कम्पनी ऐन, २०६३ अन्तर्गत संस्थापित
…………………..(कम्पनीको पुरा नाम)
(मुनाफा वितरण नगर्ने कम्पनी) को
नियमावली
परिच्छेद–१
प्रारम्भिक
१. कम्पनीको नामः यस कम्पनीको “…………………………………” (कम्पनीको पुरा नाम) हुनेछ।
२. कम्पनीको रजिष्टर्ड कार्यालय रहने ठेगानाः यस कम्पनीको रजिष्टर्ड कार्यालय ………….. जिल्ला, ………………………. न.पा./ग.पा. वडा नं. ………….. मा रहनेछ।
३. परिभाषाः विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस नियमावलीमा;
(क) “ऐन” भन्नाले कम्पनी ऐन, २०६३ सम्झनु पर्छ ।
(ख) “कार्यालय” भन्नाले कम्पनी रजिष्ट्रारको कार्यालय सम्झनु पर्छ ।
(ग) “कम्पनी” भन्नाले ‘थारू हेरिटेज फाउण्डेशन सम्झनु पर्छ ।
(घ) “पदाधिकारी” भन्नाले कम्पनीको सञ्चालक, कार्यकारी प्रमुख, प्रबन्धक, कम्पनी सचिव, लिक्वीडेटर वा विभागीय जिम्मेवारी लिने कुनै कर्मचारी समेत सम्झनुपर्छ ।
(ङ) “सभा” भन्नाले कम्पनीको साधारण सभा सम्झनुपर्छ ।
(च) “संचालक समिति” भन्नाले कम्पनीको संचालक समिति सम्झनु पर्छ ।
(छ) “सदस्य” भन्नाले प्रबन्दपत्रको दफा ९ बमोजिम कम्पनीको सदस्यता प्राप्त गरेको र कम्पनीको दर्ता किताबमा सदस्यको रुपमा नाम दर्ता भएको व्यक्ति सम्झनु पर्छ ।
(ज) “प्रबन्धपत्र” भन्नाले कम्पनीको प्रबन्धपत्र सम्झनु पर्छ ।
(झ) “नियमावली” भन्नाले कम्पनीको नियमावली भनेर सम्झनु पर्छ ।
४. कम्पनीको उद्देश्यः कम्पनीको उद्देश्य प्रबन्धपत्रको दफा ४ मा उल्लेख भए बमोजिम हुनेछ ।
परिच्छेद-२
साधारण सभा
५. कम्पनीको सभा बोलाउने तरिका र सभाका लागि दिनु पर्ने सूचना सम्बन्धी कुराहरुः (१) यस कम्पनीको साधारण सभा देहाय बमोजिम हुनेछन्ः
(क) वार्षिक साधारण सभा
(ख) विशेष साधारण सभा
(२) यस कम्पनीको प्रथम वार्षिक साधारण सभा कम्पनी संस्थापना भएको मितिले बाह्र (१२) महिना भित्र गरिनेछ र त्यस पछिका वार्षिक साधारण सभाहरू आर्थिक वर्ष समाप्त भएको मितिले छ (६) महिना भित्र गरिनेछ ।
(३) कम्पनीको वार्षिक साधारण सभा गर्नका लागि कम्तीमा (२१) एक्काइस दिन अगावै र विशेष साधारण सभा गर्नका लागि कम्तीमा (१५) पन्ध्र दिन अगावै सभा हुने ठाउँ, मिति, समय र छलफल गर्ने विषय खोली सवै सदस्यलाई सूचना दिइनेछ ।
(४) सञ्चालक समितिको अध्यक्ष वा सञ्चालक समितिले तोकेको पदाधिकारीले साधारण सभा बोलाउनेछ ।
