दफा ९०ः बोर्डको विशेष अधिकार

Estimated reading: 0 minutes 286 views

१) पूँजी बजारको विकास तथा लगानीकर्ताको हितलाई ध्यानमा राखी धितोपत्र कारोबारलाई नियमित तथा व्यवस्थित गर्ने प्रयोजनका लागि बोर्डले देहायका विशेष अधिकार प्रयोग गर्न सक्नेछ;

(क) धितोपत्र सार्वजनिक निष्काशन गरेका संगठित संस्थाले प्रचलित कानुन बमोजिम बोलाउनु पर्ने साधारण सभा निर्धारित समयभित्र नबोलाएमा साधारण सभा बोलाउन त्यस्तो संगठित संस्थालाई आदेश दिने,

(ख) धितोपत्र सार्वजनिक निष्काशन गरेका संगठित संस्थाले निर्धारित समयभित्र धितोपत्र बाँडफाँड नगरेमा त्यस्तो धतोपत्रको लागि जम्मा भएको रकम फिर्ता गर्न आदेश दिने,

(ग) कुनै धितोपत्र सूचीकरण गराउन वा कुनै धितोपत्रको कारोबार रोक्न सम्बन्धित संगठित संस्थालाई निर्देशन दिने,

(घ) धितोपत्र बजारसँग परामर्श गरी बढीमा पाँच दिनसम्मका लागि धितोपत्र बजार बन्द गर्न आदेश दिने,

(ङ) कुनै निश्चित समय तोकी सो समयभित्र धितोपत्र बजारको विनियममा संशोधन गर्नु पर्ने व्यहोरा समेत उल्लेख गरी विनियम संशोधन गर्न निर्देशन दिने वा आवश्यकता अनुसार नयाँ विनियम जारी गर्न आदेश दिने,

(च) धितोपत्र निष्काशन गर्ने संगठित संस्था तथा धितोपत्र व्यवसायीले पेश गरेको आर्थिक विवरण तथा वित्तीय प्रतिवेदन आवश्यकता अनुसार लेखा विशेषज्ञबाट पुनरावलोकन वा जाँचबुझ गराउने,

(छ) धितोपत्र दर्ता गराएका संगठित संस्थालाई सो संस्थाको व्यवस्थापन, आर्थिक प्रबन्ध तथा अन्य सम्बन्धित व्यवस्थामा सुधार गर्न निर्देशन दिने,

(ज) धितोपत्र बजारको सञ्चालक समिति पुनर्संरचना गर्न सम्बन्धित धितोपत्र बजारलाई निर्देशन दिने,

(झ) धितोपत्र बजारले आफ्नो सदस्यलाई कुनै कारबाही गरेको जानकारी दफा ५२ बमोजिम प्राप्त गरेमा त्यस्तो सदस्यलाई उपयुक्त कारबाही गर्ने वा त्यस्तो सदस्यको अनुमतिपत्र खारेज गर्ने,

(ञ) धितोपत्र बजार, धितोपत्र व्यवसायी तथा धितोपत्र दर्ता गराउने संगठित संस्थाका कुनै सञ्चालक वा कर्मचारीले धितोपत्र सम्बन्धी काम कारबाही गर्दा यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम तथा विनियम र सो अन्तर्गत बोर्डले दिएको आदेश वा निर्देशन उल्लंघन गरेमा त्यस्ता सञ्चालक वा कर्मचारीलाई आवश्यक कारबाही चलाउन सम्बन्धित धितोपत्र बजार, धितोपत्र व्यवसायी वा धितोपत्र दर्ता गराउने संगठित संस्थालाई आदेश दिने,

(ट) धितोपत्र बजार, धितोपत्र व्यवसायी वा धितोपत्र दर्ता गराएका संगठित संस्थाले समय मै लेखापरीक्षण नगराएमा वा अन्य कुनै कारणले लेखापरीक्षक नियुक्त हुन नसकेमा त्यस्तो धितोपत्र बजार, धितोपत्र व्यवसायी वा धितोपत्र दर्ता गराउने संगठित संस्थाको हिसाब किताब, नगदी, जिन्सी सम्पत्ति समेतको जाँचबुझ गर्नका लागि लेखापरीक्षण गर्न लेखापरीक्षकको नियुक्ति गर्ने ।

२) उपदफा (१) बमोजिमको विशेष अधिकार प्रयोग गरी बोर्डले दिएको आदेश वा निर्देशनको पालना गर्ने कर्तव्य सम्बन्धित सबैको हुनेछ ।

३) उपदफा (१) को खण्ड (ट) बमोजिम नियुक्त भएको लेखापरीक्षकको पारिश्रमिक सम्बन्धित संस्थाले व्यहोर्नु पर्नेछ ।

४) बोर्डले यस परिच्छेद बमोजिम सम्बन्धित संगठित संस्थाहरूको नियमन, अनुगमन, निरीक्षण तथा जाँचबुझका सम्बन्धमा गरेको काम कारबाहीको विवरण तथा सम्बन्धित संगठित संस्थाले बोर्डले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम, विनियम वा निर्देशिका बमोजिम दिएको आदेश वा निर्देशनको पालना गरे नगरेको सम्बन्धमा आवश्यक विवरण तोकिए बमोजिम सार्वजनिक गर्नेछ ।

Share this Law

दफा ९०ः बोर्डको विशेष अधिकार

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.