दफा ३६ : सम्पत्ति तथा दायित्वबाट प्राप्त खुद लाभ

Estimated reading: 0 minutes 430 views

(१) कुनै आय वर्षको लागि कुनै व्यक्तिको व्यवसायको व्यावसायिक सम्पत्ति वा दायित्वको निसर्गबाट प्राप्त खुद लाभको गणना सो आय वर्षमा सो व्यवसायको व्यावसायिक सम्पत्ति वा दायित्वको निसर्गबाट प्राप्त सबै लाभको योगबाट देहायका नोक्सानी कटाई गर्नु पर्नेछ;

(क) व्यवसायको व्यावसायिक सम्पत्ति वा दायित्वको निसर्गबाट सो वर्षमा हुन गएको सबै नोक्सानीको योग,

(ख) सो वर्षमा सो व्यक्तिको अन्य कुनै व्यवसायबाट हुन गएको खुद नोक्सानीमध्ये अन्यत्र कट्टी हुन नसकेको नोक्सानी, र

(ग) कुनै आय वर्षमा सो व्यवसाय वा सो व्यक्तिको अन्य कुनै व्यवसायबाट विगतमा हुन गएको खुद नोक्सानीमध्ये कट्टी हुन नसकेको नोक्सानी ।

(२) कुनै आय वर्षको लागि कुनै व्यक्तिको लगानीको कर लाग्ने गैर व्यावसायिक सम्पत्तिको निसर्गबाट प्राप्त खूद लाभको गणना सो आय वर्षमा सो लगानीको कर लाग्ने गैर व्यावसायिक सम्पत्तिको निसर्गबाट प्राप्त सबै लाभको योगबाट देहायको नोक्सानी कटाई गर्नु पर्नेछ ;

(क) सो लगानीको कर लाग्ने गैर व्यावसायिक सम्पत्तिको निसर्गबाट सो वर्षमा हुन गएको सबै नोक्सानीको योग,

(ख) सो वर्षमा सो व्यक्तिको अन्य कुनै व्यवसाय वा लगानीबाट हुन गएको खूद नोक्सानीमध्ये अन्यत्र कट्टी हुन नसकेको नोक्सानी, र

(ग) विगतको कुनै आय वर्षमा सो व्यक्तिको सो लगानी, कुनै व्यवसाय वा अन्य कुनै लगानीबाट हुन गएको खुद नोक्सानीमध्ये कट्टी हुन नसकेको नोक्सानी ।

(३) विदेशी स्रोतको सम्पत्ति वा दायित्वको निसर्गबाट हुन गएको नोक्सानीका सम्बन्धमा कुनै व्यक्तिले उपदफा (१)  वा (२) बमोजिम कट्टी गर्ने दाबी कुनै विदेशी स्रोतको सम्पत्ति वा दायित्वको निसर्गबाट प्राप्त लाभको हदसम्म मात्र गर्न सक्नेछ ।

(४) कुनै व्यक्तिले उपदफा (१) वा (२) बमोजिम एकभन्दा बढी गणनामा व्यवसाय वा लगानीबाट हुन गएको खुद नोक्सानी उपदफा (१) वा (२) बमोजिम कट्टी गर्न सक्ने भएमा निजले सो नोक्सानी वा नोक्सानीको अंश कट्टी गर्ने प्रयोजनको लागि गणनाहरुको छनौट गर्न सक्नेछ ।

स्पष्टीकरणः यस दफाको प्रयोजनको लागि,

 (१) खूद नोक्सानी भन्नाले, –

(क) कुनै व्यवसायको सम्बन्धमा कुनै आय वर्षमा सो व्यवसायको व्यावसायिक सम्पत्ति वा दायित्वको निसर्गबाट हुन गएको नोक्सानी सो वर्षमा सो व्यवसायको व्यावसायिक सम्पत्ति वा दायित्वको निसर्गबाट प्राप्त लाभभन्दा बढी भए जतिको रकम सम्झनु पर्छ, र

(ख) कुनै लगानीको सम्बन्धमा कुनै आय वर्षमा सो लगानीको कर योग्य गैर व्यावसायिक सम्पत्तिको निसर्गबाट हुन गएको नोक्सानी सो वर्षमा सो लगानीको करयोग्य गैरव्यावसायिक सम्पत्तिको निसर्गबाट प्राप्त लाभभन्दा बढी भए जतिको रकम सम्झनु पर्छ ।

(२) कट्टी हुन नसकेको खुद नोक्सानी भन्नाले कुनै व्यवसाय वा लगानीको , –

(क) कुनै आय वर्षमा सो व्यवसाय वा लगानीको सो वर्षमा भएको खूद नोक्सानीमध्ये उपदफा (१) को खण्ड (ख) वा (ग) वा उपदफा (२) को खण्ड (ख) वा (ग) बमोजिम कट्टी हुन नपाएको नोक्सानी, र

(ख) दफा २० को उपदफा (१) वा (२) को समय सीमाको कारणले खर्च मिनाहा पाउन नसकिने सो व्यवसाय वा लगानीको सो दफा को उपदफा (७) बमोजिमको कुनै कट्टी हुन नसकेको नोक्सानी सम्झनु पर्छ ।

Share this Law

दफा ३६ : सम्पत्ति तथा दायित्वबाट प्राप्त खुद लाभ

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.