परिच्छेद-१ प्रारम्भिक

दफा २: परिभाषा

Estimated reading: 1 minute 54 views

1विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा,

2(क) “अनुसन्धान अधिकृत” भन्नाले दफा १५ बमोजिम अनुसन्धान गर्न अधिकारप्राप्त अधिकारी सम्झनु पर्छ र सो शब्दले अनुसन्धानको लागि टोली गठन भएकोमा त्यस्तो टोलीलाई समेत जनाउनेछ।

(ख) “अन्तर्राष्ट्रिय संस्थाको उच्चपदस्थ व्यक्ति” भन्नाले अन्तर्राष्ट्रिय संस्थाको व्यवस्थापनको उच्च जिम्मेवारी पाएका सञ्चालक सदस्य, व्यवस्थापक, निर्देशक, उपनिर्देशक वा सो सरहको जिम्मेवारी भएको वा पाएको व्यक्ति सम्झनु पर्छ ।

(ग) “आतङ्ककारी कार्य” भन्नाले प्रचलित कानुन बमोजिम आतङ्ककारी कार्य सम्बन्धी कसूर मानिने कार्य सम्झनु पर्छ।

(घ) “आतङ्ककारी व्यक्ति” भन्नाले देहायको कुनै कार्य गर्ने प्राकृतिक व्यक्ति सम्झनु पर्छ;

(१) गैरकानुनी रूपले तथा जानीजानी प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जुनसुकै माध्यमबाट आतङ्ककारी कार्य गर्ने वा गर्न उद्योग गर्ने,

(२) आतङ्ककारी कार्य गर्न मतियारको रूपमा सहभागी हुने,

(३) आतङ्ककारी कार्य गर्न अरूलाई सङ्गठित पार्ने वा निर्देशन दिने, वा

(४) आतङ्ककारी कार्य गर्ने सामूहिक उद्देश्य राख्ने समूहले आतङ्ककारी कार्य गर्छ वा गर्ने मनसाय राखेको छ भन्ने जानकारी हुँदाहुँदै वा आफूले गर्ने सहयोग वा योगदानले आतङ्ककारी कार्यलाई बढावा दिन्छ भन्ने जानकारी हुँदाहुँदै त्यस्तो समूहलाई आतङ्ककारी कार्य गर्न सहयोग गर्ने वा योगदान पुर्‍याउने।

(ङ) “आतङ्ककारी सङ्गठन” भन्नाले आतङ्ककारीहरूको देहायको कुनै सङ्गठित वा असङ्गठित समूह वा सङ्गठन सम्झनु पर्छ;

(१) गैरकानुनी तथा जानीजानी प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जुनसुकै माध्यमबाट आतङ्ककारी कार्य गर्ने वा गर्न उद्योग गर्ने,

(२) आतङ्ककारी कार्य गर्न मतियारको रूपमा सहभागी हुने,

(३) आतङ्ककारी कार्य गर्न अरूलाई सङ्गठित पार्ने वा निर्देशन दिने, वा

(४) आतङ्ककारी कार्य गर्ने सामूहिक उद्देश्य राख्ने समूहले आतङ्ककारी कार्य गर्छ वा गर्ने मनसाय राखेको छ भन्ने जानकारी हुँदाहुँदै वा आफूले गर्ने सहयोग वा योगदानले आतङ्ककारी कार्यलाई बढावा दिन्छ भन्ने जानकारी हुँदाहुँदै यस्तो समूहलाई आतङ्ककारी कार्य गर्नलाई सहयोग गर्ने वा योगदान पुर्‍याउने।

