दफा ३२ : वार्षिक वृत्ति, किस्ताबन्दी बिक्री र वित्तीय पट्टा अन्तर्गतका भुक्तानीको चारित्रीकरण

Estimated reading: 0 minutes 390 views

(१) वार्षिक वृत्ति वा किस्ताबन्दी बिक्री अन्तर्गत सम्पत्ति प्राप्त गर्ने व्यक्तिबाट वा वित्तीय पट्टा अन्तर्गत कुनै सम्पत्तिको प्रयोग बापत कुनै व्यक्तिलाई गरिएको भुक्तानीलाई यस दफा बमोजिम ऋण दाबी अन्तर्गत ब्याज र पूँजी फिर्ता सरह व्यवहार गर्नु पर्नेछ ।

(२) उपदफा (१) बमोजिमका सबै भुक्तानीहरुलाई एकमुष्ट गणना गरी सोको कुल योगलाई देहाय बमोजिम दुई भागमा विभाजन गर्नु पर्नेछ;

(क) आवश्यकता अनुसार वार्षिक वृत्ति बापतका सबै भुक्तानी वा कुनै सम्पत्ति किस्ताबन्दी बिक्री गर्दा वा पट्टामा दिँदाको समयमा सो सम्पत्तिको बजार मूल्य बराबर हुने पूँजीगत भाग, र

(ख) उपदफा (१) बमोजिमका सबै भुक्तानीहरुको कुल योगबाट पूँजीगत भाग घटाउँदा हुन आउने ब्याज भाग ।

(३) उपदफा (२) बमोजिम वार्षिक वृत्ति, किस्ताबन्दी बिक्री वा वित्तीय पट्टा दिँदाको समयमा नै किस्ताबन्दी निर्धारण गर्दा स्पष्ट रुपमा पूँजीको भाग र ब्याजको भाग छुट्याई कुल भुक्तानी तालिका उपलब्ध गराउनु पर्नेछ । सो बमोजिमको तालिका उपलब्ध गराउन नसक्नेले ब्याज र पूँजीगत भागहरुलाई वार्षिक वृत्ति, किस्ताबन्दी बिक्री वा वित्तीय पट्टालाई छ\छ महिनामा जोड्दै लगिने ब्याजसहितको मिश्रित ऋणसरह मानी उपदफा (१) बमोजिमका भुक्तानीहरुमा विभाजन गर्नु पर्नेछ ।

(४) मिश्रित ऋण मानी उपदफा (१) बमोजिम गरिने भुक्तानीको ऋणको अवधिभर ब्याजको दर एउटै हुने गरी प्रत्येक भुक्तानीको समयमा बुझाउनु बाँकी सावाँ (पूँजी) मा ब्याजको अंश हिसाब गरी ऋणीले आंशिक रुपमा सावाँ र आंशिक रुपमा ब्याजको भुक्तानी गर्नु पर्नेछ ।

(५) यस दफा बमोजिम वित्तीय पट्टा अन्तर्गत पट्टा गर्दा देहायका शर्त पूरा गर्नु पर्नेछ;

(क) पट्टा सम्झौतामा पट्टाको बहाली अवधि सकिएपछि स्वामित्वको हस्तान्तरण गरिने वा पट्टा लिने व्यक्तिले पट्टाको अवधि समाप्त भएपछि निश्चित वा पूर्वानुमानित मूल्यमा सो सम्पत्ति खरिद गर्न पाउने विकल्पको व्यवस्था भएको,

(ख) पट्टाको अवधि सो सम्पत्तिको उपयोगी आयुको पचहत्तर प्रतिशतभन्दा बढी भएको,

(ग) पट्टाको अवधि समाप्त भएपछि सो सम्पत्तिको अनुमानित बजार मूल्य पट्टाको प्रारम्भमा रहेको सो सम्पत्तिको बजार मूल्यको बीस प्रतिशतभन्दा कम भएको,

(घ) सम्पत्तिको उपयोगी आयुको अन्तिम पच्चीस प्रतिशत आयुभन्दा अगावै प्रारम्भ हुने पट्टाको हकमा न्यूनतम पट्टा भुक्तानीको वर्तमान मूल्य पट्टाको अवधि प्रारम्भ हुँदाको समयमा सो सम्पत्तिको बजार मूल्यको नब्बे प्रतिशत बराबर वा सोभन्दा बढी भएको, वा

(ङ) पट्टा लिने व्यक्तिको लागि विशेष किसिमले तयार गरिएको सम्पत्ति र पट्टाको अवधि समाप्त भएपछि सो सम्पत्ति पट्टा लिने व्यक्तिलाई बाहेक अन्य कुनै व्यक्तिलाई व्यवहारिक प्रयोग नहुने भएको ।

(६) उपदफा (१) बमोजिमको प्रत्येक भुक्तानीलाई उपदफा (३) बमोजिम दुई भागहरुमा विभाजन गरिनेछ र ऋण दाबी अन्तर्गत ब्याज भागलाई बुझाएको वा बुझाउने ब्याजको रुपमा र पूँजीगत भागलाई पूँजीको फिर्ताको रुपमा व्यवहार गर्नु पर्नेछ ।

(७) वित्तीय पट्टा अन्तर्गत पट्टा लिने व्यक्तिलाई पट्टा गरिएको सम्पत्तिको स्वामित्व भएको व्यक्ति सरह मानिनेछ र पट्टा दिने व्यक्तिको पट्टा लिने व्यक्ति माथि ऋण दाबी सरह मानिनेछ ।

(८) पट्टा भुक्तानीको वर्तमान मूल्यलाई सामान्य ब्याजदर बराबरको छूट (डिस्काउण्ट) दर प्रयोग गरी गणना गर्नु पर्नेछ ।

स्पष्टीकरणः “पट्टाको अवधि” भन्नाले पट्टा लिने व्यक्तिले पट्टा नवीकरण गराउन पाउने अतिरिक्त अवधि समेतलाई सम्झनु पर्छ ।

Share this Law

दफा ३२ : वार्षिक वृत्ति, किस्ताबन्दी बिक्री र वित्तीय पट्टा अन्तर्गतका भुक्तानीको चारित्रीकरण

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.