परिच्छेद–११ बैङ्क वा वित्तीय संस्थाको स्वेच्छिक खारेजी

दफा ७६ः स्वेच्छिक खारेजीको प्रारम्भ

Estimated reading: 0 minutes 98 views

१) राष्ट्र बैङ्कले स्वेच्छिक खारेजी गर्न अन्तिम स्वीकृति दिएको मितिदेखि बैङ्क वा वित्तीय संस्थाको स्वेच्छिक खारेजी सम्बन्धी कारबाही प्रारम्भ भएको मानिनेछ ।

२) दफा ७५ बमोजिम स्वेच्छिक खारेजीको सैद्धान्तिक सहमति प्राप्त गर्ने बैङ्क वा वित्तीय संस्थाले राष्ट्र बैङ्कबाट स्वेच्छिक खारेजीको अन्तिम स्वीकृति लिनु अघि देहायका कार्यहरू पूरा गर्नु पर्नेछ ;

(क) सम्पूर्ण निक्षेप तथा दायित्व तोकिएको समयभित्र फिर्ता वा पूरा गरेको हुनुपर्ने,

(ख) कारोबार सञ्चालन बन्द गर्नुपर्ने र कुनै नया“ कारोबार नगर्ने,

(ग) स्वेच्छिक खारेजी गर्न अत्यावश्यक हुने बाहेक अन्य अधिकार प्रयोग गर्न नपाइने ।

३) उपदफा (२) बमोजिमको काम कारबाही गर्ने सिलसिलामा राष्ट्र बैङ्कले आवश्यक निर्देशन जारी गर्न सक्नेछ ।

४) उपदफा (२) को खण्ड (क) बमोजिमको रकम तथा अन्य दायित्व भुक्तानी पाउने व्यक्तिले तोकिएको समयभित्र भुक्तानी लिन नआएमा उक्त रकम राष्ट्र बैङ्कले निर्देशन दिए बमोजिमको खातामा जम्मा गर्नु पर्नेछ ।

५) स्वेच्छिक खारेजीको लागि दिएको स्वीकृतिको कारणले त्यस्तो बैङ्क वा वित्तीय संस्थाका निक्षेपकर्ता र अन्य साहूहरूको हकहितलाई कुनै पनि किसिमको प्रतिकूल प्रभाव पार्ने छैन ।

६) स्वेच्छिक खारेजीमा गएको बैङ्क वा वित्तीय संस्थाको यस ऐन बमोजिमको काम कारबाही समाप्त भएपछि त्यस्तो बैङ्क वा वित्तीय संस्थाले सोको लेखापरीक्षण प्रतिवेदन राष्ट्र बैङ्कमा पेश गर्नु पर्नेछ ।

७) यस दफा बमोजिमको कार्य पूरा गर्ने बैङ्क वा वित्तीय संस्थालाई राष्ट्र बैङ्कले स्वेच्छिक खारेजीको अन्तिम स्वीकृति दिनेछ । राष्ट्र बैङ्कले त्यस्तो बैङ्क वा वित्तीय संस्थाको बैङ्किङ्ग तथा वित्तीय कारोबार गर्ने इजाजतपत्र रद्द गर्नेछ ।

८) स्वेच्छिक खारेजीमा गएको बैङ्क वा वित्तीय संस्थाले तत्काल दाबीमा नआएको निक्षेप बापत तिर्नु बुझाउनु पर्ने रकम राष्ट्र बैङ्कले निर्देशन दिए बमोजिम छुट्याई राख्नु पर्नेछ ।

Share this Law

दफा ७६ः स्वेच्छिक खारेजीको प्रारम्भ

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.