परिच्छेद–६ अनुसन्धान सम्बन्धी व्यवस्था

दफा १५: सम्पत्ति शुद्धीकरण सम्बन्धी कसूरमा समेत अनुसन्धान गर्ने

Estimated reading: 0 minutes 46 views

१) अनुसन्धान अधिकारीले सम्बद्ध कसूरमा अनुसन्धान गर्दा अनुसन्धान गरिएको व्यक्तिले सम्पत्ति शुद्धीकरण सम्बन्धी कसूर गरेको देखेमा सोको जानकारी यथाशीघ्र विभागलाई दिनु पर्नेछ।

तर प्रचलित कानुन बमोजिम सम्बद्ध कसूरमा अनुसन्धान गर्न अधिकारप्राप्त संवैधानिक निकायले यस ऐन बमोजिम सम्पत्ति शुद्धीकरणको अनुसन्धान गर्दा वा दफा १४क. को उपदफा (२) बमोजिम लेखी आएको निकायले सो विषयमा अनुसन्धान गर्दा त्यस्तो जानकारी विभागलाई दिन आवश्यक हुने छैन।

२) उपदफा (१) बमोजिम जानकारी प्राप्त हुन आएमा विभागले त्यस्तो जानकारी प्राप्त भएको मितिले पन्ध्र दिनभित्र दफा १४क. को उपदफा (३) बमोजिमको अवस्था देखिएमा अनुसन्धान टोली गठन गर्न, सम्बद्ध कसूरको अनुसन्धान गर्ने अधिकारीसँग समन्वय गरी सम्पत्ति शुद्धीकरणको कसूरमा अनुसन्धान गर्न विभागको कुनै अधिकृतलाई अनुसन्धान अधिकारी नियुक्त गरी अनुसन्धान गर्न वा सम्बद्ध कसूरको अनुसन्धान गर्ने कार्यालयलाई सम्पत्ति शुद्धीकरण सम्बन्धी कसूरसँग सम्बन्धित कुनै विषयमा थप अनुसन्धान गर्न वा अनुसन्धान प्रभावकारी बनाउनको लागि आवश्यक सुझाव दिन सकनेछ।

३) उपदफा (२) बमोजिम अनुसन्धान टोली गठन गरेकोमा विभागले सोको जानकारी सम्बन्धित अनुसन्धान गर्ने निकायलाई दिनु पर्नेछ।

४) उपदफा (२) बमोजिम अनुसन्धान टोली गठन भएकोमा सो टोलीले दफा १४क. को उपदफा (५) बमोजिमको एकीकृत प्रतिवेदन तयार गर्नु पर्नेछ।

५) उपदफा (४) बमोजिम एकीकृत अनुसन्धान प्रतिवेदन मुद्दा दायर गर्ने प्रयोजनको लागि सम्बद्ध कसूरमा अनुसन्धान गर्ने सम्बन्धित निकायमा पठाउनु पर्नेछ।

६) अन्य मुलुकसँग सहयोग आदानप्रदान वा समन्वय गरी अनुसन्धान गर्नु पर्ने वा गम्भीर प्रकृतिको सम्बद्ध कसूर जोडिएको कसूर बाहेक यस ऐन बमोजिमको अन्य सम्पत्ति शुद्धीकरण सम्बन्धी कसूरको अनुसन्धान सुरु भएको मितिले एक वर्षभित्र पूरा गर्नु पर्नेछ।

Share this Law

दफा १५: सम्पत्ति शुद्धीकरण सम्बन्धी कसूरमा समेत अनुसन्धान गर्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.