दफा १४६क. : आतङ्ककारी कार्य सम्बन्धी कसूर गरेको मानिने

Estimated reading: 1 minute 1 views

१) कसैले पनि आतङ्ककारी कार्य सम्बन्धी कसूर गर्न वा गराउन हुँदैन।

२) उपदफा (१) को प्रयोजनको लागि यो दफा प्रारम्भ भएपछि  कसैले नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तह वा विदेशी राज्य वा अन्तर्राष्ट्रिय सङ्गठनलाई प्रत्यक्ष वा अप्रत्यक्ष तवरबाट कुनै कार्य गर्न वा नगर्न बाध्य तुल्याउने वा कुनै कार्य गर्न रोक्ने वा सर्वसाधारणलाई त्रसित पार्ने वा नेपाल वा विदेशी राज्यको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वतन्त्रतामा हानि पुर्‍याउने उद्देश्यले देहायको कुनै कार्य गरे वा गराएमा आतङ्ककारी कार्य सम्बन्धी कसूर गरेको मानिनेछ:-

(क) कुनै गैरसैनिक व्यक्ति (सिभिलियन) वा सशस्त्र द्वन्द्वका बखत शत्रुतापूर्ण कार्यमा संलग्न नभएको व्यक्तिको ज्यान लिने वा अङ्गभङ्ग गर्ने,

(ख) कुनै व्यक्तिलाई अपहरण गर्ने वा बन्धक बनाउने,

(ग) कुनै हातहतियार, विष्फोटक पदार्थ वा अन्य कुनै उपकरण प्रयोग गरी खानेपानी, सार्वजनिक यातायात, सूचना तथा सञ्चार, विद्युत वा विद्युतीय, वित्तीय वा अन्य यस्तै सार्वजनिक सेवा वा उपभोग प्रणाली कब्जा गर्ने, गम्भीर रूपमा अवरोध गर्ने, क्षति पुर्‍याउने वा नष्ट गर्ने,

(घ) अन्तर्राष्ट्रिय रूपमा संरक्षित व्यक्तिको हत्या, अपहरण वा त्यस्ता व्यक्तिको स्वतन्त्रता उपर हमला गर्ने वा त्यस्तो व्यक्तिको निजी आवास वा त्यसको परिसर वा यातायातको साधन उपर हिंसात्मक आक्रमण गर्ने,

स्पष्टीकरण: यस खण्डको प्रयोजनको लागि “अन्तर्राष्ट्रिय रूपमा संरक्षित व्यक्ति” भन्नाले आफ्नो राष्ट्र बाहिर रहँदा अन्तर्राष्ट्रिय कानून बमोजिम विशेष संरक्षण प्राप्त गर्ने राष्ट्राध्यक्ष, सरकार प्रमुख, परराष्ट्र मन्त्री, दूतावास र अन्य कूटनीतिक नियोग वा अन्तर्राष्ट्रिय सङ्गठनमा कार्यरत विभिन्न राष्ट्रको स्थायी तथा अस्थायी प्रतिनिधि र तिनको परिवारको सदस्य सम्झनु पर्छ।

(ड) आमविनासका हातहतियारको निर्माण, विस्तार वा बिक्री वितरण गर्ने, त्यस्ता हातहतियारको प्राप्ति, कब्जा, स्थानान्तरण वा चोरी, डकैती गर्ने,

(च) गैरकानूनी रूपले बल प्रयोग गरी वा सो प्रयोग गर्ने धम्की दिई वा अरू कुनै प्रकारको डर, त्रास देखाई वायुयान वा जलयानलाई कब्जामा लिने वा त्यस उपर नियन्त्रण गर्ने वा भूमिस्थ वायुयान वा जलयान नष्ट गर्ने वा त्यसको कुनै भागमा सुरक्षा खतरा पैदा गर्ने,

(छ) खण्ड (क) देखि (च) सम्मको कार्य गर्न वा गराउन सङ्गठन निर्माण गर्ने वा योजना बनाउने, सङ्गठनमा आबद्ध हुने, सङ्गठन विस्तार गर्ने वा सदस्यता बढाउने वा प्रशिक्षण दिने,

(ज) आतङ्ककारी सङ्गठन वा समूहको सदस्यता लिने वा सो कार्य गर्न सहयोग गर्ने,

(झ) विदेशी आतङ्ककारी लडाकुको रूपमा कार्य गर्ने।

३) देहाय बमोजिमको कसूर गर्ने व्यक्तिलाई देहाय  बमोजिमको सजाय हुनेछ: –

(क) उपदफा (२) को खण्ड (क) वा (ख) बमोजिमको कसूर गरी कसैको जीउ ज्यान गएकोमा जन्म कैद,

(ख) उपदफा (२) को खण्ड (क) वा (ख) बमोजिमको कसूर गरी कसैको जीउ ज्यान नगएको तर चोटपटक लागेको वा अङ्गभङ्ग भएकोमा पन्ध्र वर्षदखि बीस वर्षसम्म कैद,

(ग) उपदफा (२) को खण्ड (ख) बमोजिमको कसूर गरी कसैलाई चोटपटक नलागेको र अङ्गभङ्ग नभएकोमा दश वर्षदखि पन्ध्र वर्षसम्म कैद,

(घ) उपदफा (२) को खण्ड (ग), (घ), (ङ) वा (च) बमोजिमको कसूर गरेमा दश वर्षदिखि पन्ध्र वर्षसम्म कैद,

(ङ) उपदफा (२) को खण्ड (छ) बमोजिमको कसूर गरेमा पन्ध्र वर्षसम्म कैद,

(च) उपदफा (२) को खण्ड (ज) वा (झ) बमोजिमको कसूर गरेमा दश वर्षसम्म कैद।

Share this Law

दफा १४६क. : आतङ्ककारी कार्य सम्बन्धी कसूर गरेको मानिने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.