3(ङ१) “आमविनासका हातहतियार निर्माण तथा विस्तारमा वित्तीय लगानी (प्रोलिफरेसन फाइनान्सिङ्ग)” भन्नाले प्रचलित कानुन विपरीत कुनै आणविक, रासायनिक, जैविक (जीवाणुयुक्त) वा विषालु हातहतियारको विकास, निर्माण, उत्पादन, खरिद वा बिक्री, विवरण, प्रयोग, कब्जा, स्वामित्व प्राप्ति, हस्तान्तरण, भण्डारण, सञ्चय, ओसारपसार वा त्यसको व्यवस्थापन, निकासी वा पैठारी गर्ने, गराउने कार्यको लागि गरिने सम्पत्ति वा कोषको लगानी सम्झनु पर्छ।

(च) “उच्चपदस्थ व्यक्ति” भन्नाले स्वदेशी उच्चपदस्थ व्यक्ति, विदेशी उच्चपदस्थ व्यक्ति वा अन्तर्राष्ट्रिय संस्थाको उच्चपदस्थ व्यक्ति सम्झनु पर्छ र सो शब्दले नेपाल सरकारले राष्ट्रिय समन्वय समितिको सिफारिसमा नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको वर्गको व्यक्ति समेतलाई जनाउँछ ।

(छ) “करेस्पोडिङ्ग बैङ्किङ्ग” भन्नाले कुनै एक वित्तीय संस्थाले आफ्नो ग्राहकलाई अर्को वित्तीय संस्था मार्फत बैङ्किङ्ग सेवा उपलब्ध गराउने व्यवस्था सम्झनु पर्छ ।

(ज) “कसूरबाट प्राप्त सम्पत्ति” भन्नाले सम्पत्ति शुद्धीकरण सम्बन्धी कसूर वा सम्बद्ध कसूरबाट प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्राप्त गरेको वा हासिल गरेको जुनसुकै प्रकारको सम्पत्ति सम्झनु पर्छ र सो शब्दले त्यस्तो सम्पत्तिबाट बढे बढाएको अन्य सम्पत्ति वा आर्थिक लाभ वा कुनै पनि तरिकाले आंशिक वा पूर्ण रूपमा हस्तान्तरण वा रूपान्तरण भएको सम्पत्ति वा लाभ समेतलाई जनाउँछ।

(झ) “कसूरसँग सम्बन्धित साधन” भन्नाले आंशिक वा पूर्ण रूपमा सम्पत्ति शुद्धीकरण सम्बन्धी कसूर वा सम्बद्ध कसूर गर्न जुनसुकै प्रकारले प्रयोग भएको वा प्रयोग गर्न खोजिएको साधन, सम्पत्ति वा अन्य कुनै उपकरण सम्झनु पर्छ ।

(ञ) “कारोबार” भन्नाले सम्पत्तिको खरिद, बिक्री, वितरण, हस्तान्तरण, लगानी, भोगचलन वा अन्य कुनै आर्थिक वा व्यावसायिक काम कारबाही गर्नको लागि गरिने सम्झौता वा देहायका कुनै कार्य सम्झनु पर्छ;

(१) व्यावसायिक सम्बन्ध स्थापना गर्ने,

(२) खाता खोल्ने,

(३) विद्युतीय वा जुनसुकै माध्यमबाट जुनसुकै प्रकारको मुद्रा वा उपकरण मार्फत गरिने निक्षेप वा रकम सङ्कलन, भुक्तानी, भुक्तानी आदेश, विनिमय वा कोषको स्थानान्तरण गर्ने,

(४) जुनसुकै प्रकारको सेफ डिपोजिट (लकर) को प्रयोग गर्ने,

(५) हितकारी (फिडूसियरी) सम्बन्ध स्थापना गर्ने,

(६) कुनै कानुनी वा करारीय दायित्वका आधारमा पूर्ण वा आंशिक रूपमा भुक्तानी दिने वा लिने,

(७) चिट्ठा, बाजी वा संयोगका आधारमा हारजित हुने गरी खेलिएको खेलको आधारमा गरिने भुक्तानी दिने वा लिने,

(८) कानुनी व्यक्ति वा कानुनी प्रबन्धको संस्थापना वा दर्ता गर्ने,

(९) नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको अन्य कुनै कार्य गर्ने ।

