परिच्छेद-४ औद्योगिक तथा लगानी प्रवर्द्धन बोर्ड सम्बन्धी व्यवस्था

दफा २१ः बोर्डको काम कर्तव्य र अधिकार

Estimated reading: 1 minute 10 views

१) यस ऐनमा अन्यत्र तोकिएका काम, कर्तव्य र अधिकारका अतिरिक्त बोर्डको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ:-

(क) औद्योगिक प्रवर्द्धन, लगानीको संरक्षण, अभिवृद्धि तथा औद्योगिकीकरण सम्बन्धी नीति तर्जुमा तथा नीतिगत निर्णय गर्न नेपाल सरकारसमक्ष सिफारिस गर्ने,

(ख) मुलुकको समग्र औद्योगिकीकरण सम्बन्धी नीतिगत, कानूनी, संस्थागत र प्रक्रियागत संरचना एवं कार्य प्रणालीको नियमित समीक्षा गरी त्यसमा आवश्यक सुधार गर्न नेपाल सरकार समक्ष सिफारिस गर्ने,

(ग) प्रचलित कानूनको अधीनमा रही विदेशी लगानी र प्रबिधि हस्तान्तरण सम्बन्धी आवश्यक नीतिगत निर्णय गर्न नेपाल सरकारसमक्ष सिफारिस गर्ने, 

(घ) औद्योगिक प्रदूषण नियन्त्रण सम्बन्धी नीति तर्जुमा तथा नीतिगत निर्णय गर्न नेपाल सरकारसमक्ष सिफारिस गर्ने,

(ङ) मुलुकको औद्योगिक विकासको स्थितिको समग्र मूल्याङ्कन तथा समीक्षा गरी आवश्यक कदम चाल्न नेपाल सरकार समक्ष सुझाव तथा सिफारिस गर्ने,

(च) उद्योगीको गुनासो सुनुवाइ गरी समस्या समाधान गर्ने वा गराउने तथा सम्बन्धित निकायलाई मार्गदर्शन गर्ने,

(छ) उद्योगको स्तर र वर्गीकरण तथा प्रकृतिमा थपघट वा परिवर्तन गर्नु पर्ने भएमा नेपाल सरकार समक्ष सिफारिस गर्ने,

(ज) औद्योगिक क्षेत्रमा स्वदेशी तथा विदेशी लगानी अभिवृद्धि गर्ने सन्दर्भमा आवश्यकता अनुसार अध्ययन, अनुसन्धान तथा सर्वेक्षण गर्ने गराउने,

(झ) सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रभावकारी, समन्वयात्मक र सामञ्जस्यपूर्ण सहकार्यमा प्रतिस्पर्धात्मक औद्योगिक वातावरण निर्माण गर्न आवश्यक कार्य गर्ने गराउने,

(ञ) औद्योगिक व्यवसाय विकास र विस्तारका लागि प्रदेश तथा स्थानीय तहहरुबीच समन्वय गर्नु पर्ने विषयमा नीतिगत मार्गदर्शन दिने र समन्वयको आवश्यक व्यवस्था मिलाउने,

(ट) उद्योग सम्बन्धी कुनै कानूनको कार्यान्वयनमा कुनै बाधा, अड्काउ वा द्विविधा उत्पन्न भएमा त्यसको समाधानको लागि सहजीकरण गर्ने,

(ठ) एकल बिन्दु सेवा केन्द्रको सञ्चालन सम्बन्धमा समन्वय वा सहजीकरण गर्ने,

(ड) तोकिए बमोजिमका अन्य कार्य गर्ने वा गराउने ।

२) बोर्डले आफ्नो काम, कर्तव्य र अधिकारमध्ये केही अधिकार नेपाल सरकारको कुनै निकाय वा अधिकृतलाई प्रत्यायोजन गर्न सक्नेछ।

३) बोर्डले आफूले गरेको कामको वार्षिक प्रतिवेदन आर्थिक वर्ष समाप्त भएको मितिले तीस दिनभित्र मन्त्रालय समक्ष पेश गर्नु पर्नेछ। मन्त्रालयले यस्तो प्रतिवेदन आफ्नो वेबसाइटमा प्रकाशन गर्नेछ।

Share this Law

दफा २१ः बोर्डको काम कर्तव्य र अधिकार

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.