दफा ३०: सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी गर्नेलाई सजाय

Estimated reading: 0 minutes 330 views

१) दफा ३ को उपदफा (१) मा उल्लिखित सम्पत्ति शुद्धीकरण सम्बन्धी कसूर गर्ने व्यक्तिलाई बिगोको दोब्बर जरिबाना र कसूरको गाम्भीर्य हेरी दुई वर्षदेखि पन्ध्र वर्षसम्म कैद हुनेछ ।

२) दफा ३ को उपदफा (२) मा उल्लिखित सम्पत्ति शुद्धीकरण सम्बन्धी कसूर मध्ये षडयन्त्र गर्ने व्यक्तिलाई उपदफा (१) बमोजिम र अन्य कसूर गर्ने व्यक्तिलाई उपदफा (१) मा उल्लिखित सजायको आधा सजाय हुनेछ ।

३) दफा ४ को उपदफा (१) मा उल्लिखित आतङ्ककारी कार्यमा वित्तीय लगानी सम्बन्धी कसूर गर्ने व्यक्तिलाई बिगो खुलेकोमा बिगोको पाँच गुणा र बिगो नखुलेकोमा पाँच करोड रुपैयाँसम्म जरिबाना र कसूरको गाम्भीर्य हेरी सात वर्षदेखि बीस वर्षसम्म कैद हुनेछ ।

४) दफा ४ को उपदफा (२), (३) वा (४) मा उल्लिखित आतङ्ककारी कार्यमा वित्तीय लगानी सम्बन्धी कसूर गर्ने व्यक्तिलाई उपदफा (३) मा उल्लिखित सजायको आधा सजाय हुनेछ ।

५) कानुनी व्यक्ति, कानुनी प्रबन्ध वा सोको प्रयोग गरी कुनै व्यक्तिले सम्पत्ति शुद्धीकरण वा आतङ्ककारी कार्यमा वित्तीय लगानी सम्बन्धी कुनै कसूर गरेमा त्यस्तो कसूर गर्ने व्यक्ति, पदाधिकारी वा कर्मचारीलाई उपदफा (१), (२), (३) वा (४) बमोजिम सजाय हुनेछ ।

६) उपदफा (५) बमोजिमको व्यक्ति, पदाधिकारी वा कर्मचारी पहिचान हुन नसकेमा त्यस्तो कसूर हुँदाको बखत प्रमुख भई कामकाज गर्ने पदाधिकारीलाई प्रचलित कानुन बमोजिम कारबाही हुनेछ ।

७) कुनै राष्ट्रसेवक वा सूचक संस्थाको पदाधिकारी वा कर्मचारीले सम्पत्ति शुद्धीकरण वा आतङ्ककारी कार्यमा वित्तीय लगानी सम्बन्धी कुनै कसूर गरेमा त्यस्तो व्यक्तिलाई उपदफा (१), (२), (३) वा (४) मा उल्लिखित सजायमा थप दश प्रतिशत सजाय हुनेछ ।

1७क) यस ऐन अन्तर्गतको कसूर हुन सक्छ वा हुन गइरहेको छ भन्ने जानकारी हुने मनासिब आधार हुँदाहुँदै कसूर हुन नदिनको लागि आफ्नो दायित्व भएको व्यक्तिले त्यस्तो कसूर हुन नदिनको लागि आफ्नो दायित्व निर्वाह नगरी कसूर हुन दिएमा एक वर्षसम्म कैद हुन सक्नेछ।

८) कुनै कानुनी व्यक्ति वा कानुनी प्रबन्धले सम्पत्ति शुद्धीकरण वा आतङ्ककारी कार्यमा वित्तीय लगानी सम्बन्धी कुनै कसूर गरेमा त्यस्तो कानुनी व्यक्ति वा कानुनी प्रबन्धलाई प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भए तापनि कसूरको गाम्भीर्यका आधारमा देहायका कुनै वा सबै सजाय हुनेछ;

(क) उपदफा (१), (२), (३) वा (४) बमोजिम हुन सक्ने जरिबानाको पाँच गुणासम्म जरिबाना गर्ने,

(ख) अवधि तोकी सार्वजनिक खरीदमा निषेध गर्ने,

(ग) अवधि तोकी उत्पादन वा सेवाको खरीद गर्न रोक लगाउने,

2(घ) ………………………

(ङ) इजाजतपत्र वा अनुमतिपत्र खारेज गर्ने, वा

(च) त्यस्तो कानुनी व्यक्तिलाई खारेज गर्ने ।

९) उपदफा (१) देखि (८) सम्म लेखिए बाहेक कसैले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम उल्लङ्घन गरेमा बिगो खुलेकोमा बिगो जफत गरी बिगो बमोजिमको जरिबाना र बिगो नखुलेकोमा दश लाख रुपैयाँसम्म जरिबाना हुनेछ।

1१०) यस ऐन बमोजिमको कसूरमा कुनै व्यक्ति वास्तविक धनी रहेको देखिएमा निजलाई यस दफा बमोजिमको सजाय हुनेछ।

1सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी  केही ऐनलाई संशोधन गर्ने ऐन, २०८० द्वारा थप।

2सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी  केही ऐनलाई संशोधन गर्ने ऐन, २०८० द्वारा झिकिएको।

Share this Law

दफा ३०: सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी गर्नेलाई सजाय

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.