दफा ६७ : आयको स्रोत, नोक्सानी, लाभ र भुक्तानी

Estimated reading: 0 minutes 390 views

(१) कुनै व्यक्तिको कुनै रोजगारी, व्यवसाय वा लगानीबाट भएको आयको स्रोतमा खण्ड (ख) मा उल्लिखित रकमभन्दा खण्ड (क) मा उल्लिखित रकम बढी भएको भए त्यस्तो बढी भएको रकमको हदसम्म नेपालमा रहेको स्रोत मानिनेछ ।

(क) सो आय गणना गर्दा समावेश गरिएका नेपालमा स्रोत भएका रकमहरु,

(ख) सो आय गणना गर्दा कट्टी गरिएका नेपालमा स्रोत भएका रकमहरु ।

(२) कुनै व्यक्तिको कुनै व्यवसाय वा लगानीबाट हुन गएको नोक्सानीमा खण्ड (ख) मा उल्लिखित रकमभन्दा खण्ड (क) मा उल्लिखित रकम बढी भएको भए त्यस्तो बढी भएको रकमको हदसम्म नेपालमा रहेको स्रोत मानिनेछ ।

(क) सो व्यवसाय वा लगानीको आय गणना गर्दा कट्टी गरिने नेपालमा स्रोत भएका रकमहरु,

(ख) सो आय गणना गर्दा समावेश गरिएका नेपालमा स्रोत भएका रकमहरु ।

(३) आय गणना गर्दा समावेश गरिने रकमको देहायको अवस्थामा नेपालमा स्रोत भएको मानिनेछ;

(क) नेपालमा स्रोत रहेका सम्पत्ति वा दायित्वको निसर्गबाट प्राप्त लाभबाट नेपालमा स्रोत रहेको सम्पत्ति वा दायित्वको निसर्गबाट हुन गएको नोक्सानी घटाई हुन आउने दफा ७ को उपदफा (२) को खण्ड (ग) वा दफा ९ को उपदफा (२) को खण्ड (ख) बमोजिमका खुद लाभ,

(ख) नेपालमा रहेका सम्पत्ति वा नेपालमा वहन गर्नुपर्ने दायित्व समावेश भएकोमा दफा ७ को उपदफा (२) को खण्ड (घ) वा दफा ९ को उपदफा (२) को खण्ड (ग) मा उल्लेख भए बमोजिम आय गणना गर्दा समावेश गरिने लाभ र रकमहरु,

(ग) खण्ड (क) र (ख) को अधीनमा रही नेपालमा स्रोत रहेका प्राप्त भुक्तानीहरु ।

(४)  नेपालमा रहेका सम्पत्ति वा नेपालमा वहन गर्नुपर्ने दायित्व समावेश भएकोमा सो सम्पति वा दायित्वको निसर्गबाट हुन गएको लाभ वा नोक्सानीको स्रोत नेपालमा रहेको मानिनेछ ।

(५) आय निर्धारण गर्दा कट्टी गरिएका रकमहरुमा देहायका रकमहरु समावेश भएकोमा त्यस्ता रकमहरुको स्रोत नेपालमा भएको मानिनेछ;

(क) नेपालमा रहेका सम्पत्तिहरुका सम्बन्धमा दफा १५ को उपदफा (१) मा उल्लिखित लागतको खर्च कट्टी गर्न पाउने रकम,

(ख) नेपालमा रहेका सम्पत्तिका सम्बन्धमा दफा १६ को उपदफा (१) बमोजिमका खर्चहरु तथा दफा १९ बमोजिम कट्टी गर्न पाउने हदसम्मका खर्च रकमहरु, र

(ग) खण्ड (क) र (ख) अधीनमा रही नेपालमा स्रोत रहेका भुक्तानीहरु ।

(६) देहायका भुक्तानीहरुको स्रोत नेपालमा रहेको मानिनेछ ः–

(क) बासिन्दा निकायबाट भुक्तानी दिइएको लाभांशहरु,

(ख) बासिन्दा व्यक्तिबाट तिरिएको ब्याज,

(ग) नेपालमा रहेको जमिनबाट प्राप्त प्राकृतिक स्रोतका सम्बन्धमा गरिएको वा त्यस्तो स्रोतको सन्दर्भमा गणना गरिएको प्राकृतिक स्रोत बापतको भुक्तानी,

(घ) नेपालमा रहेका कुनै सम्पत्तिको प्रयोग बापत भुक्तानी गरिएको बहाल रकम,

(ङ)कुनै व्यक्तिले नेपालमा रहेका कुनै सम्पत्तिको प्रयोग कसैलाई गर्न दिए बापत वा सम्पत्ति प्रयोग गर्न अधिकार वा त्यस्तो सम्पत्ति प्रयोग नगर्ने बन्देज माने बापत प्राप्त गरेको रोयल्टी,

