परिच्छेद–६ अनुसन्धान सम्बन्धी व्यवस्था

दफा २८: सम्पत्तिको स्रोत प्रमाणित गर्नु पर्ने

Estimated reading: 0 minutes 46 views

१) दफा १३ बमोजिम प्राप्त उजुरी वा विभागलाई अन्य कुनै माध्यमबाट प्राप्त जानकारीको आधारमा कुनै व्यक्ति उपर सम्पत्ति शुद्धीकरण सम्बन्धी कसूरको अनुसन्धानको सिलसिलामा दफा १४क. को उपदफा (१) बमोजिम सम्बद्ध कसूर भए वा नभएको जाँचबुझ गर्दा सम्बद्ध कसूर भएको नदेखिएको तर त्यस्तो व्यक्तिको सम्पत्ति निजको आयस्रोत वा आर्थिक अवस्थाको तुलनामा अस्वाभाविक देखिएमा वा निजले अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको देखिएमा वा आफ्नो हैसियतभन्दा बढी कसैलाई दान, दातव्य, उपहार, सापटी, चन्दा वा बकस दिएको वा कारोबार गरेको देखिएमा निजसँग त्यस्तो सम्पत्तिको स्रोत माग गर्नु पर्नेछ।

२) यस ऐन बमोजिम कुनै व्यक्तिको विरुद्धमा परेको उजुरीको सम्बन्धमा अनुसन्धान अधिकारीले अनुसन्धान गर्दा प्राप्त प्रमाणबाट निज उपर कुनै कसूरमा मुद्दा चल्न सक्ने अवस्था नभएको तर त्यस्तो व्यक्तिको सम्पत्ति निजको आयस्रोत वा आर्थिक अवस्थाको तुलनामा अस्वाभाविक देखिएको वा निजले अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको देखिएमा वा आफ्नो हैसियतभन्दा बढी कसैलाई दान, दातव्य, उपहार, सापटी, चन्दा वा बकस दिएको वा कारोबार गरेको वा निजसँग ठूलो परिमाणमा नगद वा अन्य चल सम्पत्ति फेला परेको र सो परिमाणमा सम्पत्ति आय हुने वा कमाउन सक्ने कुनै व्यापार, व्यवसाय वा नियमित आम्दानीको स्रोत भएको नपाइएमा अनुसन्धान अधिकारीले आफ्नो राय सहित सो उजुरी सम्बन्धी मिसिल कागजात आवश्यक कारबाहीको लागि विभागमा पठाउनु पर्नेछ।

३) उपदफा (१) वा (२) बमोजिम अनुसन्धान गरिएको व्यक्तिलाई त्यस्तो सम्पत्ति के कस्तो स्रोतबाट आर्जन गरेको हो भन्ने कुरा विभागले खुलाउन लगाउनु पर्नेछ।

४) सम्बद्ध कसूरमा प्रचलित कानुन बमोजिम अनुसन्धान गरिएको व्यक्ति उपर सम्बद्ध कसूर वा यस ऐन बमोजिम सम्पत्ति शुद्धीकरणको कसूरमा मुद्दा चल्ने अवस्था देखिएको र त्यस्तो व्यक्तिको सम्पत्ति कसूरबाट आर्जन गरेको सम्पत्तिभन्दा बढी देखिएकोमा कसूरबाट प्राप्त सम्पत्तिको हकमा अभियोग सहित सजाय तथा जफतको मागदाबी र सो बाहेक कसूरबाट प्राप्त भएको सम्पत्तिभन्दा बढी देखिएको स्रोत खुलाउन नसकेको सम्पत्तिको हकमा जफतको मागदाबी लिई मुद्दा दायर गर्नु पर्नेछ।

५) उपदफा (४) बमोजिम स्रोत खुलाउन नसकेको सम्पत्ति जफत हुनेछ।

६) उपदफा (२) बमोजिम लेखी आएको वा विभाग आफैँले अनुसन्धान गरेको विषयमा उपदफा (३) बमोजिम सम्पत्तिको स्रोत खुलाउन लगाउँदा त्यस्तो स्रोत खुलाउन नसकेको र अनुसन्धान गरिएको व्यक्ति उपर यस ऐन वा प्रचलित कानुन बमोजिमको कसूरमा मुद्दा चल्ने अवस्थामा स्रोत खुलाउन नसकेको सम्पत्तिको हदसम्म कर निर्धारण तथा असुलीको लागि आन्तरिक राजस्व विभागमा लेखी पठाउनु पर्नेछ।

७) उपदफा (६) बमोजिम लेखी आएमा आन्तरिक राजस्व विभागले कर सम्बन्धी कसूर गरे वा नगरेको यकिन गरी त्यस्तो कसूर गरेको नपाइएमा त्यस्तो व्यक्तिले निजले कुनै कसूर गरी सम्पत्ति प्राप्त गरेको होइन भनी स्वघोषणा समेत गरेमा निजको सम्पत्तिलाई चालू आयवर्षको आय मानी प्रचलित कानुन बमोजिमको अधिकतम कर निर्धारण गरी असुल गर्नु पर्नेछ।

८) उपदफा (७) बमोजिम कर असुल गरिएको व्यक्तिको नाम, थर र ठेगाना विभागको वेबसाइटमा राखी निजको आय तथा राजस्व सम्बन्धी विवरण विभाग र वित्तीय जानकारी इकाईमा पठाउनु पर्नेछ।

९) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि उपदफा (७) बमोजिम कर परीक्षण गर्दा सम्पत्ति शुद्धीकरण, आतङ्ककारी कार्य वा आमविनासका हातहतियार निर्माण तथा विस्तारमा वित्तीय लगानी निवारण सम्बन्धमा यस ऐन बमोजिम पालना गर्नु पर्ने सर्तको विषयमा आन्तरिक राजस्व विभागले मार्गदर्शन बनाई लागू गर्नेछ।

१०) कर अधिकृतले कर निर्धारण र कर परीक्षण गर्दा सम्पत्ति शुद्धीकरण, आतङ्ककारी कार्य वा आमविनासका हातहतियार निर्माण तथा विस्तारमा वित्तीय लगानी निवारण सम्बन्धमा यस ऐन बमोजिम पालना गर्नु पर्ने सर्तको विषयमा आन्तरिक राजस्व विभागले मार्गदर्शन बनाई लागू गर्नेछ। 

Share this Law

दफा २८: सम्पत्तिको स्रोत प्रमाणित गर्नु पर्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.