(ट) “कानुनी प्रबन्ध” भन्नाले गुठी (एक्स्प्रेस ट्रष्ट) वा यस्तै प्रकृतिका अन्य कानुनी प्रबन्ध सम्झनु पर्छ ।

(ठ) “कानुनी व्यक्ति” भन्नाले कम्पनी, संस्थान, सहकारी संस्था वा अन्य कुनै सङ्गठित संस्था सम्झनु पर्छ र सो शब्दले प्राइभेट फर्म, साझेदारी वा गैरसरकारी संस्था समेतलाई जनाउँछ ।

(ड) “कोष” भन्नाले जुनसुकै तरिकाले प्राप्त भएको वा सोबाट बढे बढाएको वित्तीय सम्पत्ति, आर्थिक साधन स्रोत वा मूर्त वा अमूर्त, चल वा अचल, भौतिक वा अभौतिक वा प्राकृतिक, विद्युतीय वा डिजिटल कुनै पनि प्रकारको सम्पत्ति, देहायको उपकरण वा साधन स्रोत सम्झनु पर्छ र सो शब्दले त्यस्तो सम्पत्ति वा उपकरण वा साधन स्रोत उपर विद्युतीय वा जुनसुकै प्रकारले हक भएको वा हित रहेको कानुनी कागजात, निस्सा, प्रमाणपूर्जा वा कुनै उपकरण समेतलाई जनाउँछ;

(१) बैङ्क कर्जा,

(२) यात्रु चेक,

(३) बैङ्क चेक,

(४) धनादेश,

(५) शेयर,

(६) धितोपत्र,

(७) ऋणपत्र (बण्ड),

(८) ड्राफ्ट,

(९) प्रतीतपत्र,

(१०) अन्य कुनै आर्थिक वा वित्तीय साधन स्रोत ।

(ढ) “गैरवित्तीय पेशाकर्मी वा व्यवसायी” भन्नाले देहायको कुनै व्यावसायिक कार्य गर्ने पेशाकर्मी वा व्यवसायी सम्झनु पर्छ;

(१) क्यासिनो वा इन्टरनेट क्यासिनो व्यवसायी,

(२) घरजग्गा खरिद वा बिक्री व्यवसायी,

3(२क) सवारी साधन बिक्री गर्ने व्यवसायी वा त्यस्तो साधन खरिद गर्न कर्जा प्रवाह गर्ने व्यवसायी,

(३) तोकिएको बहुमूल्य धातु वा वस्तुको कारोबार गर्ने व्यवसायी,

(४) आफ्नो ग्राहक वा पक्षको तर्फबाट देहायको कार्य गर्दा, सोको तयारी गर्दा वा सोमा संलग्न हुँदाका बखतको नोटरी पब्लिक, लेखापरीक्षक, लेखा व्यवसायी वा त्यस्तै प्रकृतिको कार्य गर्ने अन्य व्यवसायी;

(क) घरजग्गा खरीद बिक्री,

(ख) ग्राहकको रकम, धितोपत्र वा अन्य सम्पत्तिको व्यवस्थापन,

(ग) बैङ्क, बचत तथा धितोपत्र सम्बन्धी कार्यको व्यवस्थापन,

(घ) कानुनी व्यक्तिको संस्थापना गर्दा वा सञ्चालन गर्दाका बखत गरिएको योगदान तथा लगानीको व्यवस्थापन,

(ङ) कानुनी व्यक्ति वा कानुनी प्रबन्धको सृजना, संस्थापना, दर्ता, 2 लेखा, राजस्व, वित्तीय वा व्यावसायिक राय परामर्श वा  सञ्चालन व्यवस्थापन,

3(ङ१) दफा ७ध. को प्रयोजनको लागि लेखापरीक्षण, वा

(च) कुनै व्यावसायिक संस्थाको खरीद वा बिक्री ।

(५) आफ्नो ग्राहक वा पक्षको तर्फबाट देहायको कार्य गर्दा वा सोको तयारी गर्दा वा सोमा संलग्न हुँदाका बखत व्यावसायिक रूपमा देहायको सेवा प्रदान गर्ने कम्पनी वा ट्रष्ट सेवा प्रदायक;

