१८. प्रबन्धपत्रः

Estimated reading: 1 minute 549 views

(१) कम्पनीको प्रबन्धपत्रमा देहायका कुराहरू उल्लेख भएको हुनु पर्नेछः-

 क) कम्पनीको नाम,

(ख) कम्पनीको रजिष्टर्ड कार्यालय रहने ठेगाना,

(ग) कम्पनीको उद्देश्य,

(घ) कम्पनीको उद्देश्य प्राप्त गर्न गरिने कामहरू,

(ङ) कम्पनीको अधिकृत पूँजीको अङ्क, कम्पनीले तत्काल जारी गर्ने शेयर पूँजीको अङ्क र कम्पनीको संस्थापकले चुक्ता गर्न कबुल गरेको अङ्क,

(च) कम्पनीको शेयरको किसिम, त्यस्ता शेयरमा निहीत हक, अधिकार, प्रत्येक शेयरको मूल्य र विभिन्न प्रकारको शेयर संख्या,

(छ) शेयर खरिद वा हस्तान्तरण गर्न कुनै बन्देज रहेको भए सो कुरा,

(ज) संस्थापकहरूले तत्काल लिन कबुल गरेको शेयर संख्या,

(झ) शेयरको रकम भुक्तानीका शर्तहरू,

(ञ) शेयरधनीहरूको दायित्व सीमित रहने कुरा

(ट) प्राइभेट कम्पनीको हकमा शेयरधनीहरुको अधिकतम संख्या,

(ठ) अन्य आवश्यक कुराहरू।

(२) उपदफा (१) मा लेखिएका कुराहरूको अतिरिक्त देहायका कुनै कुरा गरिने वा हुने भएमा त्यस्ता कुराहरूसमेत प्रबन्धपत्रमा उल्लेख भएको हुनु पर्नेछः-

(क) संस्थापक वा अन्य कुनै व्यक्तिले नगदबाहेक अरु कुनै किसिमबाट शेयर खरिद गर्ने वा शेयरमा हक पाउने भए सो कुरा,

(ख) कम्पनीले कारोबार शुरु गर्दाको बखत संस्थापक वा अन्य कुनै व्यक्तिबाट कुनै किसिमसँग कुनै सम्पत्ति प्राप्त गर्ने भए सो कुरा,

(ग) कम्पनीको संस्थापना गर्दा लागेको खर्च कम्पनीले नै व्यहोर्नु पर्ने भए सो कुरा,

(घ) संस्थापक वा अन्य कुनै व्यक्तिले कम्पनीबाट कुनै विशेष सहुलियत वा अधिकार पाउने भए सो कुरा ।

(३) उपदफा (२) को खण्ड (क) मा उल्लेख भएबमोजिम संस्थापक वा अन्य कुनै व्यक्तिले नगदबाहेक अरु कुनै किसिमबाट शेयर खरिद गर्दा वा शेयरमा हक प्राप्त गर्दा नगदबाहेक अन्य कुराको र खण्ड (ख) मा उल्लेख भए अनुसार कम्पनीको काम शुरु गर्दाको अवस्थामा संस्थापक वा अन्य कुनै व्यक्तिबाट कम्पनीले कुनै सम्पत्ति प्राप्त गर्दा पब्लिक कम्पनीको हकमा प्रचलित कानूनबमोजिम मूल्याङ्कन गर्न प्रमाणपत्रप्राप्त इन्जिनियर वा लेखा व्यवसायीबाट त्यस्तो सम्पत्तिको मूल्याङ्कन गराउनु पर्नेछ ।

(३क) कम्पनीले कम्पनी संस्थापना भएपछि पनि संस्थापक वा अन्य कुनै व्यक्तिलाई नगद बाहेक अरू कुनै किसिमबाट शेयर खरिद, जारी वा शेयरमा हक प्राप्त गर्ने अधिकार प्रदान गर्न सक्नेछ।

(३ख) कम्पनीले संस्थापक वा अन्य कुनै व्यक्तिलाई नगद बाहेक अरू कुनै किसिमबाट शेयर निष्कासन वा बिक्री गर्दा वा हक प्रदान गर्दा कम्पनीको साधारण सभाबाट विशेष प्रस्ताव पारित गर्नु पर्नेछ। त्यसरी विशेष प्रस्ताव पारित गर्दा शेयर डिस्काउन्टमा निष्कासन वा बिक्री गर्ने निर्णय गर्न सक्नेछ ।

(३ग) यस दफा बमोजिम कम्पनीले संस्थापक वा अन्य कुनै व्यक्तिलाई नगद बाहेक अरू कुनै किसिमबाट शेयर निष्कासन वा बिक्री गर्दा वा हक प्रदान गर्दा संस्थापक वा व्यक्तिबाट कम्पनीलाई प्राप्त हुने बौद्धिक सम्पत्ति, मूल्य वृद्धि, सेवा, व्यापारिक ख्याति (गुडविल), प्राविधिक जानकारी (नो हाउ शेयरिङ्ग) वा प्राविधिक ज्ञानको हस्तान्तरणलाई समेत आधार लिन सक्नेछ । त्यसरी जारी गरिने शेयरको मूल्य प्रचलित कानून बमोजिम मूल्याङ्कन गर्ने प्रमाणपत्र प्राप्त इन्जिनियर वा लेखा व्यवसायीले
कारण खुल्ने गरी निर्धारण गरेको मूल्यमा आधारित हुनु पर्नेछ ।

(३घ) कम्पनी र कम्पनीको कर्मचारीबीच लिखित सम्झौता भएकोमा त्यस्तो कर्मचारीलाई प्रदान गरिने पारिश्रमिक, भत्ता र सुविधाको सट्टामा शेयर प्रदान गर्न सकिनेछ ।

(३ङ) उपदफा (२) को खण्ड (क) बमोजिम संस्थापक वा अन्य कुनै व्यक्तिलाई नगद बाहेक अरू कुनै किसिमबाट शेयर प्रदान गर्दा कम्पनीको चुक्ता पुँजीको बिस प्रतिशतभन्दा बढी हुने छैन।

तर स्टार्टअप रूपमा दर्ता भएको कम्पनीको हुकमा कम्पनीको चुक्ता पुँजीको चालिस प्रतिशतभन्दा बढी हुने छैन।

(४) उपदफा (३) बमोजिम कुनै सम्पत्तिको मूल्याङ्कन गर्ने आधार तोकिएबमोजिम हुनेछ र त्यसरी नतोकिएकोमा त्यस्तो सम्पत्ति मूल्याङ्कन गर्ने व्यक्तिले सम्पत्तिको विवरण मूल्याङ्कन गर्दाको आधार उल्लेख गर्नु पर्नेछ ।

(५) प्रबन्धपत्र यस ऐनसँग बाझिएमा बाझिएको हदसम्म स्वतः बदर हुनेछ ।

(६) प्रबन्धपत्रको ढाँचा तोकिएबमोजिम हुनेछ ।

Share this Law

१८. प्रबन्धपत्रः

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.