दफा २ः परिभाषा

Estimated reading: 1 minute 422 views

विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा,–

(क) “अदालत” भन्नाले नेपाल सरकारले सर्वोच्च अदालतको सहमति लिई नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकिदिएको अदालतको वाणिज्य इजलास सम्झनु पर्छ ।

(ख) “अध्यक्ष” भन्नाले सञ्चालक समितिको अध्यक्ष सम्झनु पर्छ र सो शब्दले कार्यकारी अध्यक्ष समेतलाई जनाउँछ ।

(ग) “इजाजतपत्र” भन्नाले राष्ट्र बैङ्कले यस ऐन बमोजिम बैङ्किङ्ग तथा वित्तीय कारोबार गर्न बैङ्क वा वित्तीय संस्थाको नाममा जारी गरेको इजाजतपत्र सम्झनु पर्छ ।

(घ) “इजाजतपत्र प्राप्त कारोबार” भन्नाले बैङ्क वा वित्तीय संस्थाले यस ऐन बमोजिम इजाजतपत्र लिई गरेको बैङ्किङ्ग तथा वित्तीय कारोबार सम्झनु पर्छ ।

(ङ) “इजाजतपत्र प्राप्त संस्था” भन्नाले यस ऐन बमोजिम बैङ्किङ्ग तथा वित्तीय कारोबार गर्न इजाजतपत्र प्राप्त गरेको बैङ्क वा वित्तीय संस्था सम्झनु पर्छ ।

(च) “उल्लेख्य स्वामित्व” भन्नाले कुनै व्यक्ति वा संस्थाले एक्लै वा अन्य व्यक्ति वा संस्थासँग मिली संयुक्त रूपमा कुनै बैङ्क वा वित्तीय संस्थाको चुक्ता पूँजीको दुई प्रतिशत वा सोभन्दा बढी शेयर लिएको वा शेयर स्वामित्वका कारण बैङ्क वा वित्तीय संस्थाको व्यवस्थापनमा प्रभाव पार्न सक्ने अवस्था सम्झनु पर्छ ।

(छ) “ऋणी” भन्नाले बैङ्क वा वित्तीय संस्थाबाट कर्जा लिने व्यक्ति, फर्म, कम्पनी वा संस्था सम्झनु पर्छ ।

(ज) “कर्जा” भन्नाले बैङ्क वा वित्तीय संस्थाले व्यक्ति, फर्म, कम्पनी, संस्था वा अन्य व्यावसायिक प्रतिष्ठानलाई निश्चित अवधिभित्र साँवा, ब्याज वा अन्य दस्तुर बुझाउने गरी प्रवाह गरिएको रकम, प्रत्यक्ष वा अप्रत्यक्ष प्रत्याभूति, कर्जाको ब्याज वा अन्य दस्तुर, पुर्नकर्जा, कर्जाको पुनर्संरचना र नवीकरण, कर्जा चुक्ताको लागि जारी गरिएको जमानी तथा अन्य वचनबद्धता सम्झनु पर्छ र सो शब्दले राष्ट्र बैङ्कले सार्वजनिक सूचना प्रकाशन गरी तोकिदिएको कुनै पनि किसिमको ऋण समेतलाई जनाउँछ ।

(झ) “कार्यकारी प्रमुख” भन्नाले बैङ्क वा वित्तीय संस्था सञ्चालनको जिम्मेवारी पाएको प्रमुख कार्यकारी अधिकृत सम्झनु पर्छ र सो शब्दले बैङ्क वा वित्तीय संस्थाको कार्यकारी प्रमुखको रूपमा काम गर्ने कार्यकारी अध्यक्ष र प्रबन्ध सञ्चालक समेतलाई जनाउँछ ।

(ञ) “कार्यालय” भन्नाले बैङ्क वा वित्तीय संस्थाको रजिष्टर्ड तथा केन्द्रीय कार्यालय सम्झनु पर्छ र सो शब्दले बैङ्क वा वित्तीय संस्थाको नेपाल र नेपाल बाहिर रहेको शाखा कार्यालय तथा विदेशी बैङ्क वा वित्तीय संस्थाको नेपालमा रहेको शाखा कार्यालय समेतलाई जनाउँछ ।