(क) कानुनी व्यक्ति वा कानुनी प्रबन्धको संस्थापना, दर्ता वा व्यवस्थापनको लागि एजेण्ट भई काम गर्ने,

(ख) कानुनी व्यक्तिको साझेदार, सञ्चालक, सचिव वा त्यस्तै पदाधिकारी भई काम गर्ने वा अन्य व्यक्ति मार्फत गराउने,

(ग) कानुनी व्यक्ति वा कानुनी प्रबन्धलाई व्यावसायिक रूपमा रजिष्टर्ड कार्यालय, ठेगाना वा ठाउँ उपलब्ध गराउने वा सोको लागि पत्र व्यवहारको जिम्मा लिने,

(घ) कानुनी प्रबन्ध वा यस्तै प्रकृतिका अन्य कानुनी प्रबन्धको ट्रष्टि भई काम गर्ने वा ट्रष्टिको मनोनयन गर्ने वा अन्य व्यक्ति मार्फत गराउने, वा

(ङ) प्रचलित कानुन बमोजिम कुनै व्यक्तिको तर्फबाट शेयर धनी नियुक्त भई वा अन्य कुनै व्यक्ति मार्फत कार्य गर्ने वा गराउने ।

(६) नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको अन्य पेशाकर्मी वा व्यवसायी ।

(ण) “तोकिएको” वा “तोकिए बमोजिम” भन्नाले यस ऐन अन्तर्गत बनेको नियममा तोकिएको वा तोकिए बमोजिम सम्झनु पर्छ ।

(त) “धारक विनिमेय अधिकारपत्र” भन्नाले पूर्ण वा अपूर्ण रूपमा रहेको बेनामी, काल्पनिक नाम रहेको वा धारकले कसैको अख्तियारी विना उपयोग गर्न सक्ने वा जसले प्राप्त गर्छ उसैले भुक्तानी लिन सक्ने यात्रुचेक, चेक, प्रमिशरी नोट वा धनादेश समेतका विनिमेय अधिकारपत्र लगायतका मौद्रिक उपकरण सम्झनु पर्छ ।

3(त१) “निर्देशक समिति” भन्नाले दफा ७ब. बमोजिमको निर्देशक समिति सम्झनु पर्छ।

(थ) “नियमनकारी निकाय” भन्नाले सूचक संस्थाको नियमन वा सुपरीवेक्षण गर्न प्रचलित कानुन बमोजिम स्थापित संस्था सम्झनु पर्छ र सो शब्दले दफा ७न. को उपदफा (२) बमोजिम नेपाल सरकारले तोकेको नियमनकारी निकाय समेतलाई जनाउँछ ।

(द) “मुद्रा” भन्नाले नेपाली मुद्रा वा विदेशी मुद्रा सम्झनु पर्छ ।

(ध) “राष्ट्र बैङ्क” भन्नाले प्रचलित कानुन बमोजिम स्थापना भएको नेपाल राष्ट्र बैङ्क सम्झनु पर्छ ।

(न) “राष्ट्रसेवक” भन्नाले प्रचलित कानुन बमोजिम राष्ट्रसेवक मानिने व्यक्ति सम्झनु पर्छ ।

(प) “वास्तविक धनी” भन्नाले ग्राहक, कारोबार, सम्पत्ति, कानुनी व्यक्ति वा कानुनी प्रबन्ध उपर प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा स्वामित्व हुने, नियन्त्रण राख्ने, निर्देशन दिन वा प्रभाव पार्न सक्ने अन्तिम हिताधिकारी वा धनीको रूपमा रहेको प्राकृतिक व्यक्ति सम्झनु पर्छ ।

(फ) “वित्तीय जानकारी इकाई” भन्नाले दफा ९ बमोजिमको वित्तीय जानकारी इकाई सम्झनु पर्छ।