(५) उपनियम (४) मा उल्लिखित पदाधिकारीले साधारण सभा नबोलाएमा वा अन्य कुनै कारणले सञ्चालक समितिको बैठक बस्न नसकेमा सञ्चालक समितिको कूल सञ्चालकहरु मध्ये कम्तीमा ५१ (एकाउन्न) प्रतिशत सञ्चालक उपस्थित भै सोही कारण खुलाई साधारण सभा बोलाउने निर्णय गर्न सक्नेछन् । यसरी साधारण सभा बोलाउन सबै सदस्यलाई उपनियम (३) बमोजिमको सूचना दिनु पर्नेछ । यसरी बस्ने सञ्चालक समितिको बैठक र साधारण सभामा अध्यक्ष उपस्थित भएमा निजको अध्यक्षतामा र अध्यक्ष अनुपस्थित भएमा उपस्थित सञ्चालकहरु मध्येबाट छानिएको सञ्चालकले साधारण सभाको अध्यक्षता गर्नेछ ।
(६) उपनियम (३) वा (५) बमोजिम बोलाइएको साधारण सभा वा विशेष साधारण सभामा नियम १० बमोजिमको गणपूरक संख्या नपुगी सभा हुन नसकेमा कम्तीमा (७) सात दिनको म्याद दिइ पुनः साधारण सभा बोलाइनेछ । यस्तो सूचना कम्तीमा (७) सात दिनअघि कुनै राष्ट्रिय स्तरको दैनिक पत्रिकामा प्रकाशन गरेमा रितपूर्वकको सूचना दिएको मानिनेछ।
६. साधारण सभाको कार्यविधिः (१) साधारण सभाको अध्यक्षता सञ्चालक समितिको अध्यक्षले गर्नेछ।
(२) सञ्चालक समितिको अध्यक्ष अनुपस्थित भएमा सञ्चालक मध्येबाट सञ्चालनहरूले छानेको सञ्चालकले साधारण सभाको अध्यक्षता गर्नेछ । सभामा सञ्चालक समितिको अध्यक्ष तथा सबै सञ्चालक अनुपस्थित भएमा उपस्थित सदस्यहरूले आफूमध्येबाट छानिएको सदस्यले सभाको अध्यक्षता गर्नेछ।
(३) सभाको काम कारबाही प्रारम्भ हुनु अघि सभाको वैधता बारे छलफल गरी गणपूरक संख्या पुगे वा नपुगेको यकिन गर्नु पर्नेछ र गणपूरक संख्या पुगेको पाइएमा सो सभा अध्यक्षको अनुमतिले विधिवत् सञ्चालन हुनेछ ।
(४) सभामा छलफल गरिने प्रत्येक विषय (एजेण्डा) प्रस्तावको रुपमा प्रस्तुत हुनेछ र प्रत्येक प्रस्तावमा छलफल गरिनेछ । अध्यक्षले अनुमति दिएकोमा बाहेक एउटा प्रस्तावमा निर्णय नभई अर्को प्रस्तावमा प्रवेश गरिने छैन।
(५) सभाको निर्णय बहुमतको आधारमा हुनेछ । तर विशेष प्रस्तावको हकमा सभामा उपस्थित सदस्यहरूमध्ये (७५) पचहत्तर प्रतिशत सदस्यले प्रस्तावक पक्षमा मत दिएमा मात्र त्यस्तो प्रस्ताव सभाबाट पारित भएको मानिनेछ ।
(६) सभामा मत बराबर भएमा अध्यक्षले निर्णायक मत दिनेछ ।
(७) साधारण सभामा उपस्थित कूल सदस्यहरूमध्ये सतसट्ठी (६७) प्रतिशत सदस्यहरूले स्वीकृति दिएकोमा बाहेक सभाको सूचनामा उल्लेख नगरिएको अन्य विषय (एजेण्डा) उपर छलफल र निर्णय गरिने छैन ।
(८) कुनै विषयमा सदस्यहरूको मत सङ्कलन गर्नु पर्ने भएमा सभाको अध्यक्षले तोकेको प्रक्रिया अनुसार मत सङ्कलन गरिनेछ ।
७. साधारण सभामा पेश गर्ने अन्य विषयः ऐनमा उल्लेख भएको विषय बाहेक साधारण सभामा अन्य कुनै विषय पेश गर्ने कुनै व्यवस्था गरिएको छैन ।
८. विशेष प्रस्तावः ऐनमा उल्लेख भएको विषय वाहेक कम्पनीले विशेष प्रस्ताव पारित गरी निर्णय गर्नु पर्ने कुनै विषयको व्यवस्था गरिएको छैन।