(च) कुनै व्यक्तिबाट नेपालमा रहेको जोखिमको बीमा सम्बन्धमा भुक्तानी गरिएको साधारण बीमा बापतको रकम र सो व्यक्तिलाई साधारण बीमा बापत बुझाइएको प्रिमियम,

(छ) कुनै व्यक्तिले अन्तर चलान (ट्रान्ससिपमेन्ट) गरेको परिणामस्वरुप बाहेक नेपालमा स्थल , सामुद्रिक वा हवाई यातायात वा चार्टर सेवा व्यवसाय सञ्चालन गरी देहाय बमोजिम प्राप्त गरेको भुक्तानी;

(१) प्रस्थान गर्ने यात्रुहरुको ओसार पसार गर्ने , वा

(२) डाँक, पशुपंक्षी वा अन्य प्रत्यक्ष चल सम्पत्ति चलान गर्ने ।

(ज) तार, रेडियो, अप्टिकल फाईबर वा भू–उपग्रह जस्ता सञ्चारको माध्यमबाट खबर वा सूचना सम्प्रेषण गर्ने व्यवसाय सञ्चालन गर्ने व्यक्तिले त्यस्ता खबर वा सूचना नेपालमा उत्पत्ति भएको वा नभएको जे भएपनि नेपालमा स्थापित संयन्त्रहरुबाट खबर वा सूचनाको सम्प्रेषणका सम्बन्धमा सो व्यक्तिले प्राप्त गरेको भुक्तानी,

(झ) रोजगार गर्न वा सेवा प्रदान गर्न वा सो कार्यहरुमा बन्देज माने बापत खण्ड (छ) वा (ज) मा उल्लेख नगरिएका किसिमका सेवा शुल्क लगायतका देहायका अवस्थाका भुक्तानीहरु;

(१) भुक्तानीको स्थान जहाँसुकै भएपनि नेपालमा सो कार्यहरु भएमा , वा

(२) रोजकार जहाँसुकै भए पनि नेपाल सरकारले भुक्तानी दिने भएमा।

(ञ) बासिन्दा व्यक्तिबाट भुक्तानी गरिएका खण्ड (झ) भित्र नपर्ने वार्षिक वृत्तिको रकम, लगानी बीमा बापतको रकम र अवकाश भुक्तानीको रकम तथा त्यस्तो रकमहरु सुनिश्चित गर्न बासिन्दा व्यक्तिलाई दिएको कुनै प्रिमियम वा अन्य भुक्तानी,

(ट) नेपालमा रहेको सम्पत्तिबाट सञ्चालित व्यवसाय वा लगानीका सम्बन्धमा प्राप्त गरिएका उपहारहरु, र

(ठ) माथि खण्ड (क), (ख), (ग), (घ), (ङ), (च), (छ), (ज), (झ), (ञ) र (ट) मा उल्लेख भए बाहेकका देहायका भुक्तानीहरु;

(१) नेपालमा रहेको सम्पत्तिको निसर्गको सम्बनधमा वा नेपालमा वहन गर्नु पर्ने दायित्व प्राप्त गर्ने सम्बन्धमा गरिएका भुक्तानीहरु, वा

(२) नेपालमा सञ्चालित क्रियाकलापका सम्बन्धमा गरिएका भुक्तानीहरु ।

(७) माथिका उपदफाहरुमा लेखिए बमोजिम नेपालमा स्रोत भएका मानिने बाहेक कुनै आय, नोक्सानी, रकम, लाभ वा भुक्तानीलाई विदेशी स्रोत भएको मानिनेछ र त्यस्तो आय, नोक्सानी, रकम, लाभ वा भुक्तानीको स्रोत कुन विदेशी मुलुकमा रहेको छ भन्ने कुरा यकीन गर्ने प्रयोजनका लागि यस ऐनमा नेपाल भनी उल्लेख भएका सन्दर्भहरु कुनै खास विदेशी मुलुकको हकमा उल्लेख भएको सन्दर्भ सरह मानी लागू हुनेछन् ।

स्पष्टीकरणः यस दफाको प्रयोजनको लागि,–

(क) “नेपालमा रहेको सम्पत्ति” भन्नाले नेपालमा रहेका जग्गा जमिन वा भवनहरु तथा बासिन्दा व्यक्तिको कुनै विदेशी राष्ट्रमा रहेका जग्गा जमिन वा भवन बाहेकका सम्पत्ति वा सो व्यक्ति दफा ६९ बमोजिम नियन्त्रित विदेशी निकायसँग सम्बद्ध रहेमा सो निकायमा रहेको निजको हित समेत सम्झनु पर्छ ।

(ख) “नेपालमा बहन गर्नु पर्ने दायित्व” भन्नाले बासिन्दा व्यक्तिको दायित्व सम्झनु पर्छ।

Share this Law

दफा ६७ : आयको स्रोत, नोक्सानी, लाभ र भुक्तानी

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.