(ब) “वित्तीय संस्था” भन्नाले व्यावसायिक रूपमा आफ्नो ग्राहकको लागि वा निजको तर्फबाट देहायको कार्य गर्ने व्यक्ति सम्झनु पर्छ;

(१) निक्षेप स्वीकार गर्ने वा सर्वसाधारणबाट भुक्तानी गर्नु पर्ने गरी अन्य रकम लिने,

(२) प्राइभेट बैङ्किङ्ग सम्बन्धी कार्य गर्ने,

(३) जुनसुकै किसिमको कर्जा दिने,

(४) उपभोग्य वस्तु बाहेकको वित्तीय लिजिङ सम्बन्धी कार्य गर्ने,

(५) भुक्तानी शृङ्खलामा माध्यम वा अन्य सहायक सेवा प्रदायकको रूपमा रही कार्य गर्ने बाहेक मुद्रा वा मूल्य स्थानान्तरण (भ्याल्यू ट्रान्सफर) गर्ने,

(६) चेक, ड्राफ्ट, धनादेश, डेबिट कार्ड, क्रेडिट कार्ड लगायतका विद्युतीय वा अन्य जुनसुकै प्रकारका भुक्तानी उपकरण जारी वा व्यवस्थापन गर्ने,

(७) वित्तीय जमानत वा प्रतिबद्धता (कमिटमेण्ट) दिने,

(८) देहायका उपकरणको व्यवसाय गर्ने ;

(क) चेक, बिल्स, निक्षेप प्रमाणपत्र, डेरिभेटिभ्स लगायतका मुद्रा बजार उपकरण,

(ख) विदेशी मुद्रा विनिमय,

(ग) सटही, व्याजदर वा अन्य त्यस्तै मूल्य वा रकम भएको उपकरण,

(घ) हस्तान्तरणयोग्य धितोपत्र, वा

(ङ) वस्तु विनिमय बजार (कमोडिटिज मार्केट) सम्बन्धी उपकरण ।

(९) धितोपत्र निष्कासन वा सो सम्बन्धी वित्तीय सेवा दिने,

(१०) एकल वा सामूहिक पोर्टफोलियो व्यवस्थापन गर्ने,

(११) अन्य व्यक्तिको तर्फबाट नगद वा तरल सम्पत्ति व्यवस्थापन वा सेफ डिपोजिट (लकर) को व्यवस्थापन गर्ने,

(१२) जीवन बिमा र बिमासँग सम्बन्धित अन्य लगानीको प्रत्याभूति (अण्डरराइटिङ) तथा प्लेसमेण्ट गर्ने,

(१३) रकम वा मुद्रा सटही गर्ने,

3(१३क) दफा ७ख., ७घ., ७त., ७ध. र १०क. को प्रयोजनको लागि इन्भेष्टमेन्ट कम्पनी, इक्विटी फण्ड वा यस्तै कार्य गर्ने,

(१४) उपखण्ड (१) देखि (१३) मा उल्लिखित कार्य बाहेक अन्य व्यक्तिको तर्फबाट रकम (फण्ड) लगानी गर्ने, सोको प्रशासन तथा व्यवस्थापन गर्ने, वा

(१५) नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकिदिएको कार्य गर्ने ।

(भ) “विदेशी उच्चपदस्थ व्यक्ति” भन्नाले विदेशी राष्ट्र प्रमुख, सरकार प्रमुख, उच्च राजनीतिज्ञ, राष्ट्रियस्तरको राजनीतिक दलको केन्द्रीय पदाधिकारी, उच्च प्रशासक, उच्च न्यायिक अधिकारी, उच्च सुरक्षा अधिकारी तथा राज्य नियन्त्रित संस्थाको उच्च पदाधिकारी वा त्यस्तो जिम्मेवारी भएको वा पाएको व्यक्ति समेत सम्झनु पर्छ ।

