दफा १४ : बदर गराउन सकिने करार

Estimated reading: 0 minutes 399 views

१) देहाय बमोजिम भएको करार सो करारबाट मर्का पर्ने व्यक्तिले बदर गराउन सक्नेछः

 (क) करकापबाट भएको करार,

 स्पष्टीकरणः कुनै व्यक्तिलाई निजको इच्छा विरुद्ध कुनै करार गराउने मनसायले निजको सम्पत्ति रोक्का राखेको वा राख्न धम्की दिएको वा निजको जिउ ज्यान वा इज्जतमा धक्का पुर्‍याउने धम्की दिएको वा प्रचलित कानुन बिपरित अन्य कुनै काम गरेको वा गर्न धम्की दिएको भए करकाप गरेको सम्झनु पर्छ ।

 (ख) अनुचित प्रभावबाट भएको करार,

 स्पष्टीकरणः

(१) आफ्नो प्रभावमा रहेको आफ्नो इच्छानुसार काम गराउन सकिने व्यक्तिबाट आफ्ना हित वा स्वार्थका लागि कुनै अनुचित लाभ उठाउने मनसायले त्यस्तो व्यक्ति उपर पारेको प्रभावलाई अनुचित प्रभाव सम्झनु पर्छ ।

(२) खण्ड (१) को सर्वसामान्यतामा प्रतिकूल प्रभाव नपर्ने गरी देहायका व्यक्तिलाई आफ्ना प्रभावमा रहेका आफ्नो इच्छानुसार काम गराउन सकिने व्यक्ति सम्झनु पर्छः

(अ) आफ्नो संरक्षकत्व, संरक्षण वा जिम्मामा रहेका व्यक्ति,

(आ) वृद्धावस्था, विरामी अवस्था वा शारीरिक वा मानसिक दुर्बलताले गर्दा केही समय वा सदाका लागि आफ्नो हितको बिचार गर्न नसक्ने व्यक्ति,

(इ) आफूले आर्थिक वा पदीय दवाब पार्न सकिने व्यक्ति ।

 (ग) जालसाजबाट भएको करार,

 स्पष्टीकरणः करार गर्ने पक्ष वा निजको प्रतिनिधिले अर्को पक्ष वा निजको प्रतिनिधिलाई धोका दिने नियतबाट कुनै कुरा सत्य होइन भन्ने जानकारी हुँदा हुँदै सो कुरा सत्य हो भनी विश्वास दिलाएको वा विश्वास पर्न सक्ने कुनै काम कारबाही गरेको वा कुनै तथ्यका बारेमा जानकारी हुँदा हुँदै सो तथ्य जानी जानी लुकाएको वा प्रचलित कानुन बमोजिम जालसाज हुने अन्य कुनै काम गरेको भए जालसाज गरेको सम्झनु पर्छ ।

 (घ) झुक्याई गराएको करार ।

 स्पष्टीकरणः देहाय बमोजिमको कामलाई झुक्याएको सम्झनु पर्छः

(क) मनासिब माफिकको आधार बेगर कुनै कुराको झुठ्ठा विवरण दिएको,

(ख) कुनै पक्षलाई मर्का पर्ने गरी बहकाएको,

(ग) करारको विषय वस्तुमा गल्ती गराएको ।

२) यस दफा बमोजिम बदर गराउन सकिने करारका हकमा देहायका कुरामा देहाय बमोजिम हुनेछ ः–

 (क) करार गराइएको पक्षले करारलाई बदर नगराई सो करार हुनु अघि निजको स्थिति जस्तो हुन्थ्यो सो बमोजिम गराई माग्न सक्नेछ ।

 (ख) कसैले आफ्नो प्रभावमा रहेको आफ्नो इच्छा अनुसार काम गराउन सक्ने व्यक्तिसँग करार गरेकोमा त्यस्तो करार अनुचित प्रभावबाट गरिएको होइन भनी प्रमाणित गर्ने भार त्यसरी अनुचित प्रभाव पारेको होइन भन्ने पक्षमाथि रहनेछ ।

Share this Law

दफा १४ : बदर गराउन सकिने करार

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.