दफा ४९ः बैङ्क वा वित्तीय संस्थाले बैङ्किङ्ग तथा वित्तीय कारोबार गर्न सक्ने

Estimated reading: 1 minute 345 views

१) यो ऐन, प्रबन्धपत्र र नियमावली तथा राष्ट्र बैङ्कले तोकेको सीमा, शर्त वा निर्देशनको अधीनमा रही “क” वर्गको बैङ्कले देहाय बमोजिमको बैङ्किङ्ग तथा वित्तीय कारोबार गर्न सक्नेछ ;

(क) व्याज वा बिना व्याजमा निक्षेप स्वीकार गर्ने वा विभिन्न वित्तीय उपकरण मार्फत निक्षेप परिचालन गर्ने र तिनको भुक्तानी दिने,

(ख) विद्युतीय उपकरण वा साधनको माध्यमबाट निक्षेप स्वीकार गर्ने, भुक्तानी दिने, लेनदेन गर्ने, मध्यस्थताको काम गर्ने र रकमान्तर गर्ने,

(ग) हायर पर्चेज, लिजिङ्ग, हाउजिङ्ग, अधिविकर्ष लगायतका कर्जा दिने,

(घ) परियोजना तथा हाइपोथिकेशन धितो राखी कर्जा दिने एवं सहवित्तीयकरणको आधारमा धितो विभाजन (पारी पासु) गर्ने गरी आपसमा भएको सम्झौता अनुसार संयुक्त रूपमा कर्जा दिने दिलाउने व्यवस्था गर्ने,

(ङ) विदेशी बैङ्क वा वित्तीय संस्थाको जमानतमा कर्जा दिने,

(च) आफू कहाँ पहिले नै धितो रहिसकेको चल अचल सम्पत्तिको मूल्यले खामेसम्मको रकम कर्जा दिने वा अन्य बैङ्क वा वित्तीय संस्थामा धितो रहिसकेको चल अचल सम्पत्तिको पुनः धितोमा त्यसको मूल्यले खामेसम्मको रकम कर्जा दिने,

(छ) आफ्नो ग्राहकको तर्फबाट जमानतपत्र जारी गर्ने र सो बापत ग्राहकसँग आवश्यक शर्त गराउने, निजको चल अचल सम्पत्ति धितोबन्धक लिने वा तेस्रो व्यक्तिको जेथा जमानत लिने र धितोबन्धक, सुरक्षणमा लिएको सम्पत्ति प्राप्त गर्ने, धारण गर्ने तथा सो सम्बन्धी अन्य कारोबार गर्ने,

(ज) आवश्यकता अनुसार राष्ट्र बैङ्कबाट पुनर्कर्जा लिने वा अन्य बैङ्क वा वित्तीय संस्थाबाट कर्जा लिनेदिने,

(झ) परियोजनाको प्रवर्द्धनको लागि नेपाल सरकार वा अन्य स्वदेशी वा विदेशी निकाय मार्फत प्राप्त भएको रकमबाट कर्जा प्रवाह गर्ने वा कर्जा व्यवस्थापन गर्ने,

(ञ) प्रचलित कर्जा अपलेखन विनियमावलीको अधीनमा रही कर्जा अपलेखन गर्ने,

(ट) पूँजीकोष पुरा गर्ने प्रयोजनका लागि शेयर, डिबेञ्चर, ऋणपत्र आदि जारी गर्ने,

(ठ) प्रतीतपत्र, विनिमयपत्र, प्रतिज्ञापत्र, चेक, यात्रु चेक, ड्राफ्ट वा अन्य वित्तीय उपकरण निष्काशन गर्ने, स्वीकार गर्ने, भुक्तानी दिने, डिस्काउण्ट गर्ने वा खरिद बिक्री गर्ने,

(ड) विद्युतीय कारोबारका लागि डिजिटल वा कार्ड लगायतका वित्तीय उपकरण जारी गर्ने, स्वीकार गर्ने, व्यवस्थापन गर्ने र सो सम्बन्धी कार्य गर्न एजेण्ट नियुक्त गर्ने,

(ढ) प्रचलित कानुनको अधीनमा रही विदेशी विनिमय कारोबार गर्ने,

(ण) राष्ट्र बैङ्कले तोकेको सीमा, शर्त वा निर्देशन बमोजिम सरकारी कारोबार गर्ने,

(त) नेपाल सरकार वा राष्ट्र बैङ्कले जारी गरेको ऋणपत्र खरिद-बिक्री गर्ने वा सकार गर्ने,

