दफा २ः परिभाषा

Estimated reading: 1 minute 432 views

विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा,

(क) “कम्पनी” भन्नाले प्रचलित कम्पनी कानुन बमोजिम संस्थापना भएको कम्पनी सम्झनु पर्छ र सो शब्दले नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकिदिएको सीमित दायित्व भएको अन्य सङ्गठित संस्था समेतलाई जनाउँछ।

(ख) “दामासाहीमा परेको” भन्नाले साहूलाई भुक्तानी गर्न बाँकी रहेको वा भविष्यमा भुक्तानी गर्नु पर्ने कुनै वा सबै ऋण तिर्न नसकेको वा नसक्ने देखिएको वा कम्पनीको दायित्वको रकम जायजेथाको मूल्यभन्दा बढी भएको अवस्था सम्झनु पर्छ।

(ग) “आर्थिक कठीनाइ” भन्नाले यस ऐन बमोजिम पुनर्संरचना नगरेमा तत्काल वा निकट भविष्यमा नै कम्पनी दामासाहीमा पर्ने वा पर्न सक्ने अवस्था सम्झनु पर्छ।

(घ) “कम्पनीको खारेजी” भन्नाले यस ऐन बमोजिमको प्रक्रिया पूरा गरी कम्पनीको दर्ता खारेज भएको अवस्था सम्झनु पर्छ।

(ङ) “पुनर्संरचना” भन्नाले आर्थिक कठीनाइमा परी दामासाहीमा पर्न सक्ने कम्पनीलाई पुनर्संरचना गर्न यस ऐन बमोजिम अपनाइने प्रक्रिया सम्झनु पर्छ।

(च) “पुनर्संरचना कार्यक्रम” भन्नाले परिच्छेद-४ मा व्यवस्था भए बमोजिमको पुनर्संरचना कार्यक्रम सम्झनु पर्छ।

(छ) “अदालत” भन्नाले नेपाल सरकारले सर्वोच्च अदालतको परामर्श लिई नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकिदिएको अदालतको वाणिज्य इजलास सम्झनु पर्छ।

(ज) “ऋण” भन्नाले तत्काल भुक्तानी गर्न बाँकी रहेको वा भुक्तानी गर्नु पर्ने गरी दाबी गरेको निश्चित रकम सम्झनु पर्छ।

(झ) “साहू” भन्नाले दामासाहीमा परेको वा पर्न सक्ने कम्पनीबाट भुक्तानी प्राप्त गर्ने अधिकार भएको व्यक्ति सम्झनु पर्छ र सो शब्दले सुरक्षित साहू समेतलाई जनाउँछ।

(ञ) “सुरक्षण” भन्नाले ऋणको धितो बन्धक वा अन्य कुनै किसिमको सुरक्षण बापत राखेको कुनै वा सबै सम्पत्ति सम्झनु पर्छ।

(ट) “सुरक्षण साहू” भन्नाले सुरक्षण लिई कम्पनीलाई ऋण दिने साहू सम्झनु पर्छ।

(ठ) “खारेजीमा परेको कम्पनी” भन्नाले यस ऐन बमोजिम कम्पनीको खारेजीको लागि आदेश जारी भएको अवस्था सम्झनु पर्छ।

(ड) “कार्यालय” भन्नाले दफा ६५ बमोजिम स्थापना भएको दामासाही प्रशासन कार्यालय सम्झनु पर्छ।

(ढ) “दामासाही सम्बन्धी व्यवसायी” भन्नाले दामासाही सम्बन्धी व्यवसाय गर्न दफा ६४ बमोजिम इजाजतपत्र प्राप्त गरेको व्यक्ति सम्झनु पर्छ।

(ण) “जाँचबुझ अधिकारी” भन्नाले दफा १० बमोजिम नियुक्त जाँचबुझ अधिकारी सम्झनु पर्छ।

(त) “पुनर्संरचना व्यवस्थापक” भन्नाले कम्पनीको पुनर्संरचना कार्यक्रमको सञ्चालन तथा व्यवस्थापन गन दफा २२ को उपदफा (२) बमोजिम अदालतको आदेशले नियुक्त भएको व्यक्ति सम्झनु पर्छ।

(थ) “लिक्विडेटर” भन्नाले कम्पनी खारेजी गने काम कारबाही गर्न अदालतको आदेश वा साहूहरूको सभाबाट पारित प्रस्ताव बमोजिम नियुक्त व्यक्ति सम्झनु पर्छ र सो शब्दले कार्यालय समेतलाई जनाउँछ।

(द) “सम्बद्ध व्यक्ति” भन्नाले दामासाहीमा परेको कम्पनीको सञ्चालक, पदाधिकारी, शेयरधनी वा त्यस्तो कम्पनीको मूल कम्पनी वा सहायक कम्पनीको सञ्चालक, पदाधिकारी वा शेयरधनी सम्झनु पर्छ र सो शब्दले सो कम्पनी वा त्यस्तो कम्पनीको मूल कम्पनी वा सहायक कम्पनीको सञ्चालक, पदाधिकारी वा शेयरधनीको पति, पत्नी, छोरा, छोरी, धर्मपुत्र, धर्मपुत्री, बाबु, आमा, सौतेनी आमा, दाजु, भाइ, दिदी, बहिनी समेतलाई जनाउँछ।

(ध) “तोकिएको” वा “तोकिए बमोजिम” भन्नाले यस ऐन अन्तर्गत बनेको नियममा तोकिएको वा तोकिए बमोजिम सम्झनु पर्छ।

Share this Law

दफा २ः परिभाषा

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.