(म) “विभाग” भन्नाले दफा ११ बमोजिमको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग सम्झनु पर्छ ।

(य) “व्यक्ति” भन्नाले प्राकृतिक व्यक्ति वा कानुनी व्यक्ति सम्झनु पर्छ ।

(र) “शंकास्पद कारोबार सम्बन्धी प्रतिवेदन” भन्नाले दफा ७ध. बमोजिमको प्रतिवेदन सम्झनु पर्छ ।

(ल) “शेल बैङ्क” भन्नाले संस्थापना भएको वा -अनुमति प्राप्त गरेको मुलुकमा भौतिक रूपमा उपस्थिति नरहेको वा प्रभावकारी नियमन तथा सुपरीवेक्षणको कुनै पनि दायरामा नरहेको वित्तीय संस्था वा वित्तीय संस्थाको समूह सम्झनु पर्छ ।

स्पष्टीकरण; यस खण्डको प्रयोजनका लागि स्थानीय प्रतिनिधि वा तल्लो तहको कर्मचारीको उपस्थिति भएको अवस्थालाई भौतिक रूपमा उपस्थिति नरहेको मानिनेछ ।

3(ल१) “समन्वय समिति” भन्नाले दफा ७भ. बमोजिमको समन्वय समिति सम्झनु पर्छ।

(व) “सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी सम्बन्धी कसूर” भन्नाले परिच्छेद-२ अन्तर्गतको कसूर सम्झनु पर्छ ।

(श) “सम्बद्ध कसूर (प्रेडिकेट अफेन्स)” भन्नाले अनुसूचीमा उल्लिखित कसूर सम्झनु पर्छ ।

(ष) “सम्पत्ति” भन्नाले भौतिक वा अभौतिक, चल वा अचल, मूर्त वा अमूर्त जुनसुकै प्रकारको सम्पत्ति, कोष वा कुनै मूल्य भएको वस्तु वा उपकरण सम्झनु पर्छ र सो शब्दले सो उपर हक, हित, दाबी वा अधिकार स्थापित गर्ने कुनै पनि प्रकारको कागजात, निस्सा, प्रमाणपूर्जा वा विद्युतीय वा अन्य उपकरण समेतलाई जनाउँछ ।

(स) “सूचक संस्था” भन्नाले वित्तीय संस्था वा गैरवित्तीय पेशाकर्मी वा व्यवसायी सम्झनु पर्छ ।

(ह) “स्वदेशी उच्चपदस्थ व्यक्ति” भन्नाले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रतिनिधि सभाको सभामुख, राष्ट्रिय सभाको अध्यक्ष, प्रदेश प्रमुख, नेपाल सरकारका मुख्य मन्त्री, संघीय संसदका सदस्य, संवैधानिक निकायको पदाधिकारी, प्रदेश सभाका सभामुख, प्रदेश सरकारका मन्त्री, नेपाल सरकारका विशिष्ट श्रेणी वा सो सरहको वा सोभन्दा माथिका पदाधिकारी, उच्च अदालतको न्यायाधीश वा सोभन्दा माथिल्लो तहको न्यायाधीश, प्रदेश सभाका उपसभामुख, प्रदेश सभाका सदस्य, राष्ट्रियस्तरको राजनीतिक दलको केन्द्रीय पदाधिकारी, जिल्ला समन्वय समितिका प्रमुख तथा उपप्रमुख, नगरपालिकाका प्रमुख तथा उपप्रमुख, गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष, नेपाल सरकारको पूर्ण वा आंशिक स्वामित्व भएका संस्थाको उच्च पदाधिकारी वा त्यस्तो जिम्मेवारी भएको वा पाएको व्यक्ति सम्झनु पर्छ ।

1 दोस्रो संशोधनद्वारा संशोधित। 

2 सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने ऐन, २०८० द्वारा संशोधित।

3 सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने ऐन, २०८० द्वारा थप।

४ केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०७५ द्बारा संशोधित।

Share this Law

दफा २: परिभाषा

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.