(थ) नेपालभित्र वा विदेशमा विनिमयपत्र, चेक वा अन्य वित्तीय उपकरणद्वारा रकम पठाउने वा चलान गर्ने, विदेशबाट विप्रेषण प्राप्त गर्ने र सो को भुक्तानी गर्ने,

(द) ग्राहकको निमित्त कमिशन एजेण्ट भई शेयर, डिबेञ्चर वा सुरक्षणको जिम्मा लिने, खरिद–बिक्री गरिदिने, शेयरको लाभांश, डिबेञ्चर वा सुरक्षणको व्याज आदि उठाई दिने र सोको लाभांश, मुनाफा वा व्याज नेपालभित्र वा विदेशमा पठाउने, ग्राहकको लागि सेफ डिपोजिट भल्टको व्यवस्था गर्ने,

(ध) वासलात बाहिरको कारोबार गर्ने,

(न) विपन्न वर्ग, न्यून आय भएको परिवार, दैवी प्रकोप पीडित तथा मुलुकका कुनै क्षेत्रका बासिन्दाको आर्थिक उत्थानको लागि व्यक्तिगत वा सामूहिक जमानीमा राष्ट्र बैङ्कले तोके बमोजिमको रकमसम्म कर्जा दिने,

(प) आफू तथा अन्य बैङ्क वा वित्तीय संस्थाबाट कर्जा लिने वा कुनै प्रकारको सुविधा लिने ऋणी वा ग्राहकको विवरण, सूचना वा जानकारी राष्ट्र बैङ्क, सम्बन्धित निकाय वा अन्य बैङ्क वा वित्तीय संस्थाबीच लिने दिने,

(फ) सुन, चाँदी खरिद–बिक्री गर्ने,

(ब) परियोजना स्थापना, सञ्चालन र मूल्याङ्कन सम्बन्धी अध्ययन, अनुसन्धान, सर्वेक्षण गर्ने गराउने तथा तालीम, परामर्श र अन्य जानकारी उपलब्ध गराउने,

(भ) यस ऐन र प्रचलित कानुन बमोजिम आफ्नो स्वामित्वमा आउने सबै प्रकारका जायजेथाको उचित व्यवस्थापन तथा बिक्री गर्ने,

(म) प्रचलित कानुन बमोजिम दुई वा दुईभन्दा बढी व्यक्तिहरुबीच हुने कुनै कार्य बापत तिर्नु बुझाउनु वा लिनु पर्ने रकम उक्त काम भएपछि भुक्तानी लिने दिने व्यवस्था गर्न दुई पक्षको सहमतिमा जमानी बस्ने,

(य) राष्ट्र बैङ्कले तोकेको अन्य काम गर्ने ।

२) यो ऐन, प्रबन्धपत्र र नियमावली तथा राष्ट्र बैङ्कले तोकेको सीमा, शर्त वा निर्देशनको अधीनमा रही “ख” वर्गको वित्तीय संस्थाले उपदफा (१) को खण्ड (क), (ख), (ग), (च), (ज), (झ), (ञ), (ट), (ढ), (त), (द), (ध), (न), (प) र (भ) मा उल्लिखित बैङ्किङ्ग तथा वित्तीय कारोबारका अतिरिक्त देहाय बमोजिमको अन्य बैङ्किङ्ग  तथा वित्तीय कारोबार समेत गर्न सक्नेछ ;

(क) परियोजना धितो राखी कर्जा दिने, सहवित्तीयकरणको आधारमा धितो विभाजन (पारी पासु) गर्ने गरी आपसमा भएको सम्झौता अनुसार संयुक्त रूपमा कर्जा दिने, दिलाउने व्यवस्था गर्ने,

(ख) आफ्नो ग्राहकको तर्फबाट जमानतपत्र जारी गर्ने र सो बापत ग्राहकसँग आवश्यक शर्त गराउने, निजको चल अचल सम्पत्ति धितोबन्धक लिने वा तेस्रो व्यक्तिको जेथा जमानत लिने,

(ग) विनिमयपत्र, प्रतिज्ञापत्र, चेक, यात्रुचेक, ड्राफ्ट जारी गर्ने, स्वीकार गर्ने, भुक्तानी दिने, डिस्काउण्ट गर्ने वा खरिद-बिक्री गर्ने,

(घ) आफ्नो चल अचल सम्पत्ति धितो राखी कर्जा लिने,

(ङ) राष्ट्र बैङ्कको पूर्व स्वीकृति लिई प्रतीतपत्र र विप्रेषणको कारोबार गर्ने,

(च) ग्राहकको निमित्त कमिशन एजेण्ट भई शेयर, डिबेञ्चर वा सुरक्षणको जिम्मा लिने, खरिद बिक्री गरिदिने, शेयर, डिबेञ्चर वा सुरक्षणको लाभांश, व्याज, मुनाफा आदि उठाइदिने, सेफ डिपोजिट भल्टको व्यवस्था गर्ने,