९. विशेष साधारण सभाः ऐन बमोजिम कम्पनीको विशेष साधारण सभा बोलाउन सकिनेछ ।
१०. गणपूरक संख्याः कूल सदस्यहरूको (५०) पचास प्रतिशत भन्दा बढी सदस्यहरू उपस्थित नभई साधारण सभाको काम कारबाही हुने छैन।तर नियम (५) को उपनियम (६) मा उल्लेख भए बमोजिम पुनः बोलाइएको साधारण सभामा कूल सदस्य संख्याको (२५) पच्चीस प्रतिशत सदस्यहरू उपस्थित भएमा सभा गर्न वाधा पर्नेछैन।
११. मतदानः प्रत्येक सदस्यलाई एक सदस्य एक मतको आधारमा मत दिने अधिकार हुनेछ।
तर, मानार्थ सदस्यलाई मतदान गर्ने अधिकार हुनेछैन ।
१२. साधारण सभाको निर्णयको विवरणको अभिलेखः (१) ऐन अनुसार खुलाउनु पर्ने कुरा खुलाई साधारण सभाको काम कारबाही तथा निर्णयको विवरण छुट्टै अभिलेख गरी राखिने छ । त्यस्तो विवरणमा सभाको अध्यक्ष तथा कम्पनी सचिवले हस्ताक्षर गर्नु पर्नेछ। कुनै व्यहोराले सभामा कम्पनी सचिव अनुपस्थित भएको वा कम्पनी सचिवको नियुक्ति नभएको अवस्थामा सभाको अध्यक्ष तथा सभाले नियुक्त गरेको एकजना सदस्यले त्यस्तो विवरणमा हस्ताक्षर गर्नु पर्नेछ ।
(२) उपनियम (१) अनुसार राखिएको साधारण सभाको काम कारबाहीको विवरणको अभिलेख कम्पनीको रजिष्ट्रर्ड कार्यालयमा राख्नु पर्नेछ । त्यस्तो विवरण कुनै सदस्यले कार्यालय समयमा निरीक्षण गर्न चाहेमा कम्पनी सचिव वा कम्पनीले तोकेको अन्य कर्मचारीले निरीक्षण गर्न दिनु पर्नेछ।
परिच्छेद-३
सञ्चालक समिति
१३. सञ्चालक समितिको गठन, संख्या र कार्यकालः (१) सञ्चालकहरूको नियुक्ति निर्वाचन वार्षिक साधारण सभाबाट हुनेछ ।
(२) यस कम्पनीमा सात (७) जनाको सञ्चालक समिति हुनेछ ।
(३) सञ्चालकहरुको कार्यकाल (४) चार वर्षको हुनेछ ।
(४) वार्षिक साधारण सभा हुनु अगावै कुनै सञ्चालकको पद रिक्त हुन आएमा बाँकी अवधिका लागि सञ्चालकको नियुक्ति जुन प्रक्रियाबाट नियुक्त भएको थियो सोही प्रक्रियाबाट गरिनेछ । कुनै सञ्चालकको कार्यकाल पूरा नहुँदै बीचमा पद रिक्त भई सो पदमा नियुक्त भएको सञ्चालकको कार्यकाल जुन सञ्चालकको पद रिक्त भई नियुक्त भएको हो सो सञ्चालकको बाँकी कार्यकाल सम्मको लागि मात्र हुनेछ ।
तर वार्षिक साधारण सभाद्वारा नियुक्त गरिएको सञ्चालकको पद कुनै व्यहोराले रिक्त भएमा सो रिक्त स्थानमा अर्को साधारणसभा सम्मको लागि सञ्चालक समितिले सञ्चालक नियुक्त गर्नेछ ।
(५) संगठित संस्थाले सञ्चालक नियुक्ति गर्दा निजको वैकल्पिक सञ्चालक पनि नियुक्त गर्न सक्नेछ ।
(६) यस कम्पनीको प्रथम वार्षिक साधारण सभा नभएसम्म निम्न सञ्चालक रहेको प्रथम सञ्चालक समिति रहनेछः–
(क) ………………..
(ख) ………………..
(ग) ………………..
