परिच्छेद–६ अनुसन्धान सम्बन्धी व्यवस्था

दफा १८: रोक्का राख्ने वा नियन्त्रणमा लिने

Estimated reading: 0 minutes 138 views

१) अनुसन्धान अधिकृतले अनुसन्धानको सिलसिलामा देहायको सम्पत्ति वा साधन र सोसँग सम्बन्धित भएको शङ्का गर्नु पर्ने मनासिब आधार भएको सम्पत्ति वा साधन जोसुकैको नाम, भोग, स्वामित्व वा कुनै पनि प्रकारको हित रहे भएको भए तापनि रोक्का राख्न वा नियन्त्रणमा लिन सक्नेछ;

(क) शुद्धीकरण गरिएको सम्पत्ति,

(ख) सम्पत्ति शुद्धीकरण सम्बन्धी कसूर गर्न प्रयोग गरिएको वा प्रयोग गर्न खोजिएको कसूरसँग सम्बन्धित साधन,

(ग) आतङ्ककारी कार्यमा वित्तीय लगानी सम्बन्धी कसूरबाट प्राप्त सम्पत्ति,

(घ) आतङ्ककारी कार्यमा वित्तीय लगानीको लागि वा आतङ्ककारी कार्य वा आतङ्ककारी व्यक्ति, आतङ्ककारी सङ्गठनले प्रयोग गरेको वा प्रयोग गर्न छुट्याइएको वा प्रयोग गर्न खोजिएको सम्पत्ति वा कोष, वा

(ङ) आतङ्ककारी कार्यमा वित्तीय लगानी सम्बन्धी कसूर गर्न प्रयोग गरिएको वा प्रयोग गर्न खोजिएको कसूरसँग सम्बन्धित साधन ।

1१क) उपदफा (१) बमोजिम कुनै सम्पत्ति वा साधन एक वर्षभन्दा बढी रोक्का राख्नु वा नियन्त्रणमा लिनु परेमा अदालतको अनुमति लिनु पर्नेछ।

२) उपदफा (१) मा उल्लिखित सम्पत्ति वा साधन लुकाएको, उपभोग गरेको, निःसर्ग गरेको वा अन्य कुनै कारणले रोक्का राख्न वा नियन्त्रणमा लिन नसकिने भएमा अनुसन्धान अधिकृतले सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी सम्बन्धी कसूरको शङ्का लागेको व्यक्तिको सोही मूल्य बराबर हुन सक्ने अन्य सम्पत्ति रोक्का राख्नु वा नियन्त्रणमा लिनु पर्नेछ ।

३) उपदफा (१) वा (२) बमोजिम सम्पत्ति वा साधन रोक्का राख्ने वा नियन्त्रणमा लिने सम्बन्धमा अनुसन्धान अधिकृतले देहाय बमोजिम गर्न ‍सक्नेछ;

(क) त्यस्तो सम्पत्ति वा साधन आफैले नियन्त्रणमा लिने वा सम्बन्धित सरकारी निकाय मार्फत नियन्त्रणमा लिन आदेश जारी गर्ने, वा

(ख) त्यस्तो सम्पत्ति वा साधन सम्बन्धित व्यक्तिलाई कुनै सूचना नदिई एकतर्फी रूपमा रोक्का राख्न आदेश जारी गरी सम्बन्धित निकायलाई लेखि पठाउने ।

४) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि अनुसन्धान अधिकृतले सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी सम्बन्धी कसूरको अनुसन्धानको क्रममा उपस्थित हुन दिएको सूचना बमोजिमको म्यादभित्र वा दफा ४० बमोजिम तामेल भएको म्यादभित्र उपस्थित नहुने व्यक्तिको सम्पत्ति निज अनुसन्धान अधिकृत समक्ष उपस्थित नभएसम्मको लागि रोक्का राख्न आदेश दिन सक्नेछ ।

५) उपदफा (३) को खण्ड (ख) वा उपदफा (४) बमोजिम कुनै सम्पत्ति वा साधन रोक्का राख्न लेखी पठाएकोमा त्यस्तो सम्पत्ति वा साधन जिम्मा लिने वा नियन्त्रणमा राख्ने व्यक्ति, निकाय वा संस्थाले सो सम्पत्ति वा साधन कसैले हस्तान्तरण गर्न, धितो वा बन्धक दिन, बिक्री वा वितरण गर्न वा अन्य कुनै कारोबार गर्न वा अन्य लाभ लिन नपाउने व्यवस्था गर्नु पर्नेछ ।