(ट) “खुद सम्पत्ति (नेट वर्थ)” भन्नाले बैङ्क वा वित्तीय संस्थाको वासलातमा रहने सम्पत्तिको कुल जोडमा वाह्य दायित्वलाई घटाई कायम हुन आउने रकम सम्झनु पर्छ ।

(ठ) “गैर कार्यकारी सञ्चालक” भन्नाले बैङ्क वा वित्तीय संस्थाको दैनिक कार्य सम्पादन गर्ने कार्यकारी सञ्चालक बाहेकको अन्य सञ्चालक सम्झनु पर्छ ।

(ड) “चल्ती खाता” भन्नाले ग्राहकले चाहेको बखत जहिले पनि झिक्न पाउने गरी बैङ्क वा वित्तीय संस्थामा राखिएको रकमको हरहिसाब लेखिएको खाता सम्झनु पर्छ ।

(ढ) “चुक्ता पूँजी” भन्नाले बैङ्क वा वित्तीय संस्थाको जारी भएको पुँजीमध्ये शेयरधनीको तर्फबाट चुक्ता भएको पूँजीको अंश सम्झनु पर्छ ।

(ण) “जोखिमभारित सम्पत्ति” भन्नाले बैङ्क वा वित्तीय संस्थाको वासलातभित्रको र वासलातबाहिरको प्रत्येक शीर्षकमा रहेको रकमलाई राष्ट्र बैङ्कले तोकेको ढाँचामा तोकिएको जोखिमभारले गुणन गरी निकालिएको कुल सम्पत्ति सम्झनु पर्छ ।

(त) “तरल सम्पत्ति” भन्नाले बैङ्क वा वित्तीय संस्थाको नगद मौज्दात, चल्ती खातामा रहेको मौज्दात, राष्ट्र बैङ्कमा राखेको मौज्दात र राष्ट्र बैङ्कले समय समयमा तरल सम्पत्ति भनी निर्धारण गरिदिएको बैङ्क वा वित्तीय संस्थाको सम्पत्ति सम्झनु पर्छ ।

(थ) “तोकिएको” वा “तोकिए बमोजिम” भन्नाले यस ऐन अन्तर्गत बनेका नियम वा विनियममा तोकिएको वा तोकिए बमोजिम सम्झनु पर्छ ।

(द) “धितोपत्र” भन्नाले बैङ्क वा वित्तीय संस्था वा संगठित संस्थाले जारी गरेको शेयर, स्टक, बण्ड, डिबेञ्चर, डिबेञ्चर स्टक वा सामूहिक लगानी योजना सम्बन्धी प्रमाणपत्र वा नेपाल सरकारले जारी गरेको वा नेपाल सरकारको जमानतमा संगठित संस्थाले जारी गरेको प्रमाणपत्र, बचतपत्र वा बण्ड सम्झनु पर्छ र सो शब्दले धितोपत्र बजारमार्फत कारोबार हुन सक्ने वा हस्तान्तरण हुन सक्ने भनी धितोपत्र बोर्डले तोकिदिएको अन्य धितोपत्र वा त्यस्तो धितोपत्र खरिद बिक्री वा विनिमय गर्न सक्ने अधिकारपत्र समेतलाई जनाउँछ ।

(ध) “नियमावली” भन्नाले कम्पनी सम्बन्धी प्रचलित कानुन बमोजिम बनाइएको बैङ्क वा वित्तीय संस्थाको नियमावली सम्झनु पर्छ ।

(न) “निक्षेप” भन्नाले ब्याज वा विना ब्याज दिने गरी बैङ्क वा वित्तीय संस्थाको चल्ती, बचत वा मुद्दती खातामा ग्राहक मार्फत जम्मा भएको रकम सम्झनु पर्छ र सो शब्दले राष्ट्र बैङ्कले समय समयमा निर्धारण गरे बमोजिम बैङ्क वा वित्तीय संस्थाले विभिन्न बैङ्किङ्ग तथा वित्तीय उपकरणको माध्यमबाट स्वीकार गरेको रकम समेतलाई जनाउँछ ।