(छ) नेपालभित्र रकम स्थानान्तरण सम्बन्धी काम गर्ने,

(ज) परियोजना स्थापना, सञ्चालन र बैङ्किङ्ग, लेखा, सम्पत्ति, कर्जा मूल्याङ्कन सम्बन्धी अध्ययन, अनुसन्धान, सर्भेक्षण गर्ने गराउने तथा तालीम, परामर्श र अन्य सेवा प्रदान गर्ने तथा जानकारी उपलब्ध गराउने,

(झ) राष्ट्र बैङ्कले तोकेको अन्य काम गर्ने ।

३) यो ऐन, प्रबन्धपत्र र नियमावली तथा राष्ट्र बैङ्कले तोकेको सीमा, शर्त वा निर्देशनको अधीनमा रही “ग” वर्गको वित्तीय संस्थाले उपदफा (१) को खण्ड (क), (ख), (च), (ज), (ञ), (ट), (त), (द), (न), (प) र (भ) मा उल्लिखित बैङ्किङ्ग तथा वित्तीय कारोबारका अतिरिक्त देहाय बमोजिमको अन्य बैङ्किङ्ग  तथा वित्तीय कारोबार समेत गर्न सक्नेछ ः–

(क) हायर पर्चेज, लिजिङ्ग, हाउजिङ्ग लगायतका कर्जा दिने,

(ख) अन्य बैङ्क वा वित्तीय संस्थासँग मिली सहवित्तीयकरणको आधारमा धितो विभाजन (पारी पासु) गर्ने गरी आपसमा भएको सम्झौता अनुसार संयुक्त रूपमा कर्जा दिने,

(ग) आफ्नो चल अचल सम्पत्ति धितो राखी कर्जा लिने,

(घ) आफ्नो जायजेथाको उचित प्रबन्ध गर्ने, बिक्री गर्ने वा बहालमा दिने,

(ङ) विनिमयपत्र, प्रतिज्ञापत्र, चेक, यात्रुचेक, ड्राफ्ट वा अन्य वित्तीय उपकरण जारी गर्ने, स्वीकार गर्ने, भुक्तानी दिने, डिस्काउण्ट गर्ने वा खरिद बिक्री गर्ने,

(च) राष्ट्र बैङ्कको स्वीकृति लिई विदेशी मुद्राको कारोबार गर्ने,

(छ) कुनै पनि व्यक्ति, फर्म, कम्पनी वा संस्थालाई सवारी साधन, मेसिन औजार, उपकरण, घरायसी टिकाउ सामान वा त्यस्तै अन्य चल सम्पत्तिको लागि किस्ताबन्दी वा हायरपर्चेज कर्जा उपलब्ध गराउने,

(ज) कुनै व्यक्ति, फर्म, कम्पनी वा संस्थालाई सवारी साधन, मेसिन, औजार उपकरण, घरायसी टिकाउ सामान वा त्यस्तै चल सम्पत्ति भाडामा लिन कर्जा (लिजिङ्ग फाइनान्स) उपलब्ध गराउने वा त्यस्ता चल सम्पत्ति भाडामा लिने दिने,

(झ) आफ्नो ग्राहकको तर्फबाट जमानतपत्र जारी गर्ने र सो बापत ग्राहकसँग आवश्यक शर्त गराउने, सुरक्षण लिने, निजको चल अचल सम्पत्ति धितोबन्धक लिने वा तेस्रो व्यक्तिको जेथा जमानत लिने,

(ञ) आफ्नो सम्पत्तिको कुनै अंश वा पुरै बिक्री गर्ने वा लिजमा दिने,

(ट) खरिद गरिएको कुनै पनि वस्तुको तत्काल वा पछि भुक्तानी गर्ने (डिफर्ड) मूल्यमा अर्को खरिदकर्तालाई बिक्री गर्नु परेमा वित्तीय संस्था र बिक्रेताको सहमति अनुसार सो वस्तुको मूल्य तय गर्ने,

(ठ) राष्ट्र बैङ्कले तोकेको अन्य काम गर्ने ।

४) यो ऐन, प्रबन्धपत्र, नियमावली र राष्ट्र बैङ्कले तोकेको सीमा, शर्त तथा निर्देशनको अधीनमा रही “घ” वर्गको वित्तीय संस्थाले देहाय बमोजिमको बैङ्किङ्ग तथा वित्तीय कारोबार गर्न सक्नेछ ः–

