दफा ६६ः लेखापरीक्षकको काम, कर्तव्य र अधिकार

Estimated reading: 1 minute 388 views

१) लेखापरीक्षकको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ ;

(क) लेखा तथा वित्तीय विवरणको लेखापरीक्षण गर्ने,

(ख) आफूले लेखापरीक्षण गरेको लेखा, वासलात तथा नाफा-नोक्सान हिसाब समावेश गरी बैङ्क वा वित्तीय संस्थाको सञ्चालक समितिमा लेखापरीक्षण प्रतिवेदन तयार गरी पेश गर्ने,

(ग) बैङ्क वा वित्तीय संस्थाको काम कारबाहीमा अनियमितता भएको वा सही ढंगले काम हुन नसकेको र त्यस्तो विषयले बैङ्क वा वित्तीय संस्थालाई हानि नोक्सानी पुग्न जाने देखिएमा सञ्चालक समितिलाई सोको जानकारी गराउने ।

(घ) देहायको अवस्था आउन सक्ने सम्भावना देखेमा राष्ट्र बैङ्कलाई सोको जानकारी गराउने ;

(१) राष्ट्र बैङ्कले बैङ्क वा वित्तीय संस्थाको इजाजतपत्र दिँदा तोकेका शर्त वा यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम, विनियम वा दिइएको निर्देशन आदिको उल्लंघन हुने,

(२) बैङ्क वा वित्तीय संस्थाको नियमित काम कारबाहीमा प्रतिकूल प्रभाव पार्ने,

(३) लेखापरीक्षकलाई लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गर्नबाट रोक्ने वा गलत लेखा परीक्षण प्रतिवेदन पेश गर्न लगाउने।

२) लेखापरीक्षकलाई आफ्नो कर्तव्य पालनाको सिलसिलामा जुनसुकै बखत बैङ्क वा वित्तीय संस्थाको खाता, हिसाब किताब, लेखा, भौचर लगायत सबै कागजात र लगतको निरीक्षण गर्ने अधिकार हुनेछ र लेखापरीक्षकले आफ्नो काम उपयुक्त ढंगबाट पूरा गर्ने तथा कर्तव्य पालना गर्ने क्रममा बैङ्क वा वित्तीय संस्थाको पदाधिकारीसँग निजले आवश्यक ठानेको जानकारी र स्पष्टीकरण माग गर्न सक्नेछ ।

३) लेखापरीक्षकले आफ्नो प्रतिवेदनमा देहायका विषय स्पष्ट रूपमा उल्लेख गर्नु पर्नेछ ;

(क) माग गरेको विषयमा जवाफ प्राप्त भए नभएको,

(ख) वासलात, वासलात बाहिरको कारोबार, नाफा-नक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका वित्तीय विवरण राष्ट्र बैङ्कले तोकेको ढाँचा र तरिका अनुसार तयार भए नभएको र उक्त विवरण बैङ्क वा वित्तीय संस्थाले राखेको हिसाब किताब, बहीखाता, श्रेस्ता र लेखासँग दुरुस्त रहे नरहेको,

(ग) प्रचलित कानुन बमोजिम हिसाब किताब, खाता बही, श्रेस्ता र लेखा ठीकसँग राखे नराखेको,

(घ) बैङ्क वा वित्तीय संस्थाको कुनै पदाधिकारीले प्रचलित कानुन विपरीत कुनै कामकाज वा अनियमित कार्य गरे नगरेको वा बैङ्क वा वित्तीय संस्थाको हानि नोक्सानी भए नभएको,

(ङ) कर्जा अपलेखन विनियमावली वा राष्ट्र बैङ्कको निर्देशन बमोजिम कर्जा अपलेखन गरे नगरेको,

(च) बैङ्क वा वित्तीय संस्थाको कारोबार राष्ट्र बैङ्कले तोके बमोजिम सन्तोषप्रद रूपबाट सञ्चालन भए नभएको,

(छ) शेयरधनीलाई जानकारी दिनुपर्ने विषय,

(ज) प्रचलित कानुनले तोकेको विषय तथा राष्ट्र बैङ्कले लेखापरीक्षकले लेखापरीक्षण प्रतिवेदनमा खुलाउनु पर्ने भनी तोकिदिएको अन्य विवरण,

(झ) लेखापरीक्षकले दिन आवश्यक ठानेको अन्य सुझाव ।

४) लेखापरीक्षकको प्रतिवेदन प्राप्त गरेपछि राष्ट्र बैङ्कले आवश्यक ठानेमा बैङ्क वा वित्तीय संस्थाको लेखापरीक्षकलाई देहायका थप कार्य गर्न आदेश दिन सक्नेछ ;

(क) लेखापरीक्षणका सम्बन्धमा राष्ट्र बैङ्कले आवश्यक ठानेको अतिरिक्त जानकारी पेश गर्न,

(ख) बैङ्क वा वित्तीय संस्था वा त्यसको सहायक कम्पनीको कारोबारको लेखापरीक्षणको क्षेत्रलाई अझ व्यापक बनाउन,

(ग) कुनै खास विषयमा राष्ट्र बैङ्कले तोके बमोजिम वा बैङ्क वा वित्तीय संस्थालाई सिफारिस गरे बमोजिम अन्य जाँच गर्न ।

Share this Law

दफा ६६ः लेखापरीक्षकको काम, कर्तव्य र अधिकार

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.