमा जुनसुकै बखत नियमन, निरीक्षण वा अनुगमन गर्न सक्नेछ।

२) प्राधिकरणले शङ्का लागेमा वा उजुरी परेमा बीमक वा बीमा मध्यस्थकर्ता वा अन्य बीमा सेवा प्रदायकको काम कारबाही सम्बन्धमा कुनै विशेषज्ञ वा प्राधिकरणको कर्मचारी खटाई बीमक वा बीमा मध्यस्थकर्ता वा अन्य बीमा सेवा प्रदायकको कार्यालय वा कारोबार स्थलमा नै गई स्थलगत (अनसाइट) निरीक्षण गर्न वा बीमकको सम्बन्धित कागजात, लेखा तथा वित्तीय विवरण, बीमालेख, सम्बन्धित प्रतिवेदन तथा विवरण प्राधिकरणमा झिकाई निरीक्षण गर्न वा अन्य तरिकाले जुनसुकै बखत नियमन, निरीक्षण वा अनुगमन गर्न सक्नेछ।

३) उपदफा (१) को प्रयोजनको लागि प्राधिकरणले बीमा व्यवसायको नियमन, निरीक्षण वा अनुगमन सम्बन्धी अन्तर्राष्ट्रिय स्तरमा स्थापित सिद्धान्त, मान्यता,मापदण्ड तथा असल अभ्यास (बेष्ट प्राक्टिस) तथा प्रचलनलाई आधारको रूपमा लिनेछ।

४) उपदफा (२) बमोजिम खटिएको विशेषज्ञ वा कर्मचारीले सम्बन्धित पक्षसँग लगत, तथ्याङ्क, विवरण, सूचना, प्रतिवेदन, विद्युतीय माध्यमबाट सिर्जना गरिएका विवरण वा आवश्यक अन्य कुनै कागजात माग गर्न, हेर्न, जाँच्न, निरीक्षण; अनुसन्धान गर्न, सोको सक्कल वा प्रतिलिपि माग गर्न वा सो सम्बन्धमा सोधपुछ गर्न सक्नेछ।

५) उपदफा (४) बमोजिम माग गरेको लगत, तथ्याङ्क विवरण, सूचना वा आवश्यक अन्य कुनै कागजात तोकिएको समयमा उपलब्ध गराउने तथा कुनै विवरण हेर्न, जाँच्न, निरीक्षण गर्न र सो सम्बन्धमा सोधेका प्रश्नहरुको सत्य तथ्य जवाफ दिनु सम्बन्धित बीमक, बीमा मध्यस्थकर्ता, अन्य बीमा सेवा प्रदायक, बीमित तथा बीमा व्यवसायसँग सम्बन्धित व्यक्तिको कर्तव्य हुनेछ।

६) यस दफा बमोजिम नियमन, निरीक्षण वा अनुगमन गर्न खटिएको कर्मचारी वा विशेषज्ञले बीमकले सम्पादन गरेको कार्य, त्यसका काम कारबाही वा लिखतका सम्बन्धमा कुनै त्रुटि वा कमजोरी देखिएमा, कुनै काम कारबाही वा लिखत शंकास्पद भएको देखिएमा वा यो ऐन, यस ऐन अन्तर्गत बनेको नियमावली वा प्राधिकरणले जारी गरेको निर्देशन बमोजिम नभएको पाइएमा सो सम्बन्धमा सम्बन्धित अधिकारीको बयान गराउन सक्नेछ।

७) यस दफा बमोजिम नियमन, निरीक्षण वा अनुगमन गर्ने क्रममा तत्काल कुनै निर्देशन वा आदेश दिनुपर्ने देखिएमा सो कार्यमा खटिएको विशेषज्ञ वा कर्मचारीले प्राधिकरणलाई जानकारी दिई आवश्यक निर्देशन दिन सक्नेछ र त्यस्तो निर्देशन पालना गर्नु सम्बन्धित बीमक वा सरोकारवाला व्यक्तिको कर्तव्य हुनेछ।

८) यस दफा बमोजिम नियमन, निरीक्षण वा अनुगमन गर्न खटिएको विशेषज्ञ वा कर्मचारीले निरीक्षण वा अनुगमनको प्रतिवेदन प्राधिकरणले निर्धारण गरेको अवधिभित्र प्राधिकरण समक्ष पेश गर्नु पर्नेछ।

९) प्राधिकरणले यस ऐन बमोजिम भएका वा हुने नियमन, निरीक्षण वा अनुगमनको कार्यमा नेपाल सरकार, नेपाल सरकारका कुनै निकाय, प्रदेश वा स्थानीय तहको कुनै निकाय, अन्य नियमनकारी निकाय वा कुनै सङ्गठित संस्थासँग सहयोग माग गरेको खण्डमा सहयोग गर्नु त्यस्तो निकाय वा सङ्गठित संस्थाको कर्तव्य हुनेछ।

१०) बीमा व्यवसायको नियमन, निरीक्षण वा अनुगमन सम्बन्धी अन्य व्यवस्था प्राधिकरणले निर्धारण गरे बमोजिम हुनेछ।

Share this Law

दफा ९८ः नियमन, निरीक्षण तथा अनुगमन गर्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.