(क) राष्ट्र बैङ्कले तोके अनुसारको परियोजना, बचत कायम गरेको समूह वा समूहको सदस्यलाई लघु व्यवसाय सञ्चालन गर्न कुनै चल अचल सम्पत्ति सुरक्षण वा जमानत लिई वा नलिई लघुकर्जा दिने,

(ख) बैङ्क वा वित्तीय संस्था वा स्वदेशी वा विदेशी संघ वा संस्था आदिबाट कर्जा वा अनुदान प्राप्त गर्ने र त्यस्तो कर्जा वा अनुदान लघुकर्जा वितरणमा वा सो कार्यलाई प्रभावकारी बनाउने काममा प्रयोग गर्ने,

 तर विदेशी संघ वा संस्था आदिबाट कर्जा वा अनुदान लिनु अघि राष्ट्र बैङ्कको स्वीकृति लिनु पर्नेछ ।

(ग) लघुकर्जा उपलब्ध गराउनु अघि जुन कार्यको लागि कर्जा माग भएको हो सो सम्बन्धी कार्यको मूल्याङ्कन गर्ने र त्यस्तो कार्यको सम्भाव्यता छ, छैन पहिचान गर्ने,

(घ) लघुकर्जा परिचालन सम्बन्धमा समूहलाई आवश्यक पर्ने सेवा तथा परामर्श प्रदान गर्ने,

(ङ) लघुकर्जा समयमा असुल उपर गर्ने तर्फ आवश्यक कारबाही गर्ने,

(च) राष्ट्र बैङ्कको स्वीकृति लिई राष्ट्र बैङ्कले तोकिदिएको शर्त बन्देजको अधीनमा रही निक्षेप स्वीकार गर्ने तथा त्यस्तो निक्षेपको भुक्तानी दिने,

(छ) पूँजीकोष पुरा गर्ने प्रयोजनका लागि शेयर, डिबेञ्चर, ऋणपत्र आदि जारी गर्ने,

(ज) आफू तथा अन्य कुनै बैङ्क वा वित्तीय संस्थाबाट कर्जा वा कुनै प्रकारको सुविधा लिने ऋणी वा ग्राहकको विवरण सूचना वा जानकारी राष्ट्र बैङ्क, सम्बन्धित निकाय वा अन्य बैङ्क वा वित्तीय संस्थाबीच लिने दिने,

(झ) राष्ट्र बैङ्कले तोकेको अन्य काम गर्ने ।

५) यो ऐन, प्रबन्धपत्र, नियमावली र राष्ट्र बैङ्कले तोकेको सीमा, शर्ततथा निर्देशनको अधीनमा रही पूर्वाधार विकास बैङ्कले देहाय बमोजिमको वित्तीय कारोबार गर्न सक्नेछ ः–

(क) पूर्वाधार विकास सम्बन्धी परियोजनाहरूमा कर्जा प्रवाह तथा शेयरमा लगानी गर्ने,

(ख) पूर्वाधार विकास सम्बन्धी परियोजना सञ्चालन गर्ने कम्पनीहरूको धितोपत्रमा लगानी गर्ने,

(ग) पूर्वाधार विकास सम्बन्धी परियोजनाहरू निर्माण तथा सञ्चालनको लागि आवश्यक मेसिन उपकरण तथा औजारको खरीद, बिक्री वा आपूर्ति वा जडान सम्बन्धी कारोबारको लागि प्रतीतपत्र खोल्ने तथा जमानत पत्रहरू जारी गर्ने,

(घ) राष्ट्र बैङ्कको स्वीकृति लिई पूर्वाधार विकास सम्बन्धी परियोजनाहरूमा लगानी गर्न आवश्यक रकम जुटाउनको लागि विभिन्न प्रकारका स्वदेशी वा विदेशी मुद्रामा वित्तीय उपकरण जारी गर्ने तथा ऋण प्राप्त गर्ने

(ङ) दीर्घकालीन प्रकृतिको निक्षेप स्वीकार गरी वा डिबेञ्चर जारी गरी स्रोत परिचालन गर्ने,

(च) राष्ट्र बैङ्कको स्वीकृति लिई लिजि· कारोबार गर्ने,

(छ) विदेशी बैङ्क तथा वित्तीय संस्थाको जमानत स्वीकार गरी परियोजनामा कर्जा तथा सुविधा प्रदान गर्ने,

(ज) राष्ट्र बैङ्कले तोकेका अन्य कार्य गर्ने ।

Share this Law

दफा ४९ः बैङ्क वा वित्तीय संस्थाले बैङ्किङ्ग तथा वित्तीय कारोबार गर्न सक्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.