दफा ५५ः कर्जा प्रवाह सम्बन्धी व्यवस्था

Estimated reading: 0 minutes 372 views

१) राष्ट्र बैङ्कको निर्देशन तथा सञ्चालक समितिले निर्धारण गरेको कर्जा नीतिको अधीनमा रही बैङ्क वा वित्तीय संस्थाले प्रयोजन खुलाएर मात्र कर्जा प्रवाह गर्नु पर्नेछ ।

२) बैङ्क वा वित्तीय संस्थाले कर्जा दिँदा आफूलाई मान्य हुने चल अचल सम्पत्ति सुरक्षण लिई वा अन्य उचित जमानी लिई आफ्नो र निक्षेपकर्ताको हितको सुरक्षा हुने गरी कर्जा प्रवाह गर्नु पर्नेछ ।

३) यस दफा बमोजिम कर्जाको सुरक्षण बापत लिएको सम्पत्ति कुनै पनि व्यहोराबाट कसैका नाउँमा रजिष्ट्रेशन वा दाखिल खारेज गर्न वा हस्तान्तरण हुन नसक्ने गरी बैङ्क वा वित्तीय संस्थाको नाममा रजिष्ट्रेशन वा दाखिल खारेज वा रोक्का राखिदिनको लागि बैङ्क वा वित्तीय संस्थाले सम्बन्धित कार्यालयमा लेखी पठाउनु पर्नेछ ।

४) उपदफा (३) बमोजिम रजिष्ट्रेशन, दाखिल खारेज वा रोक्का राखिदिनको लागि लेखी आएमा सम्बन्धित कार्यालयले लेखी आए बमोजिम रजिष्ट्रेशन, दाखिल खारेज वा रोक्का गरी दिनु पर्नेछ ।

५) न्यून आय भएका तथा विपन्न वर्गका व्यक्ति र कुनै खास भौगोलिक क्षेत्रमा बसोवास गर्ने बासिन्दाको आर्थिक उत्थानको लागि प्राथमिकता दिइएको वर्ग तथा क्षेत्रमा कर्जा प्रवाह गर्न राष्ट्र बैङ्कले निर्देशन दिएमा सोही बमोजिम बैङ्क तथा वित्तीय संस्थाले कर्जा प्रवाह गर्नु पर्नेछ ।

६) ऋणीले बैङ्क वा वित्तीय संस्थासँग लिएको कर्जाको शर्त, भाका र व्याज सम्बन्धी कुराहरू कर्जा लेनदेन सम्बन्धमा भएको लिखत वा करारमा उल्लेख भए बमोजिम हुनेछ ।

७) ऋणी, जमानतकर्ता वा फर्म, कम्पनी वा संस्था ऋणी भए सोका सञ्चालक, राष्ट्र बैङ्कले तोकेको प्रतिशतभन्दा बढी शेयर लिने शेयरधनी, साझेदार वा अन्य कुनै प्रकारको स्वामित्व हुने व्यक्ति, उल्लिखित सबै व्यक्तिका परिवार तथा निजहरू कही कतै हिताधिकारी भए सोको विवरण तथा प्रचलित कानुन बमोजिम कारबाही गर्नु पर्दा आवश्यक परिचय खुल्ने प्रमाण समेत बैङ्क वा वित्तीय संस्थाले लिनु पर्नेछ ।

८) बैङ्क वा वित्तीय संस्थाले कर्जा प्रदान गर्दा ऋणीलाई प्रदान गरेको कर्जा रकम र सोमा लाग्ने, व्याज, हर्जाना तथा सो तिर्नु बुझाउनु पर्ने समयतालिका समेत लिखत वा करारमा स्पष्ट रूपमा खुलाई सोको जानकारी ऋणी तथा जमानतकर्ता भए जमानतकर्ता समेतलाई दिनु पर्नेछ ।

९) ऋणीले आफूले तिर्न बुझाउनु पर्ने वा तिरे बुझाएको कर्जाको साँवा, व्याज, हर्जाना तथा अन्य शुल्क एवं कर्जा प्राप्त गर्नका लागि गरिएको लिखत वा करार सम्बन्धी कागजात समेतको विवरण माग गर्न सक्नेछ र त्यस्तो विवरण बैङ्क वा वित्तीय संस्थाले ऋणीलाई उपलब्ध गराउनु पर्नेछ ।

Share this Law

दफा ५५ः कर्जा प्रवाह सम्बन्धी व्यवस्था

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.