परिच्छेद ८ नेपाल सरकारसँगको सम्बन्ध

दफा ७५: नेपाल सरकारलाई जाने कर्जा र सरकारी ऋणपत्रको खरिद

Estimated reading: 1 minute 53 views

१) यस ऐनमा अन्यथा व्यवस्था गरिएकोमा बाहेक बैङ्कले नेपाल सरकार वा नेपाल सरकारको पूर्ण, अधिकांश वा आंशिक स्वामित्व भएको संस्थालाई कुनै प्रकारको वित्तीय सहयोग प्रदान गर्ने छैन ।

२) यस दफाको अधीनमा रही बैङ्कले एक सय असी दिनभित्र चुक्ता हुने गरी नेपाल सरकारलाई कर्जा प्रदान गर्न सक्नेछ।

३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि नेपालले कुनै अन्तर्राष्ट्रिय संस्थाको सदस्य हुँदा तिर्नुपर्ने दस्तुर वा सोसँग सम्बन्धित भुक्तानीको लागि लामो अवधिको विशेष कर्जा बैङ्कले नेपाल सरकारलाई प्रदान गर्न सक्नेछ।

४) बैङ्कले नेपाल सरकार वा नेपाल सरकारको पूर्ण, अधिकांश वा आंशिक स्वामित्व भएको संस्थालाई प्रदान गर्ने कर्जा नेपाली रुपैयाँमा मात्र भुक्तानी गर्नेछ। यसरी प्रदान गरिएको कर्जाको लागि नेपाल सरकारले सो कर्जा रकम बराबरको विनिमेय ऋणपत्र जारी गरी बैङ्कलाई प्रदान गर्नेछ। त्यस्तो ऋणपत्रको भुक्तानी अवधि कर्जा अवधिलाई खाम्ने र प्रचलित ब्याज दरको हुनु पर्नेछ। यसरी बैङ्कले नेपाल सरकारलाई प्रदान गर्ने सबै कर्जाका सम्बन्धमा बैङ्क र नेपाल सरकारका बीच लिखित सम्झौता हुनेछ। उक्त लिखित सम्झौतामा कर्जाको कुल रकम वा सीमा, त्यसको शर्त, भुक्तानी अवधि, ब्याज दर तथा अन्य दस्तुरको सम्बन्धमा स्पष्ट उल्लेख भएको हुनु पर्नेछ।

स्पष्टीकरणः यस दफाको प्रयोजनको लागि “विनिमेय ऋणपत्र” भन्नाले प्रमिसरी नोटको रुपमा जारी भएको ऋणपत्र सम्झनु पर्छ।

५) बैङ्कले नेपाल सरकारलाई प्रवाह गरेको अधिविकर्ष कुनै पनि समयमा नेपाल सरकारको अघिल्लो आर्थिक वर्षको राजस्व आयको पाँच प्रतिशत भन्दा बढी हुने छैन। यस्तो राजश्व आयको गणना गर्दा ऋण सापटी, आर्थिक अनुदान वा अन्य कुनै पनि किसिमका आर्थिक सहयोग तथा सम्पत्ति बिक्रीबाट भएको आर्जन समावेश हुने छैन।

६) उपदफा (५) बमोजिमको अधिविकर्षको भुक्तानी नेपाल सरकारले एक सय असी दिनभित्र प्रचलित बजार ब्याज दरमा नगद वा बजारयोग्य ऋणपत्र मार्फत गर्नु पर्नेछ ।

७) बैङ्कले नेपाल सरकारबाट खरिद गरी आफ्नो स्वामित्वमा लिएको ऋणपत्रको कुल रकम अघिल्लो आर्थिक वर्षको राजश्व आयको दश प्रतिशत भन्दा बढी हुने छैन।

८) देहायको अवस्थामा बैङ्कले खरिद गरेको नेपाल सरकारद्वारा निष्कासित ऋणपत्रलाई उपदफा (७) बमोजिम नेपाल सरकारलाई प्रदान गरिने ऋणको रुपमा लिइने छैनः-

(क) बैङ्कको मौद्रिक नीति अनुरुप खुल्ला बजार सञ्चालनको लागि दोस्रो बजारबाट खरिद गरेकोमा।

(ख) प्राथमिक निष्कासनको समयमा बैङ्कले बजारलाई उपयुक्त स्तरमा राख्न आवश्यक ठानी साठी दिनभित्रमा बेच्ने गरी खरिद गरेकोमा।

(ग) उपदफा (७) लागू हुनुअघि बैङ्कले नेपाल सरकारबाट खरिद गरी आफ्नो स्वामित्वमा लिएको ऋणपत्रको हकमा।

Share this Law

दफा ७५: नेपाल सरकारलाई जाने कर्जा र सरकारी ऋणपत्रको खरिद

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.