दफा ५९ : प्रतिनिधिले पालन गर्नु पर्ने कुराहरू
१) करारमा अन्यथा व्यवस्था भएकोमा बाहेक प्रतिनिधिले देहायका कुराहरू पालना गर्नु पर्नेछ;
(क) एजेन्सी सम्बन्धी करारको शर्त तथा मुख्य व्यक्तिले दिएको निर्देशनको अधीनमा रही काम गर्नु पर्नेछ ।
(ख) करारमा कुनै शर्त उल्लेख नभएकोमा वा मुख्य व्यक्तिले कुनै निर्देशन नदिएकोमा प्रतिनिधिले सुम्पिएको काम तथा व्यापार व्यवसायको प्रकृति र कारोबार गर्ने स्थानको कानुन तथा प्रचलन अनुसार सो काम जसरी सम्पादन गर्नु पर्ने हो सोही बमोजिम असल नियतले पूर्ण लगनशीलताका साथ आवश्यक सीप तथा दक्षता बमोजिम सम्पादन गर्नु पर्नेछ ।
तर कुनै विषयमा प्रतिनिधिमा दक्षता वा क्षमता नरहेको कुरा मुख्य व्यक्तिलाई पहिला नै थाहा रहेछ भने त्यस्तो प्रतिनिधिको अदक्षता वा असक्षमताबाट हुन गएको हानि नोक्सानी बापत प्रतिनिधि उत्तरदायी हुने छैन ।
(ग) प्रतिनिधिबाट हटाइएपछि निजले सोही विषयमा पूर्ववत् रूपमा प्रतिनिधिको हैसियतले कुनै काम गर्नु हुँदैन ।
(घ) मुख्य व्यक्तिले मागेको बखत आफ्नो एजेन्सीको व्यवसाय सम्बन्धी हिसाब किताबको विवरण दिनु वा देखाउनु पर्नेछ ।
(ङ) एजेन्सीको कामको सिलसिलामा कुनै बाधा अवरोध वा कठिनाई परेमा यथासम्भव छिटो मुख्य व्यक्तिलाई खबर गरी आवश्यक निर्देशन लिनु पर्नेछ र यसरी दिएको निर्देशन बमोजिम भए गरेको कार्य बापत मुख्य व्यक्ति जिम्मेवार हुनेछ ।
२) खण्ड (क), (ख) र (ग) बमोजिम गर्नु पर्ने कर्तव्य पूरा नगरेको कारणबाट मुख्य व्यक्तिलाई कुनै हानि नोक्सानी भएमा त्यस्तो हानि नोक्सानी प्रतिनिधिले व्यक्तिगत रूपमा व्यहोर्नु पर्नेछ ।