दफा ९० : कट्टी गरिएको करको विवरण र भुक्तानी

Estimated reading: 1 minute 371 views

(१) अग्रिम कर कट्टी गर्नु पर्ने प्रत्येक व्यक्तिले प्रत्येक महिना समाप्त भएको पच्चीस दिनभित्र  विभागले तोकेको तरिका र ढाँचामा विभागमा विवरण दाखिला गर्नु पर्नेछ।

(२) उपदफा (१) मा उल्लिखित विवरणसंग अग्रिम कर कट्टी गर्ने व्यक्तिले कट्टी गरिएको कर वा उपदफा (३) बमोजिम कर कट्टी गरेको मानिएको रकम उपदफा (१) मा उल्लिखित म्यादभित्र विभागमा दाखिला गर्नु पर्नेछ ।

(३) अग्रिम कर कट्टी गर्नु पर्ने व्यक्तिले दफा ८७, ८८,८८क. वा ८९ बमोजिम कर कट्टी नगरेको भए पनि सो कर कट्टी हुनु पर्ने समयमा सो कर कट्टी गरिएको मानिनेछ ।

(४) दफा ८७, ८८,८८क. वा ८९ बमोजिम कुनै कर कट्टी गरिएको रकम वा उपदफा (३) बमोजिम कर कट्टी गरेको मानिने रकम सो अग्रिम कर कट्टी गर्ने व्यक्तिले दाखिला गर्नु पर्नेछ र उपदफा (५) लागू हुने अवस्थामा कर कट्टी हुने व्यक्तिले उपदफा (१) मा उल्लिखित अवधि पश्चात पच्चीस दिनभित्र सो कर दाखिला गर्नु पर्नेछ ।

1(४क) उपदफा (४) मा जुनसुकै कुरा लेखिएको भए तापनि ऐनको दफा ४को उपदफा (४क) बमोजिम कारोबारको आधारमा कर तिर्ने व्यक्तिले परिच्छेद-१७ बमोजिम कट्टा गरिएको अग्रिम कर किस्तावन्दी कर तिर्ने समयमा दाखिला गर्नु पर्नेछ।

(५) देहाय बमोजिमको अवस्थामा अग्रिम कर कट्टी हुने व्यक्ति र सो अग्रिम कर कट्टी गर्ने व्यक्ति दुवैजना संयुक्त  रुपमा र छुट्टाछुट्टै रुपमा सो कर रकम विभागमा दाखिला गर्न जिम्मेवार हुनेछन् ;

(क) अग्रिम कर कट्टी गर्ने व्यक्तिले दफा ८७, ८८,८८क. वा ८९ बमोजिम कुनै भुक्तानीबाट कर कट्टी नगरेमा, र

(ख) अग्रिम कर कट्टी गर्ने व्यक्तिले उपदफा (३) बमोजिम कर कट्टी गरेको मानिने रकम उपदफा (४) बमोेजिम कर दाखिला गर्नु पर्ने मितिभित्र विभागमा दाखिला नगरेमा ।

(६) अग्रिम कर कट्टी गर्ने व्यक्तिले दफा ८७, ८८,८८क. वा ८९ बमोजिम कर कट्टी गरी विभागमा दाखिला गरेकोमा सो कर कट्टी भएको भुक्तानीका विषयमा कर कट्टी हुने व्यक्तिद्वारा कुनै दाबी गरिएमा सो रकम कर कट्टी हुने व्यक्तिलाई भुक्तानी गरे सरह मानिनेछ ।

(७) दफा ८७, ८८,८८क. वा ८९ बमोजिम कर कट्टी नगरेको रकम अग्रिम कर कट्टी गर्ने व्यक्तिले विभागलाई दाखिला गरेको भएमा सो दाखिला भएको कर रकम बराबरको रकम सो कर कट्टी हुनुपर्ने व्यक्तिबाट असूल उपर गर्न पाउनेछ ।

(८) कुनै व्यक्तिले उपदफा (१) वा (२) बमोजिम दाखिल गर्नुपर्ने विवरण वा कर दाखिला नगरेको वा कुनै व्यक्तिको सम्बन्धमा उपदफा (५) को अवस्था रहेको कुरामा विभाग विश्वस्त भएमा दाखिल गरेको रकम र दफा ११९ बमोजिमको ब्याज तथा अग्रिम कर कट्टी गर्नुपर्ने भुक्तानीमा कर कट्टी नगरेमा दफा १२० बमोजिम शुल्क समेत दाखिला गर्न आदेश दिन सक्नेछ।

तर त्यस्तो आदेश दिनुभन्दा पहिले उचित कारण खोली सो आदेशका सम्बन्धमा सफाइको सबुत प्रमाण पेश गर्न पन्ध्र दिनको म्याद दिई लिखित सूचना दिनु पर्नेछ।

1 आर्थिक ऐन, २०७५ द्वारा थप।

Share this Law

दफा ९० : कट्टी गरिएको करको विवरण र भुक्तानी

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.