(प) “निक्षेप सुरक्षण” भन्नाले दफा १०८ बमोजिम निक्षेपको सुरक्षा एवं त्यस्तो निक्षेपको सुरक्षण गर्ने कार्य सम्झनु पर्छ ।

(फ) “पदाधिकारी” भन्नाले बैङ्क वा वित्तीय संस्थाको सञ्चालक, कार्यकारी प्रमुख, कम्पनी सचिव र कुनै विषयमा निर्णय गर्ने अख्तियारी प्राप्त अधिकृतस्तरको कर्मचारी सम्झनु पर्छ ।

(ब) “परिवार” भन्नाले सञ्चालकको पति वा पत्नी, छोरा, बुहारी, छोरी, धर्मपुत्र, धर्मपुत्री, बाबु, आमा, सौतेनी आमा र आफूले पालनपोषण गर्नु पर्ने दाजु भाउजू, भाइ बुहारी र दिदी बहिनी सम्झनु पर्छ ।

तर सो शब्दले अंशबण्डा गरी मानो छुट्टिई आ-आफ्नो पेशा व्यवसाय गरी बसेको परिवारको सदस्यलाई जनाउने छैन ।

(भ) “पूँजी” भन्नाले बैङ्क वा वित्तीय संस्थाको अधिकृत पूँजी, जारी पूँजी वा चुक्ता पूँजी सम्झनु पर्छ।

(म) “पूँजीकोष” भन्नाले राष्ट्र बैङ्कले तोके बमोजिमको बैङ्क वा वित्तीय संस्थाको प्राथमिक पूँजी र पूरक पूँजीको योग सम्झनु पर्छ र सो शब्दले राष्ट्र बैङ्कले समय समयमा तोकेको अन्य कोष वा रकम समेतलाई जनाउँछ ।

(य) “पूर्वाधार विकास बैङ्क” भन्नाले दफा ४९ को उपदफा (५) मा उल्लिखित वित्तीय कारोबार गर्न संस्थापना भएको पूर्वाधार विकास बैङ्क सम्झनु पर्छ ।

(र) “प्रतीतपत्र” भन्नाले कुनै एक बैङ्क वा वित्तीय संस्थाले कुनै अर्को बैङ्क वा वित्तीय संस्थाको नाममा कुनै व्यक्तिको निश्चित रकमले खामेसम्मको चेक, ड्राफ्ट, वा विनिमेयपत्र स्वीकार गर्नु भनी लेखेको पत्र सम्झनु पर्छ ।

(ल) “प्रबन्धपत्र” भन्नाले कम्पनी सम्बन्धी प्रचलित कानुन बमोजिम बनाइएको बैङ्क वा वित्तीय संस्थाको प्रबन्धपत्र सम्झनु पर्छ ।

(व) “प्राथमिक पूँजी” भन्नाले बैङ्क वा वित्तीय संस्थाको चुक्ता पूँजी, शेयर प्रिमियम, फिर्ता नहुने अग्राधिकार शेयर, साधारण जगेडा कोष र सञ्चित नाफा–नोक्सान शीर्षकमा रहेको रकम सम्झनु पर्छ र सो शब्दले राष्ट्र बैङ्कले समय समयमा प्राथमिक पूँजी भनी तोकिदिएको अन्य शीर्षकमा रहेको कोष वा रकम समेतलाई जनाउँछ ।

(श) “प्राप्त गर्ने संस्था” भन्नाले यस ऐन बमोजिम इजाजतपत्र प्राप्त संस्थालाई आफूमा समाहित गर्ने मूल बैङ्क वा वित्तीय संस्था सम्झनु पर्छ ।

