दफा २१ : कट्टी गर्न नपाउने खर्च

Estimated reading: 1 minute 453 views

(१) यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कुनै व्यक्तिलाई कुनै आय वर्षमा कुनै व्यवसाय, रोजगारी वा लगानीबाट भएको आय गणना गर्ने प्रयोजनको लागि देहायको खर्च वा रकम कट्टी गर्न पाइने छैन ;

(क) घरेलु वा व्यक्तिगत प्रकृतिका खर्च,

(ख) यस ऐन बमोजिम बुझाउनु पर्ने कर र कुनै देशको सरकार तथा सोको कुनै पनि स्थानीय निकायलाई कुनै कानून वा सो कानून अन्तर्गत बनेको कुनै नियम, विनियमको उल्लङ्घन गरे बापत बुझाइएको जरिबाना र यस्तै अन्य शुल्क,

तर प्रदेश सरकार र स्थानीय तहमा तिरेको कर खर्चको रुपमा कट्टी गर्न पाइनेछ।

(ग) दफा १० बमोजिम छुट पाउने रकमहरु प्राप्त गर्न कुनै व्यक्तिबाट खर्च गरिएको हदसम्मका वा अन्तिम रुपमा कर कट्टी गरिएका रकमहरु प्राप्त गर्न गरिएका खर्चहरु,

(घ) उपदफा (२) मा लेखिएको भुक्तानी बापतको खर्च ,

1(घ१) पटके प्रकृतिको तीन हजार रुपैयाँसम्मको ज्याला भुक्तानी बाहेक स्थायी लेखा नम्बर नलिएका कर्मचारी तथा कामदारलाई वितरण गरेको पारिश्रमिक तथा ज्याला खर्च,

1(घ२) स्थायी लेखा नम्बर उल्लेख नभइको दुई हजार रुपैयाँभन्दा बढीको बीजक बापतको खर्च,

तर व्यावसायिक कारोबार नगर्ने प्राकृतिक व्यक्तिसँग सोझै गरिने कृषिजन्यवनजन्य, पशुजन्य र अन्य घरायसी वस्तुको खरिदमा बिक्रेताले स्थायी लेखा नम्बर लिएको रहेनछ भने पनि त्यस्तो खरिद खर्च मान्य हुनेछ।

(ङ) कुनै निकायबाट गरिएको मुनाफाको वितरण, वा

(च) यस परिच्छेद वा परिच्छेद–६, ७, १०, ११, १२, वा १३ बमोजिम प्रदान गरिएका बाहेक खण्ड (क), (ख) , (ग), (घ) र (ङ) मा खर्च कट्टी गर्न नपाउने भनी नभनिएको भए तापनि यस्ता अन्य कुनै रकमहरु ।

(२) कुनै आय वर्षमा बीस लाख रुपैयाँभन्दा बढीको वार्षिक कारोबार गर्ने व्यक्तिले देहायका अवस्थामा बाहेक सो आय वर्षमा एक पटकमा पचास हजार रुपैयाँभन्दा बढीको नगद भुक्तानी गरेमा सो कट्टी गर्न पाउने छैन ;

(क) नेपाल सरकार, संवैधानिक निकाय ,नेपाल सरकारको स्वामित्व भएको संस्थान वा बैङ्क वा वित्तीय संस्थालाई गरिएको भुक्तानी,

(ख) प्राथमिक कृषि पैदावार उत्पादन गर्ने कृषक वा उत्पादकलाई भुक्तानी गर्दा र त्यस्तो पैदावारको प्राथमिक प्रशोधन भइसकेको भए पनि कृषक आफैले प्रशोधन गरी भुक्तानी पाएको भए सो रकम,

(ग) अवकाश योगदान वा अवकाश  भुक्तानी बापतको भुक्तानी,

(घ) बैकिङ्ग सेवाहरु उपलब्ध नभएको स्थानमा गरिएको भुक्तानी,

(ङ) बैकिङ्ग सेवा बन्द भएको दिनमा गरिएको भुक्तानी वा नगदमा नै गर्नु पर्ने कुनै अपरिहार्य बाध्यता भएको भुक्तानी,वा

(च) भुक्तानी पाउने व्यक्तिको बैङ्क खातामा जम्मा गरिएको रकम ।

(३) दफा १४, १५, १६, १७, १८, १९, २० र ७१ का व्यवस्थाहरुको अधीनमा रही पूँजीगत प्रकृतिको खर्च वा विदेशी आयकर बापत कुनै पनि रकम कट्टी गर्न पाइने छैन ।

