१५३. एकल शेयरधनी भएको कम्पनीको शेयर हस्तान्तरण तथा दाखिल खारेजः
(१) एकल शेयरधनी भएको कम्पनीको शेयरधनीको मृत्यु भएमा निजको हकदार वा निजको शेयरमा हक प्राप्त गर्ने व्यक्तिले शेयरधनीको हक प्राप्त गर्नेछ र निजले शेयर हस्तान्तरण तथा दाखिल खारेज गर्नेलगायत यस ऐन अनुसार एकल शेयरधनीले गर्ने सम्पूर्ण कार्य गर्नेछ । यसरी हक प्राप्त गर्ने व्यक्तिले शेयर हस्तान्तरण र दाखिल खारेजको निर्णय गर्दा लिखित रुपमा गर्नु पर्नेछ ।
तर त्यस्तो शेयरधनीको कुनै हकवाला फेला नपरे कार्यालयले लिक्वीडेटर नियुक्त गरी प्रचलित कानूनबमोजिम कम्पनी खारेज गर्नेछ ।
(२) उपदफा (१) बमोजिम शेयरमा हक प्राप्त गर्ने व्यक्तिले त्यस्तो हक प्राप्त भएको एक महिनाभित्र सो कुराको प्रमाणसहित कार्यालयलाई जानकारी गराउनु पर्नेछ ।
(३) उपदफा (२) बमोजिमको जानकारी प्राप्त भएपछि कार्यालयले तोकिएको दस्तुर लिई सो जानकारी अभिलेख गरिएको व्यहोरा शेयरमा हक प्राप्त गर्ने व्यक्तिलाई दिनु पर्नेछ ।
(४) उपदफा (१) बमोजिम शेयरमा हक प्राप्त गर्ने व्यक्ति एकभन्दा बढी भएमा अन्य हकदारले एकजनालाई मात्र हक हस्तान्तरण गरेको अवस्थामा बाहेक निजहरु तत्कालका लागि कम्पनीको सञ्चालक भएको मानिनेछ र सोही आधारमा कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्नु पर्नेछ ।
तर हक बेहकको प्रश्न उठेमा सो विषयमा अधिकार प्राप्त अदालतको फैसलाबमोजिम हुनेछ ।