(ष) “प्राप्ति गर्ने (एक्वीजिसन)” भन्नाले एउटा इजाजतपत्र प्राप्त संस्थाले अर्को इजाजतपत्र प्राप्त संस्थाको सम्पूर्ण सम्पत्ति तथा सम्भावित दायित्वको हरहिसाब गरी इजाजतपत्र प्राप्त संस्थाको कानुनी हैसियत समाप्त हुनेगरी आफूमा समाहित गर्ने कार्य सम्झनु पर्छ र सो शब्दले लक्षित संस्थाले प्राप्त गर्ने संस्थामा विलय हुनु पूर्व गरेका सम्पूर्ण करारीय दायित्व समेत स्वीकार गर्ने कार्य समेतलाई जनाउँछ ।

(स) “बचत खाता” भन्नाले ग्राहकले बैङ्क वा वित्तीय संस्थामा बचतको निमित्त राखेको रकमको हरहिसाब लेखिएको खाता सम्झनु पर्छ ।

(ह) “बैङ्क” भन्नाले दफा ४९ को उपदफा (१) बमोजिमको बैङ्किङ्ग तथा वित्तीय कारोबार गर्न संस्थापना भएको संगठित संस्था सम्झनु पर्छ र सो शब्दले नेपालमा रहेको विदेशी बैङ्कको शाखा कार्यालय, नेपालमा स्थापित बैङ्कले नेपाल बाहिर खोलेको शाखा कार्यालय तथा दफा ४९को उपदफा (५) बमोजिम कार्य गर्ने पूर्वाधार विकास बैङ्क र सो को शाखा कार्यालय समेतलाई जनाउँछ ।

(क्ष) “बैङ्किङ्ग तथा वित्तीय कारोबार” भन्नाले दफा ४९ बमोजिमको बैङ्किङ्ग तथा वित्तीय कारोबार सम्झनु पर्छ ।

(त्र) “बोनस शेयर” भन्नाले बैङ्क वा वित्तीय संस्थाको मुनाफाबाट भएको बचत वा अन्य कोषलाई पूँजीकरण गरी शेयरधनीलाई अतिरिक्त शेयरको रूपमा जारी गरिएको शेयर सम्झनु पर्छ र सो शब्दले बचत वा अन्य कोषलाई पूँजीकरण गरी शेयरको चुक्ता रकम वृद्धि गरेको अवस्था समेतलाई जनाउँछ ।

(ज्ञ) “मुद्दती खाता” भन्नाले ग्राहकले बैङ्क वा वित्तीय संस्थामा निश्चित अवधिसम्म सामान्यतया निक्षेप झिक्न नपाउने गरी जम्मा गरी राखेको रकमको हरहिसाब लेखिएको आवधिक खाता सम्झनु पर्छ ।

(कक) “राष्ट्र बैङ्क ऐन” भन्नाले नेपाल राष्ट्र बैङ्क ऐन, २०५८ सम्झनु पर्छ ।

(कख) “राष्ट्र बैङ्क” भन्नाले नेपाल राष्ट्र बैङ्क सम्झनु पर्छ ।

(कग) “लक्षित संस्था” भन्नाले यस ऐन बमोजिम प्राप्त गर्ने संस्थामा सम्पूर्ण सम्पत्ति तथा दायित्व समेत समाहित हुन जाने इजाजतपत्र प्राप्त संस्था सम्झनु पर्छ ।

(कघ) “लेखापरीक्षण समिति” भन्नाले दफा ६० बमोजिमको लेखापरीक्षण समिति सम्झनु पर्छ ।

(कङ) “लाभांश” भन्नाले बैङ्क वा वित्तीय संस्थाले यस ऐन तथा प्रचलित कानुन बमोजिम दिने नगद लाभांश, अन्तरिम लाभांश वा बोनस शेयर सम्झनु पर्छ ।

(कच) “लिक्विडेटर” भन्नाले बैङ्क वा वित्तीय संस्था खारेजी गर्ने काम कारबाही गर्न अदालतको आदेश वा साहूहरूको सभाबाट पारित प्रस्ताव बमोजिम नियुक्त व्यक्ति सम्झनु पर्छ र सो शब्दले लिक्विडेशनको काम गर्ने कार्यालय समेतलाई जनाउँछ ।