स्पष्टीकरणः यस दफाको प्रयोजनको लागि,

(क) “घरेलु वा व्यक्तिगत प्रकृतिका खर्च” भन्नाले देहायका खर्चहरु सम्झनु पर्छ;

(१) कुनै प्राकृतिक व्यक्तिको निजी खर्च, ऋण लिएकोमा व्यक्तिगत प्रयोग भएको हदसम्मको ऋण बापतको ब्याज समेत देहायका खर्चहरु;

(क) बासस्थान, खाना, खाजा, मनोरञ्जन वा आमोद प्रमोदका अन्य क्रियाकलापहरु उपलब्ध गराउने समेतका प्राकृतिक व्यक्तिको लागि भएका खर्च,

(ख) व्यवसाय वा लगानीको सिलसिलामा आवत जावत गर्ने बाहेक प्राकृतिक व्यक्तिले घरबाट व्यवसाय वा लगानी सञ्चालन गरिने स्थानमा आवत–जावत गरे बापतको खर्च,

(ग) काम गर्दाको समयबाहेक अन्य समयमा लगाउन उपयुक्त नभएका लुगाबाहेक प्राकृतिक व्यक्तिका लागि लुगाको खरिद गर्न भएको खर्च, र

(घ) शिक्षा वा तालिमको लागि गरिएको खर्च ।

तर कुनै डिग्री वा डिप्लोमा हासिल नहुने किसिमका व्यवसाय वा लगानीसंग प्रत्यक्ष रुपले सम्बन्धित शिक्षाको लागि मात्र गरिएको खर्च कट्टी गर्न पाइनेछ ।

(२) देहायका अवस्थाहरु तथा सोको हदसम्म बाहेक कुनै व्यक्तिले कुनै प्राकृतिक व्यक्तिलाई भुक्तानी गरेको सम्बन्धमा लागेका खर्चहरु र तेस्रो व्यक्तिको लागि गरिएको खर्चहरु ;

(क) प्राकृतिक व्यक्तिको आयको गणना गर्दा सो भुक्तानीलाई समावेश गरिएको भएमा,

(ख) प्राकृतिक व्यक्तिले आफूले पाएको भुक्तानीको बजार मूल्य बराबरको सो व्यक्तिलाई प्रतिफलस्वरुप फिर्ता भुक्तानी गरेको भएमा,

(ग) हिसाब राख्न कठिन हुने वा प्रशासनिक रुपले अव्यावहारिक हुने तोकिए बमोजिमका सानातिना रकमको भुक्तानी भएमा ।

(ख) “बैकिङ्ग सेवा उपलब्ध स्थान” भन्नाले कुनै स्थान विशेषको दश किलोमिटर क्षेत्र भित्र बैकिङ्ग सेवा उपलब्ध भएकोमा सो स्थानलाई बैकिङ्ग सेवा उपलब्ध स्थान सम्झनु पर्छ  ।

(ग) “नगद भुक्तानी” भन्नाले बैङ्क वा वित्तीय संस्था मार्फत्  प्रतितपत्र, एकाउण्ड पेयी चेक, ड्राफ्ट, धनादेश, टेलिग्राफिक ट्रान्सफर, मनी ट्रान्सफर (हुण्डी) द्धारा बैंक खातामा जम्मा हुने गरी गरिएको भुक्तानी नेपाल राष्ट्र बैंकबाट सवीकृति प्राप्त डिजिटल वालेटको माध्यमबाट हुने भक्तानी र बैङ्क वा वित्तीय संस्थाबीच अन्य कुनै किसिमबाट गरिएको स्थानान्तरण बाहेकका भुक्तानी सम्झनु पर्छ ।

(घ) “पूँजीगत प्रकृतिको खर्च” भन्नाले देहाय बमोजिमका खर्च सम्झनु पर्छ;

(१) प्राकृतिक स्रोतको सम्भाव्यता अध्ययन, अन्वेषण र विकासका सम्बन्धमा लागेको खर्च,

(२) बाह्र महिनाभन्दा लाभप्रद आयु भएको कुनै सम्पत्ति प्राप्त गर्दा लागेको खर्च, वा

(३) दायित्वको निसर्ग गर्दा लागेको खर्च ।

 

1 आर्थिक ऐन, २०७६ द्वारा संशोधित।

Share this Law

दफा २१ : कट्टी गर्न नपाउने खर्च

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.