दफा ७त: सूचक संस्थाको दायित्व

Estimated reading: 0 minutes 309 views

१) यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम वा जारी भएको निर्देशिका वा दिएको निर्देशनको कार्यान्वयनको लागि सूचक संस्थाले आफ्नो देश, भौगोलिक क्षेत्र, कार्यक्षेत्र, व्यवसायको आकार, ग्राहक, कारोबार तथा जोखिमका आधारमा सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारण सम्बन्धी नीति तथा कार्यविधि बनाई लागू गर्नु पर्नेछ ।

२) उपदफा (१) बमोजिमको नीति तथा कार्यविधिमा देहायका विषयहरू समावेश गर्नु पर्नेछ;

(क) ग्राहकको पहिचान, व्यावसायिक सम्बन्ध, अनुगमन, कारोबारको सूचना, अभिलेख लगायतका अन्य दायित्वका सम्बन्धमा आन्तरिक नीति, प्रकृया तथा नियन्त्रण सम्बन्धी व्यवस्था,

(ख) निरन्तर अनुगमन सम्बन्धी व्यवस्था,

(ग) यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम वा जारी भएको निर्देशिका वा निर्देशनको पालना गर्ने वा गराउने व्यवस्था,

(घ) उच्च मर्यादा भएका कर्मचारी कायम गर्न कर्मचारी भर्ना लगायतका विषयमा कार्यविधिको पर्याप्त व्यवस्था,

(ङ) कर्मचारीलाई नियमित रूपमा तालीम तथा पुनर्ताजगी सम्बन्धी व्यवस्था,

(च) काम कारबाहीको स्वतन्त्र रूपमा अनुगमन, निरीक्षण, लेखापरीक्षण गरी अभिलेख अद्यावधिक गर्ने प्रभावकारी व्यवस्था,

(छ) शङ्कास्पद कारोबारको पहिचान तथा जानकारी सम्बन्धी व्यवस्था,

1(छ१) दफा ७ञ., ७ठ. र ७ड. सँग सम्बन्धित संस्थासँग सूचना आदानप्रदान गर्ने व्यवस्था,

1(छ२) ग्राहकको पहिचानको सम्पुष्टि तथा व्यावसायिक सम्बन्धको प्रयोग र सर्तको पालनाको सम्बन्धमा जोखिम व्यवस्थापन सम्बन्धी व्यवस्था,

(ज) यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम वा जारी गरिएको निर्देशिका वा दिएको निर्देशन बमोजिमको दायित्व पूरा गर्न र सोको प्रभावकारिता मूल्याङ्कन गर्न आवश्यक हुने अन्य व्यवस्था, र

(झ) नियमनकारी निकायले तोकिदिएका अन्य व्यवस्था ।

३) यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम वा जारी गरिएको निर्देशिका वा दिएको निर्देशन बमोजिमको दायित्व निरन्तर रूपमा पूरा गर्न सूचक संस्थाले व्यवस्थापन स्तरको कार्यान्वयन अधिकारी (कम्प्लायन्स अफिसर) नियुक्त गर्नु पर्नेछ ।

४) सूचक संस्थाले उपदफा (३) बमोजिमको कार्यान्वयन अधिकारीलाई देहायको काम, कर्तव्य र अधिकार तथा सोका लागि आवश्यक साधन स्रोत उपलब्ध हुने सुनिश्चित गर्नु पर्नेछ;

(क) आफ्नो कार्य सम्पादनको सिलसिलामा आवश्यक कुनै पनि अभिलेख, हिसाब किताब र लेखा सम्बन्धी कागजातहरू उपर पहुँच प्राप्त गर्ने,

(ख) सूचक संस्थाको सम्बन्धित कर्मचारीसँग कुनै सूचना, जानकारी, विवरण वा कागजात माग गर्ने र प्राप्त गर्ने,

(ग) यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियमावली वा जारी गरिएको निर्देशिका वा निर्देशनको कार्यान्वयन गर्न आवश्यक अन्य कार्य गर्ने, र

(घ) नियमनकारी निकायले तोकेको अन्य कार्य गर्ने ।

1५) सूचक संस्थाले प्रचलित कानुनमा भएको परिवर्तन, जोखिम मूल्याङ्कन, व्यवसाय र प्रविधिमा भएको परिवर्तन, कसूर गर्ने तरिका तथा प्रवृत्तिमा आएको परिवर्तन समेतको आधारमा वार्षिक रूपमा कम्तीमा एक पटक र आवश्यकता अनुसार एक पटकभन्दा बढी जोखिममा आधारित संस्थागत नीति, कार्यविधि तथा कार्ययोजना अद्यावधिक गरी नियमनकारी निकायमा पेश गर्नु पर्नेछ।

1६) सूचक संस्थाले यस ऐन बमोजिम गर्नु पर्ने ग्राहकको पहिचान, कारोबारको अनुगमन, निर्धारित सीमाभन्दा बढीको कारोबार वा शङ्कास्पद कारोबारको पहिचान तथा सोको आधार, जोखिम मूल्याङ्कन तथा व्यवस्थापन, नीति तथा कार्यविधिको कार्यान्वयन तथा यस ऐन बमोजिम गर्नु पर्ने अन्य कामकारबाही विद्युतीय माध्यमबाट समेत गर्ने व्यवस्था मिलाउनु पर्नेछ।

तर नियमनकारी निकायले जोखिम मूल्याङ्कनको आधारमा कम जोखिम देखिएको क्षेत्रको सूचक संस्थाको यस उपदफा बमोजिमको कुनै कामकारबाही विद्युतीय माध्यमबाट गर्न नपर्ने गरी छुट दिन सक्नेछ।  

1 सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने ऐन, २०८० द्वारा थप। 

Share this Law

दफा ७त: सूचक संस्थाको दायित्व

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.