६) अनुसन्धान अधिकृतले उपदफा (३) वा (४) बमोजिम सम्पत्ति वा साधन रोक्का राख्नु वा नियन्त्रणमा लिनु अगावै 2अनुसन्धान गर्ने कार्यालयको प्रमुखलाई जानकारी दिनु पर्नेछ ।

तर अनुसन्धानको सिलसिलामा कुनै सम्पत्ति वा साधन तत्काल रोक्का राख्नु वा नियन्त्रणमा लिनु पर्ने भएमा त्यस्तो सम्पत्ति वा साधन तत्काल रोक्का राख्ने आदेश जारी गरी वा नियन्त्रणमा लिई यथाशीघ्र सोको जानकारी 2अनुसन्धान गर्ने कार्यालयको प्रमुखलाई दिनु पर्नेछ ।

७) यस दफा बमोजिम सम्पत्ति वा साधन रोक्का राखेमा वा नियन्त्रणमा लिएमा अनुसन्धान अधिकृतले तीन दिनभित्र सोको लिखित जानकारी सम्बन्धित व्यक्तिलाई दिनु पर्नेछ ।

८) यस दफा बमोजिम सम्पत्ति वा साधन रोक्का राखेको वा नियन्त्रणमा लिएको विषयमा चित्त नबुझेमा सम्बन्धित व्यक्तिले दफा २२ को उपदफा (२) बमोजिम तोकिएको अदालत समक्ष रोक्का भएको सम्पत्ति वा साधन फुकुवा गर्न निवेदन गर्न सक्नेछ ।

९) उपदफा (८) बमोजिम निवेदन परेमा र उपदफा (१) वा (४) बमोजिम नियन्त्रण वा रोक्का रहेको सम्पत्ति वा साधन निवेदकको सम्पत्ति भएको देखिएमा तथा देहायको अवस्था विद्यमान भएमा अदालतले रोक्का राखेको वा नियन्त्रणमा लिइएको सम्पत्ति वा साधन फुकुवा गरिदिन सक्नेछ;

(क) निवेदक सम्पत्ति शुद्धीकरण वा आतङ्ककारी कार्यमा वित्तीय लगानी सम्बन्धी कुनै कसूरमा संलग्न भएको नदेखिएमा,

(ख) त्यस्तो सम्पत्ति वा साधन सम्पत्ति शुद्धीकरण वा आतङ्ककारी कार्यमा वित्तीय लगानी सम्बन्धी कुनै कसूरबाट प्राप्त सम्पत्ति वा साधन भएको वा त्यस्तो शङ्का गर्नु पर्ने मनासिब आधार नभएमा, र

(ग) त्यस्तो सम्पत्ति वा साधन निवेदकले गरेको अन्य कुनै कसूरसँग सम्बन्धित भएको नदेखिएमा ।

१०) कसैले दफा ३४ बमोजिम जफत हुन सक्ने सम्पत्ति वा साधनको जफतमा प्रतिकूल असर पर्ने गरी कुनै करारीय वा अन्य दायित्व सिर्जना गर्न खोजेको देखिएमा त्यस्तो कार्य रोक्न वा गरिसकेको भए त्यस्तो कार्य बदर गराउन अनुसन्धान अधिकृतलाई आवश्यक कारबाही चलाउने अधिकार हुनेछ ।

११) अनुसन्धान अधिकृतले यस दफा बमोजिम सम्पत्ति वा साधन नियन्त्रणमा लिएमा वा रोक्का राखेमा सो गरेको मितिले सात दिनभित्र सो कुराको प्रतिवेदन मुद्दा हेर्ने अधिकारी समक्ष दिनु पर्नेछ ।

१२) उपदफा (११) बमोजिम प्रतिवेदन प्राप्त भएमा मुद्दा हेर्ने अधिकारीले सो सम्बन्धमा आवश्यक र उपयुक्त आदेश दिन सक्नेछ ।

१३) यस दफा बमोजिम सम्पत्ति वा साधन रोक्का राख्ने वा नियन्त्रणमा लिने सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।

1सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी  केही ऐनलाई संशोधन गर्ने ऐन, २०८० द्वारा थप। 

2सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी  केही ऐनलाई संशोधन गर्ने ऐन, २०८० द्वारा संशोधित।

Share this Law

दफा १८: रोक्का राख्ने वा नियन्त्रणमा लिने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.