दफा १०: वित्तीय जानकारी इकाईको काम, कर्तव्य र अधिकार

Estimated reading: 0 minutes 587 views

1१) यस ऐनमा अन्यत्र लेखिएको काम, कर्तव्य र अधिकारको अतिरिक्त वित्तीय जानकारी इकाईको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ;

(क) यस ऐन बमोजिम निर्धारण गरिएको सीमा वा सो भन्दा बढीको कारोबारको विवरण प्राप्त गर्ने,

(ख) यस ऐन बमोजिम शङ्कास्पद कारोबार सम्बन्धी प्रतिवेदन प्राप्त गर्ने,

(ग) यस ऐन बमोजिम मुद्रा तथा धारक विनिमेय अधिकारपत्र सम्बन्धी विवरण प्राप्त गर्ने,

(घ) यस ऐन बमोजिम अन्य सूचना, कागजात तथा विवरण प्राप्त गर्ने,

(ङ) शङ्कास्पद कारोबार प्रतिवेदन लगायत यस ऐन बमोजिम प्राप्त अन्य प्रतिवेदन तथा जानकारीको विश्लेषण गर्ने,

(च) खण्ड (ङ) बमोजिम विश्लेषण गर्दा सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी सम्बन्धी कसूर वा अन्य कसूर सम्बन्धी शङ्का लागेमा विश्लेषणको निष्कर्ष 2आफैँ, अनुसन्धान वा अन्य सम्बन्धित निकायको अनुरोधमा त्यस्तो अधिकारी वा निकायमा प्रवाह गर्ने,

(छ) यस ऐन बमोजिमको सूचना दिने दायित्व भएका सूचक संस्था, सम्बद्ध निकाय, नियमनकारी निकाय तथा आफ्ना कर्मचारीलाई आवश्यकता अनुसार तालीमको व्यवस्था गर्ने,

(ज) शङ्कास्पद कारोबारको पहिचान, शङ्कास्पद कारोबार सम्बन्धी प्रतिवेदन तथा जानकारी समेतका सम्बन्धमा सूचक संस्था वा सम्बद्ध निकायलाई आवश्यक पृष्ठपोषण तथा मार्गदर्शन गर्ने,

(झ) सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी सम्बन्धी कसूरको प्रकार, कसूर गर्ने प्रविधि, पद्धति तथा प्रवृत्ति समेतका विवरण संलग्न गरी आफ्नो काम कारबाही सम्बन्धी वार्षिक प्रतिवेदन 3तथा रणनीतिक विश्लेषण प्रतिवेदन राष्ट्र बैङ्क मार्फत नेपाल सरकार समक्ष पेश गर्ने,

(ञ) शङ्कास्पद कारोबार पहिचान, मूल्याङ्कन, प्रतिवेदन प्रणाली तथा सोको प्रभावकारिताका सम्बन्धमा नियमनकारी निकायलाई आवश्यकता अनुसार सूचक संस्थाको निरीक्षण गर्न सहयोग गर्ने वा निरीक्षण सुपरिवेक्षणको प्रतिवेदन अध्ययन गरी पृष्ठपोषण दिने,

(ट) समान प्रकृतिको काम गर्ने विदेशी निकायसँग पारस्पारिकताको आधारमा सहयोग आदान प्रदान सम्बन्धी समझदारी कायम गर्ने, र

(ठ) तोकिए बमोजिमका अन्य कार्यहरू गर्ने ।

२) वित्तीय जानकारी इकाईले समान प्रकृतिको काम गर्ने कुनै मुलुकको निकायसँग आवश्यक सूचना वा सहयोग माग गर्न वा आफैँ वा कुनै मुलुकको समान प्रकृतिको काम गर्ने निकायको अनुरोधमा सूचना दिन वा अन्य सहयोग प्रदान गर्न सक्नेछ ।

३) वित्तीय जानकारी इकाईले उपदफा (२) बमोजिम आफूलाई प्राप्त सहयोग तथा सूचनाको प्रयोग गर्दा त्यस्तो सूचना वा सहयोग प्रदान गर्ने निकायले तोकिदिए बमोजिमका शर्तहरु पालना गर्नु पर्नेछ ।

४) वित्तीय जानकारी इकाईले उपदफा (२) बमोजिम कुनै मुलुकको समान प्रकृतिको काम गर्ने निकायलाई सूचना तथा सहयोग प्रदान गर्दा त्यस्तो सूचना वा सहयोगको प्रयोगको सम्बन्धमा तोकिए बमोजिमका शर्तहरु समेत उल्लेख गर्नु पर्नेछ।

५) उपदफा (२) बमोजिम समान प्रकृतिको काम गर्ने कुनै मुलुकको निकायबाट प्राप्त सूचनाको सम्बन्धमा समेत दफा १०ख. बमोजिमको गोपनीयता सम्बन्धी व्यवस्था लागू हुनेछ ।

६) यस दफा बमोजिमको काम, कर्तव्य र अधिकार पूरा गर्ने क्रममा वित्तीय जानकारी इकाईले देहाय बमोजिम गर्न सक्नेछ;

(क) सूचक संस्थाबाट आवश्यक थप कागजात, अभिलेख, विवरण,सूचना तथा जानकारी माग गर्ने तथा प्राप्त गर्ने, वा

(ख) कुनै व्यावसायिक तथ्याङ्क वा सम्बद्ध निकाय, नियमनकारी निकाय, सार्वजनिक संस्थामा रहेको प्रशासनिक, वित्तीय वा कानुन कार्यान्वयन सम्बन्धी सूचना, कागजात वा विवरणमा पहुँच प्राप्त गर्ने र त्यस्तो सूचना, कागजात वा विवरण माग गर्ने तथा प्राप्त गर्ने ।

७) शङ्कास्पद कारोबार सम्बन्धी प्रतिवेदन नदिने वा यस ऐन बमोजिम दिएको आदेश तथा तोकिदिएको शर्त पालना नगर्ने वा पेश गर्न आदेश दिएको कागजात वा जानकारी उपलब्ध नगराउने 2वा दफा १०क. बमोजिमको कारोबार सम्बन्धी सूचनाको गोप्यता भङ्ग गर्ने वा त्यस्तो संस्थाको पदाधिकारी वा कर्मचारीलाई वित्तीय जानकारी इकाईले एक करोड रुपैयाँसम्म जरिबाना गर्न सक्नेछ ।

८) वित्तीय जानकारी इकाईले उपदफा (७) बमोजिम सूचक संस्थालाई जरिबाना गर्दा सम्बन्धित सूचक संस्थालाई आफ्नो सफाई पेश गर्ने मनासिब मौका दिनु पर्नेछ ।

९) वित्तीय जानकारी इकाईले उपदफा (७) बमोजिम गरेको जरिबानामा चित्त नबुझ्ने सूचक संस्थाले पैँतीस दिनभित्र सम्बन्धित उच्च अदालत समक्ष पुनरावेदन दिन सक्नेछ ।

१०) वित्तीय जानकारी इकाईले कुनै सूचक संस्थालाई उपदफा (७) बमोजिम जरिबाना गरेमा सात दिनभित्र सोको जानकारी नियमनकारी निकायलाई दिनु पर्नेछ ।

1 दोस्रो संशोधनद्वारा संशोधित।

2सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी  केही ऐनलाई संशोधन गर्ने ऐन, २०८० द्वारा संशोधित।  

3सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी  केही ऐनलाई संशोधन गर्ने ऐन, २०८० द्वारा थप।

Share this Law

दफा १०: वित्तीय जानकारी इकाईको काम, कर्तव्य र अधिकार

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.