परिच्छेद–४ सञ्चालक समिति र कार्यकारी प्रमुख सम्बन्धी व्यवस्था

दफा २९ः कार्यकारी प्रमुखको नियुक्ति र सेवाको शर्त

Estimated reading: 1 minute 112 views

१) सञ्चालक समितिले यस ऐन, प्रबन्धपत्र र नियमावलीको अधीनमा रही बैङ्क वा वित्तीय संस्थाको व्यवस्थापन गर्न एक कार्यकारी प्रमुखको नियुक्ति गर्नु पर्नेछ ।

२) कार्यकारी प्रमुखको कार्यकाल बढीमा चार वर्षको हुनेछ र निज अर्को एक कार्यकालका लागि पुनः नियुक्ति हुन सक्नेछ ।

३) उपदफा (२) मा लेखिएको व्यवस्था यो ऐन प्रारम्भ भए पछि मात्र लागू हुनेछ ।

४) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि सञ्चालक समितिले कार्यकारी प्रमुखको कार्यसम्पादन सन्तोषजनक नभएमा निजलाई जुनसुकै बखत पदबाट हटाउन सकिनेछ ।

तर त्यसरी पदबाट हटाउनु अघि निजलाई सफाई पेश गर्ने मनासिब मौका दिनु पर्नेछ ।

५) कार्यकारी प्रमुखको नियुक्ति गर्दा देहाय बमोजिमको योग्यता तथा अनुभव भएको व्यक्तिलाई नियुक्ति गरी त्यस्तो नियुक्ति गरेको सात दिनभित्र राष्ट्र बैङ्कलाई जानकारी दिनु पर्नेछ ः–

(क) व्यवस्थापन, बैङ्किङ्ग, वित्तीय, मौद्रिक, अर्थशास्त्र, वाणिज्य शास्त्र, लेखा शास्त्र, तथ्याङ्क शास्त्र, लेखा, गणित, व्यापार प्रशासन वा कानुन विषयमा स्नातकोत्तर उपाधि हासिल गरेको,

(ख) चार्टर्ड एकाउण्टेन्सी वा व्यवस्थापन, बैङ्किङ्ग, वित्तीय, मौद्रिक, अर्थशास्त्र, वाणिज्य शास्त्र, तथ्याङ्क शास्त्र, लेखा शास्त्र, गणित, व्यापार प्रशासन वा कानुन विषयमा स्नातक उपाधि हासिल गरी बैङ्किङ्ग तथा वित्तीय क्षेत्र, सरकारी निकाय, संगठित संस्था, विश्वविद्यालय वा त्यस्तो कार्य गर्ने अन्तर्राष्ट्रिय संघ वा संस्थाको अधिकृत तह वा सोभन्दा माथिको पदमा कम्तीमा दश वर्षको कार्य अनुभव भएको,

तर, ‘घ’ वर्गको वित्तीय संस्थाको कार्यकारी प्रमुखको हकमा राष्ट्र बैङ्कले तोके बमोजिमको शैक्षिक योग्यता तथा कार्य अनुभव हुनु पर्नेछ ।

(ग) कार्यकारी प्रमुखको नियुक्तिको सम्बन्धमा राष्ट्र बैङ्कले तोकेको मापदण्ड पूरा गरेको,

(घ) दफा १८ को उपदफा (१) बमोजिम अयोग्य नभएको ।

तर दफा १८ को उपदफा (१) को खण्ड (झ) र (ढ) मा उल्लिखित अयोग्यता सम्बन्धी व्यवस्था कार्यकारी प्रमुखको हकमा लागू हुनेछैन ।

६) उपदफा (१) बमोजिम नियुक्ति भएको कार्यकारी प्रमुख यस ऐन बमोजिम योग्य रहेको नदेखिएमा राष्ट्र बैङ्कले निजलाई हटाई यस ऐन बमोजिम कार्यकारी प्रमुखमा नियुक्त हुन योग्य रहेको अर्को व्यक्तिलाई कार्यकारी प्रमुख नियुक्त गर्न सम्बन्धित बैङ्क वा वित्तीय संस्थालाई आदेश दिन सक्नेछ ।

७) कार्यकारी प्रमुखको पारिश्रमिक, सेवाका अन्य शर्त तथा सुविधाहरू सञ्चालक समितिले तोके बमोजिम हुनेछ र नियुक्ति गर्दाका बखत नै निजको सेवाको शर्त तथा सुविधा निर्धारण गर्नु पर्नेछ।

८) कुनै बैङ्क वा वित्तीय संस्थाको कार्यकारी प्रमुख अर्को कुनै व्यावसायिक संस्थामा कार्यकारी प्रमुख, पदाधिकारी, कर्मचारी वा अन्य कुनै पदमा रही काम गर्न पाउने छैन ।

तर बैङ्क वा वित्तीय संस्थाले पूर्वाधार विकास बैङ्कमा लगानी गरेको अवस्थामा सो विकास बैङ्कको सञ्चालक हुन यस उपदफाले बाधा पुर्‍याएको मानिने छैन ।

Share this Law

दफा २९ः कार्यकारी प्रमुखको नियुक्ति र सेवाको शर्त

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.