(कछ) “लिजिङ्ग” भन्नाले निश्चित अवधिका लागि चल अचल सम्पत्तिको स्वामित्व इजाजतपत्र प्राप्त संस्थासँगै रहने गरी भोगाधिकार मात्र प्राप्त गरी सो बापत निश्चित समयतालिकामा ग्राहकबाट रकम बुझाउने सम्झौता बमोजिमको कार्य सम्झनु पर्छ ।

(कज) “वासलात बाहिरको कारोबार” भन्नाले बैङ्क वा वित्तीय संस्थाले दायित्व व्यहोर्नु पर्ने सम्भावना भएको प्रतीतपत्र, जमानतपत्र, स्वीकारपत्र, प्रतिबद्धता, विदेशी विनिमय सम्बन्धी स्वाप, अप्सन, अग्रिम कारोबार सम्झनु पर्छ र सो शब्दले राष्ट्र बैङ्कले समय समयमा तोकिदिएका उपकरणको कारोबार समेतलाई जनाउँछ ।

(कझ) “वित्तीय संस्था” भन्नाले दफा ४९ को उपदफा (२), (३) वा (४) बमोजिमको बैङ्किङ्ग तथा वित्तीय कारोबार गर्न संस्थापना भएको संगठित संस्था सम्झनु पर्छ र सो शब्दले विकास बैङ्क, वित्त कम्पनी, लघु वित्त संस्था वा विदेशी वित्तीय संस्थाको नेपालमा रहेको शाखा कार्यालय र नेपालमा स्थापित वित्तीय संस्थाको विदेशमा रहेको शाखा कार्यालय समेतलाई जनाउँछ ।

(कञ) “वित्तीय स्वार्थ” भन्नाले सञ्चालक, एक प्रतिशत वा सोभन्दा बढी शेयर लिएको शेयरधनी वा कार्यकारी प्रमुख वा त्यस्तो व्यक्तिको परिवार वा सञ्चालक मनोनित गर्ने अधिकार पाएको  व्यक्ति, कम्पनी वा संगठित संस्थाले कुनै फर्म, कम्पनी वा संगठित संस्थाको चुक्ता पूँजीको दश प्रतिशत वा सोभन्दा बढी हुने गरी छुट्टाछुट्टै वा संयुक्त रूपमा शेयर खरिद गरेमा त्यस्तो व्यक्ति वा व्यक्तिहरूको दश प्रतिशत वा सो भन्दा बढी शेयर स्वामित्व रहेको संस्थामा रहेको निजहरूको स्वार्थ सम्झनु पर्छ र सो शब्दले राष्ट्र बैङ्कले समय समयमा वित्तीय कारोबारको प्रकृति र अवस्था हेरी वित्तीय स्वार्थ भनी तोकिदिएको स्वार्थ समेतलाई जनाउँछ ।

(कट) “विदेशी बैङ्क वा वित्तीय संस्थाको शाखा” भन्नाले नेपालमा शाखा कार्यालय खोली बैङ्किङ्ग तथा वित्तीय कारोबार गर्न यस ऐन बमोजिम राष्ट्र बैङ्कबाट स्वीकृति प्राप्त कुनै बैङ्क वा वित्तीय संस्थाको शाखा सम्झनु पर्छ ।

(कठ) “विद्युतीय कारोबार” भन्नाले टेलिफोन, टेलेक्स, कम्प्युटर वा म्याग्नेटिक टेप वा त्यस्तै प्रकारका अन्य विद्युतीय उपकरणको माध्यमबाट निक्षेप लिने, भुक्तानी दिने, रकमान्तर गर्ने कारोबार सम्झनु पर्छ र सो शब्दले टर्मिनल, अटोमेटेड टेलर मेसिन र क्यास डिस्पेन्सिङ्ग मेसिनको माध्यमबाट हुने कारोबार, चार्ज कार्ड, डेबिट वा क्रेडिट कार्डबाट हुने कारोबार समेतलाई जनाउँछ ।

