दफा ७१ः सम्पत्ति तथा दायित्वको मूल्याङ्कन सम्बन्धी व्यवस्था

Estimated reading: 1 minute 344 views

१) दफा ७० बमोजिम बैङ्क वा वित्तीय संस्था गाभ्ने वा गाभिने सैद्धान्तिक सहमति प्राप्त गरेपछि त्यस्ता बैङ्क वा वित्तीय संस्थाहरूले आ-आफ्नो सम्पत्ति, दायित्व तथा कारोबारको मूल्याङ्कन गर्न कम्तीमा बैङ्कको लेखापरीक्षण गर्न योग्य रहेको व्यक्ति, फर्म, कम्पनी वा संस्थालाई आपसी सहमतिमा मूल्याङ्कनकर्ता नियुक्ति गरी सोको जानकारी राष्ट्र बैङ्कलाई दिनु पर्नेछ ।

तर बैङ्क वा वित्तीय संस्थाले त्यस्तो मूल्याङ्कन राष्ट्र बैङ्कमा निवेदन दिनु पूर्व नै गर्न सक्नेछन्।

२) दफा ७० बमोजिम बैङ्क वा वित्तीय संस्था प्राप्ति गर्न सैद्धान्तिक सहमति प्राप्त गरेपछि लक्षित संस्थाले आफ्नो सम्पत्ति र दायित्व तथा कारोबारको पछिल्लो मूल्याङ्कन गर्न आफ्नो साधारण सभाबाट नियुक्त गरिएको वा साधारण सभाको अख्तियारी बमोजिम सञ्चालक समितिले नियुक्त गरेको लेखापरीक्षकबाट सम्पत्ति र दायित्व तथा कारोबारको पछिल्लो अवधिको मूल्याङ्कन गराउनु पर्नेछ ।

३) प्राप्त गर्ने संस्थाले लक्षित संस्थाको सम्पत्ति तथा दायित्वको विस्तृत मूल्याङ्कन गराउन सक्नेछ ।

४) उपदफा (१) वा (२) बमोजिम नियुक्ति भएको मूल्याङ्कनकर्ताको काम कारबाही विश्वसनीय नलागेमा राष्ट्र बैङ्कले निजलाई हटाई अर्को मूल्याङ्कनकर्ताको नियुक्ति गर्न सम्बन्धित बैङ्क वा वित्तीय संस्थालाई आदेश दिन सक्नेछ ।

५) मूल्याङ्कनकर्ताको सेवा, सुविधा सम्बन्धित बैङ्क वा वित्तीय संस्थाले निर्धारण गर्नेछ ।

६) मूल्याङ्कनकर्ताले सम्पत्ति, दायित्व, खुद सम्पत्ति तथा समग्र कारोबारको मूल्याङ्कन गर्दा सो सम्बन्धमा स्थापित मान्यता, आधार र विधि बमोजिम गर्नु पर्नेछ ।

७) सम्पत्ति तथा दायित्व मूल्याङ्कन गर्ने विधि, मूल्याङ्कनका आधार र क्षेत्रका सम्बन्धमा राष्ट्र बैङ्कले आवश्यक निर्देशन दिन सक्नेछ ।

Share this Law

दफा ७१ः सम्पत्ति तथा दायित्वको मूल्याङ्कन सम्बन्धी व्यवस्था

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.