दफा ७डः सीमापार करेस्पोण्डिङ्ग बैङ्किङ्ग सम्बन्ध सम्बन्धी व्यवस्था

Estimated reading: 0 minutes 305 views

१) वित्तीय संस्थाले प्रचलित कानुन बमोजिम सीमापार करेस्पोण्डिङ्ग बैङ्किङ्ग सम्बन्ध कायम गर्दा तथा कारोबार गर्दा देहाय बमोजिमको उपाय अपनाउनु पर्नेछ;

(क) रेस्पोण्डेण्ट वित्तीय संस्थाको पहिचान तथा सम्पुष्टि गर्ने,

(ख) रेस्पोण्डेण्ट वित्तीय संस्थाले गर्ने काम कारबाहीको सम्बन्धमा पर्याप्त जानकारी हासिल गर्ने,

(ग) खण्ड (ख) बमोजिम प्राप्त जानकारी समेतका आधारमा रेस्पोण्डेण्ट वित्तीय संस्थाले गर्ने व्यवसायको प्रकृति पूर्ण रूपमा थाहा पाउने,

(घ) सार्वजनिक रूपमा उपलब्ध सूचनाका आधारमा रेस्पोण्डेण्ट वित्तीय संस्थाको प्रतिष्ठा, सो उपर हुने सुपरिवेक्षणको गुणस्तर तथा सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी सम्बन्धी अनुसन्धान वा नियमन सम्बन्धी कारबाहीमा परे नपरेको समेतका सम्बन्धमा मूल्याङ्कन गर्ने,

(ङ) रेस्पोण्डेण्ट वित्तीय संस्थाको सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी नियन्त्रण प्रणाली तथा सोको पर्याप्तताको मूल्याङ्कन गर्ने,

(च) करेस्पोण्डिङ्ग बैङ्किङ्ग सम्बन्ध कायम गर्नु पूर्व आफ्नो व्यवस्थापन हेर्ने उच्च अधिकारीको स्वीकृति लिने,

(छ) सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारण सम्बन्धमा आ–आफ्नो जिम्मेवारी स्पष्ट रूपमा थाहा पाउने,

(ज) भुक्तानी दिने खाता (पेएबल थ्रु एकाउण्ट) को प्रयोग गर्ने ग्राहकको सम्बन्धमा रेस्पोण्डेण्ट वित्तीय संस्थाले यस परिच्छेद बमोजिमको ग्राहक पहिचान तथा सोको सम्पुष्टि सम्बन्धी व्यवस्था पालना गरे वा नगरेको, त्यस्तो ग्राहक उपर नियमित अनुगमन पद्धतिको कार्यान्वयन गरे वा नगरेको तथा माग गरेको बखत आफूलाई आवश्यक विवरण उपलब्ध गराउन सक्षम रहे वा नरहेको सुनिश्चित गर्ने,

1स्पष्टीकरण; यस खण्डको प्रयोजनका लागि “भुक्तानी दिने खाता (पेएबल थ्रु एकाउण्ड)” भन्नाले कारोबारको सम्बन्धमा रहेको तेस्रो पक्षले समेत प्रत्यक्ष रूपमा प्रयोग गर्ने करेस्पोण्डेण्ट खाता सम्झनु पर्छ।

(झ) शेल बैङ्कसँग व्यावसायिक सम्बन्ध स्थापना वा कारोबार नगर्ने तथा गरिरहेको भए निरन्तरता नदिने कुराको सुनिश्चित गर्ने, र

(ञ) रेस्पोण्डेण्ट वित्तीय संस्थाले कुनै शेल बैङ्कलाई आफ्नो खाता प्रयोग गर्न अनुमति नदिने कुराको सुनिश्चित गर्ने ।

२) वित्तीय संस्थाले आफैं वा ग्राहकको तर्फबाट गरिदिएको सीमापार करेस्पोण्डिङ्ग बैङ्किङ्ग सम्बन्धी व्यावसायिक सम्बन्ध वा कारोबार गर्दा उपदफा (१) बमोजिमको व्यवस्था पालना गर्नु पर्नेछ ।

1 सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने ऐन, २०८० द्वारा थप। 

Share this Law

दफा ७डः सीमापार करेस्पोण्डिङ्ग बैङ्किङ्ग सम्बन्ध सम्बन्धी व्यवस्था

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.