दफा ४ः दामासाहीको कारबाही गराउन निवेदन दिनु पर्ने

Estimated reading: 0 minutes 342 views

१) कुनै कम्पनी उपर दामासाही सम्बन्धी कारबाही गर्नु परेमा सो सम्बन्धी कारबाही अगाडि बढाउनको लागि देहायको कुनै व्यक्तिले अदालत समक्ष तोकिएको ढाँचामा निवेदन दिन सक्नेछ;

(क) दामासाहीमा परेको कम्पनी आफै,

(ख) दामासाहीमा परेको कम्पनीका कुल साहूमध्ये कम्तीमा दश प्रतिशत ऋण दिने साहू वा साहूहरू,

(ग) कम्पनीका कुल शेयरधनीमध्ये कम्तीमा पाँच प्रतिशत शेयर लिएका शेयरधनी वा शेयरधनीहरु,

(घ) कम्पनीका कुल डिबेञ्चरधनीमध्ये कम्तीमा पाँच प्रतिशत डिबेञ्चर लिएका डिबेञ्चरधनी वा डिबेञ्चरधनीहरु,

(ङ) कम्पनी खारेज गर्नको लागि नियुक्त भएको लिक्विडेटर, वा

(च) दफा द मा उल्लिखित कुनै खास किसिमको व्यवसाय सञ्चालन गर्ने कम्पनीको हकमा त्यस्तो व्यवसायको प्रशासन र नियमन गर्ने अधिकारप्राप्त निकाय ।

२) उपदफा (१) बमोजिम निवेदन दिनका लागि दफा ५ बमोजिमको ऋण चुक्ता गर्न जारी गरेको सूचना रीतपूर्वक सम्बन्धित कम्पनीलाई बुझाएको पैंतीस दिन पुरा भएको हुनु पर्नेछ।

३) उपदफा (१) बमोजिम निवेदन दिँदा सो निवेदन दिनु पर्ने कारण, कम्पनीको वित्तीय स्थितिको संक्षिप्त विवरण र कम्पनी दामसाहीमा परेको व्यहोरा पुष्टि हुने प्रमाण संलग्न गरी त्यस्तो निवेदन दिँदा देहायको विवरण समेत दाखिला गर्नु पर्नेछ;

(क) दामासाहीमा परेको कम्पनी आफैले त्यस्तो निवेदन दिएमा ;

(१) कम्पनीको सञ्चालक समितिले कम्पनी दामासाहीमा परेको व्यहोरा उल्लेख गरी प्रमाणित गरिदिएको लिखत,

(२) यस ऐन बमोजिम दामासाही सम्बन्धी कारबाही गर्न कम्पनीको सञ्चालक समितिले पारित गरेको विशेष प्रस्ताव, र

(३) दामासाही सम्बन्धी कारबाही गर्न निवेदन दिँदाका बखत उपलब्ध कम्पनीको वासलात र लेखापरीक्षकको प्रतिवेदनको प्रमाणित प्रतिलिपि ।

(ख) दामासाहीमा परेको कम्पनीका साहूले निवेदन गरेमा;

(१) साहूले कम्पनीबाट भुक्तानी हुन बाँकी भनी दाबी गरेको ऋणको साँवा तथा व्याज रकमको विवरण,

(२) साहूले दाबी गरेको ऋण कम्पनीले लिएको मिति तथा सो ऋण लिनु पर्ने कारण सहितको व्यहोरा,

(३) उपखण्ड (१) बमोजिमको रकम बाँकी रहेको र त्यस्तो रकम तत्काल भुक्तानीयोग्य भएको विवरण,

(४) जुन कम्पनीका सम्बन्धमा दामासाहीको कारबाही गर्न माग गरिएको हो सो कम्पनी दामासाहीमा परेको कुरा साहूलाई विश्वास भएको र त्यसरी विश्वास गर्नु पर्ने कारण र आधार।

(ग) लिक्विडेटरले निवेदन गरेमा;

(१) जुन कम्पनीका सम्बन्धमा दामासाहीको कारबाही गर्न निवेदन गरेको हो सो कम्पनीले कम्पनी खारेज गर्ने प्रयोजनको लागि लिक्विडेटर नियुक्त गरेको प्रमाण, र

(२) जुन कम्पनीका सम्बन्धमा दामासाहीको कारबाहीको लागि निवेदन गरिएको हो सो कम्पनी दामासाहीमा परेको सम्बन्धमा लिक्विडेटरले व्यक्त गरेको राय र सोको आधार ।

४) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि उपदफा (१) को खण्ड (ग) वा (घ) बमोजिम कम्पनीको शेयरधनी वा डिबेञ्चरधनीले दामासाही सम्बन्धी कारबाहीको लागि निवेदन दिँदा अदालतको अनुमति लिनु पर्नेछ र त्यस्तो अनुमति पाएमा अदालतले तोकेको शर्तमा निजले निवेदन गर्न सक्नेछ।

५) कम्पनी दामासाहीमा परेको कुरा प्रमाणित हुने पर्याप्त प्रमाण दाखिला नगरेसम्म अदालतले उपदफा (४) बमोजिमको अनुमति दिने छैन।

Share this Law

दफा ४ः दामासाहीको कारबाही गराउन निवेदन दिनु पर्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.