(कड) “विवरणपत्र” भन्नाले बैङ्क वा वित्तीय संस्थाले दफा ८ बमोजिम प्रकाशन गर्नु पर्ने विवरणपत्र सम्झनु पर्छ ।

(कढ) “शाखा कार्यालय” भन्नाले बैङ्क वा वित्तीय संस्थाको नेपाल र नेपाल बाहिर रहेको शाखा, उपशाखा, प्रशाखा, इलाका, प्रतिनिधि वा सम्पर्क कार्यालय तथा विदेशी बैङ्क वा वित्तीय संस्थाको नेपालमा रहेको शाखा वा प्रतिनिधि वा सम्पर्क वा अन्य जुनसुकै कार्यालय सम्झनु पर्छ ।

(कण) “शेयर” भन्नाले बैङ्क वा वित्तीय संस्थाको शेयर पूँजीको विभाजित अंश सम्झनु पर्छ ।

(कत) “शेयरधनी” भन्नाले बैङ्क वा वित्तीय संस्थाको शेयरमा स्वामित्व भएको व्यक्ति सम्झनु पर्छ।

(कथ) “सञ्चालक” भन्नाले सञ्चालक समितिको सदस्य सम्झनु पर्छ र सो शब्दले सञ्चालक समितिको अध्यक्ष र वैकल्पिक सञ्चालक समेतलाई जनाउँछ ।

(कद) “सञ्चालक समिति” भन्नाले दफा १४ बमोजिम गठन भएको सञ्चालक समिति सम्झनु पर्छ ‍।

(कध) “संस्थापक” भन्नाले यस ऐन बमोजिम बैङ्क वा वित्तीय संस्था संस्थापना गर्नको लागि प्रबन्धपत्र तथा नियमावलीमा कम्तीमा एक शेयर लिन मन्जुर गरी संस्थापकको हैसियतले हस्ताक्षर गर्ने व्यक्ति सम्झनु पर्छ ।

(कन) “सम्बद्ध व्यक्ति” भन्नाले बैङ्क वा वित्तीय संस्थाको सञ्चालक, पदाधिकारी वा निजको परिवारको उल्लेख्य स्वामित्व रहेको कुनै फर्म, कम्पनी वा संस्था वा त्यस्तो फर्म, कम्पनी वा संस्थामा उल्लेख्य स्वामित्व रहेको कुनै व्यक्ति, फर्म, कम्पनी वा संस्था वा सोमा उल्लेख्य स्वामित्व राख्ने सोको हिताधिकारी सम्झनु पर्छ ।

(कप) “स्वतन्त्र सञ्चालक” भन्नाले दफा १४ को उपदफा (३) बमोजिम स्वतन्त्र सञ्चालकको पदमा नियुक्त व्यक्ति सम्झनु पर्छ ।

(कफ) “स्वेच्छिक खारेजी” भन्नाले परिच्छेद-११ बमोजिम बैङ्क वा वित्तीय संस्थाको स्वेच्छिक खारेजी  हुने अवस्था सम्झनु पर्छ ।

(कब) “साहू” भन्नाले बैङ्क वा वित्तीय संस्थाले तिर्नु बुझाउनु पर्ने व्यक्ति वा संगठित संस्था सम्झनु पर्छ र सो शब्दले खारेजीको प्रयोजनका लागि निक्षेपकर्ता तथा डिबेञ्चर होल्डरलाई समेत जनाउँछ ।

(कभ) “हाइपोथिकेसन कर्जा” भन्नाले मालवस्तु स्टकको भोगाधिकार सम्बन्धित ऋणीमै कायम राखी सोको धितोमा बैङ्क वा वित्तीय संस्था र ऋणीबीच सम्झौता भई प्रवाह गरिएको कर्जा सम्झनु पर्छ ।

Share this Law

दफा २ः परिभाषा

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.