परिच्छेद–५ इजाजतपत्र सम्बन्धी व्यवस्था

दफा ३३ः बैङ्किङ्ग तथा वित्तीय कारोबार गर्ने इजाजतपत्र प्राप्त गर्न निवेदन दिनु पर्ने

Estimated reading: 0 minutes 44 views

१) यस ऐन बमोजिम बैङ्किङ्ग वा वित्तीय कारोबार गर्न चाहने बैङ्क वा वित्तीय संस्थाले इजाजतपत्र प्राप्त गर्न राष्ट्र बैङ्कले तोकिदिएको दस्तुर सहित राष्ट्र बैङ्क समक्ष निवेदन दिनु पर्नेछ।

२) उपदफा (१) बमोजिमको निवेदनका साथ बैङ्क वा वित्तीय संस्थाले देहायका विवरण तथा कागजात समेत संलग्न गरेको हुनु पर्नेछ ;

(क) बैङ्क वा वित्तीय संस्थाको प्रबन्धपत्र, नियमावली र प्रचलित कानुन बमोजिम संस्थापना भएको प्रमाणपत्रको प्रतिलिपि,

(ख) कारोबार सञ्चालन गर्न आवश्यक सबै पूर्वाधार तयार भएको कार्यालय भवनको विवरण वा भवन भाडामा लिने भए बहाल सम्बन्धी सम्झौताको प्रतिलिपि र भाडामा लिएको भवनको विवरण सहित बैङ्किङ्ग तथा वित्तीय सेवा, सुविधा प्रदान गर्न सक्ने पर्याप्त आधार रहेको विवरण,

(ग) संस्थापकले लिन कबुल गरेको शेयरको रकम चुक्ता भई राष्ट्र बैङ्कमा जम्मा गरेको प्रमाणित हुने कागजात,

(घ) बैङ्क वा वित्तीय संस्थाको कर्मचारी सेवा, शर्त र सुविधा सम्बन्धी विनियम, आर्थिक प्रशासन सम्बन्धी विनियम र कर्जा अपलेखन सम्बन्धी विनियम,

(ङ) कारोबार गर्ने मुख्य स्थान वा शाखाको स्थान यकिन भइसकेकोमा सोको ठेगाना,

(च) बैङ्किङ्ग तथा वित्तीय कारोबार गर्नको लागि राष्ट्र बैङ्कले तोकेका शर्तहरु पालना गर्ने कुराको मञ्जुरी,

(छ) बैङ्क वा वित्तीय संस्थाको व्यावसायिक रणनीति र सञ्चालन गरिने कारोबारको प्रकृति,आन्तरिक नियन्त्रण र जोखिम व्यवस्थापन प्रक्रिया सहितको संगठनात्मक संरचनालाई समेट्ने गरी तयार पारिएको व्यावसायिक योजना,

(ज) बैङ्क वा वित्तीय संस्थाको सञ्चालक र पदाधिकारीको नामावली तथा यस ऐन बमोजिम सञ्चालक वा पदाधिकारी हुन योग्य रहेको विवरण,

(झ) बैङ्किङ्ग वा वित्तीय कारोबार सञ्चालन गरुञ्जेल राष्ट्र बैङ्कले समय समयमा तोकिदिए बमोजिमको न्यूनतम पूँजी कायम राख्ने प्रतिबद्धता,

(ञ) बैङ्क वा वित्तीय संस्थाले सम्भावित सबै जोखिमहरूको उपयुक्त ढंगबाट व्यवस्थापन गर्न आन्तरिक नियन्त्रण प्रणाली कायम गर्ने प्रतिबद्धता,

(ट) राष्ट्र बैङ्कले समय समयमा तोकिदिएको अन्य विवरण तथा कागजात ।

३) कुनै विदेशी बैङ्क वा वित्तीय संस्थाले नेपालमा संयुक्त लगानीमा संस्थापित गर्ने बैङ्क वा वित्तीय संस्थाको हकमा उपदफा (२) मा उल्लिखित विषयहरूका अतिरिक्त देहाय बमोजिमका कागजात वा विवरण समेत राष्ट्र बैङ्कमा पेश गर्नु पर्नेछ ;

(क) “क”, “ख”, “ग”, र “घ” वर्गका बैङ्क वा वित्तीय संस्थाको हकमा विदेशी बैङ्क वा वित्तीय संस्थाको सम्बन्धित मुलुकको कानुन बमोजिम त्यस्तो मुलुकको सरकार वा केन्द्रीय बैङ्क वा नियमन गर्ने निकायले नेपालमा त्यस्तो विदेशी बैङ्क वा वित्तीय संस्थालाई बैङ्किङ्ग तथा वित्तीय कारोबार सञ्चालन गर्न दिएको स्वीकृति वा सहमति पत्र,

(ख) विदेशी बैङ्क वा वित्तीय संस्था स्थापना गर्न राष्ट्र बैङ्कमा निवेदन पेश गरेपछि वा राष्ट्र बैङ्कबाट अनुमति लिएपछि त्यस्तो विदेशी बैङ्क वा वित्तीय संस्थाले यस ऐन बमोजिम पूरा गर्नु पर्ने कुनै विषय फरक परेको भए सोको विवरण,

(ग) राष्ट्र बैङ्कले माग गरे बमोजिमको अन्य जानकारी तथा विवरण ।

४) उपदफा (२) वा (३) बमोजिम प्राप्त कागजात वा विवरणहरूको जाँचबुझ गर्दा कुनै कागजात वा विवरण नपुग वा अपर्याप्त भएमा राष्ट्र बैङ्कले त्यस्तो बैङ्क वा वित्तीय संस्थासँग थप कागजात वा विवरण माग गर्न सक्नेछ ।

Share this Law

दफा ३३ः बैङ्किङ्ग तथा वित्तीय कारोबार गर्ने इजाजतपत्र प्राप्त गर्न निवेदन दिनु पर्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.