(आवश्यक अनुसार थप गर्दै जाने)
१४. सञ्चालक पुनः नियुक्त हुन सक्ने वा नसक्नेः एक पटक सञ्चालक भइसकेको व्यक्ति सञ्चालकमा पुनः नियुक्त हुन सक्नेछ।
१५. सञ्चालकको पारिश्रमिक, भत्ता र सुविधासम्बन्धी व्यवस्थाः यस कम्पनीका सञ्चालकले पाउने बैठक भत्ता तथा अन्य सुविधा कार्यालयले तोकेभन्दा बढी हुनेछैन।
१६. सञ्चालकको योग्यताः ऐन को दफा ८९ बमोजिम, कुनै सञ्चालक पदमा नियुक्त हुन अयोग्य नभएको कुनै पनि सदस्य सञ्चालक पदमा नियुक्त हुनका लागि योग्य हुनेछ।
१७. सञ्चालक समितिको काम, कर्तव्य र अधिकारहरुः ऐन वा नियमावलीमा लेखिएका कुराहरु र साधारण सभाको निर्णयका अधिनमा रहि कम्पनीको सम्पूर्ण कारोबारका व्यवस्थापन, अधिकारहरुको प्रयोग र कर्तव्यका पालना सञ्चालकहरुले सामूहिक रुपमा सञ्चालक समिति मार्फत गर्नेछन्।
१८. अधिकार प्रत्यायोजन सम्बन्धी व्यवस्थाः (१) सञ्चालक समितिले आफ्नोे अधिकार प्रत्यायोजन गर्न सक्नेछ।
(२) सञ्चालक समितिले कुनै उपसमिति वा कुनै सञ्चालक वा पदाधिकारी वा कम्पनीको कुनै विभागीय जिम्मेवारी लिएको व्यक्ति वा आवश्यकता अनुसार कुनै पनि व्यक्तिलाई अधिकार प्रत्यायोजन गर्न सक्नेछ।
१९. प्रवर्धन सञ्चालक सम्बन्धी व्यवस्थाः (१) कम्पनीको दैनिक काम कारोबार सुव्यवस्थित रुपले सञ्चालन गर्न तथा कम्पनीको व्यवस्थापन तथा संचालन गर्न कम्पनीमा सञ्चालक समितिद्वारा नियुक्त एक प्रबन्ध सञ्चालक नियुक्त गर्न सक्नेछ ।
(२) प्रबन्धक सञ्चालकको काम, कर्तव्य र अधिकारहरू निम्नानुसार हुनेछः
(क) ऐन अधिनमा रहि कम्पनीको तर्फबाट कुनै पनि सम्झौता वा करार गर्ने ।
(ख) कम्पनीको तर्फबाट विनिमय अधिकारपत्र वा चेक आदिमा सहिछाप गर्ने ।
(ग) कम्पनीको तर्फबाट वा कम्पनी विरुद्ध अदालत वा अन्य अर्ध न्यायिक निकायमा परेका मुद्दा मामिलाहरूको पुर्पक्ष गर्ने, प्रतिरक्षा गर्ने, लिखित जबाफ पेश गर्ने ।
(घ) सरकारी, अर्ध सरकारी, स्थानीय निकाय, अन्य निकायहरूमा कम्पनीको तर्फबाट प्रतिनिधित्व गर्ने ।
(ङ) कम्पनीको काम कारबाहीको लागि आवश्यक पर्ने इन्जिनियर, विशेषज्ञ, सुपरिवेक्षक, कानूनी व्यवसायी तथा अन्य कामदार कर्मचारीहरूको नियुक्ति गर्ने, तिनिहरूको सेवा शर्त तथा तलब भत्ता रोक्ने ।
(च) संचालक समितिले तोकेका अन्य कामकारबाही गर्ने ।
(३) प्रबन्ध सञ्चालकको पारिश्रमिक तथा सेवाका अन्य शर्तहरु कार्यालयले तोकेको सीमाको अधीनमा रही करारद्वारा निश्चित गरिनेछ।
२०. प्रमुख कार्यकारी अधिकृत सम्बन्धी व्यवस्थाः हाल प्रमुख कार्यकारी अधिकृत सम्बन्धी व्यवस्था गरिएको छैन।
२१. सञ्चालक समितिको बैठकः अध्यक्ष, कम्पनी सचिव वा अध्यक्षले तोकेको कुनै व्यक्तिले सञ्चालक समितिको बैठक बोलाउनेछ।
२२. सञ्चालक समितिको बैठक सम्बन्धी कार्यविधिः (१) सञ्चालक समितिको बैठक आवश्यकता अनुसार नियम २१ मा लेखिएको पदाधिकारीले बोलाउनेछ । त्यसरी बैठक नबोलाएमा कूल सञ्चालक संख्याको कम्तीमा २५ (पच्चीस) प्रतिशत सञ्चालकहरुले माग गरेमा त्यस्तो पदाधिकारीले ७ (सात) दिनभित्र सञ्चालक समितिको बैठक बोलाउनु पर्नेछ । यसरी माग गर्दा पनि बैठक नबोलाएमा सो कुरा खुलाई कम्तीमा २५ (पच्चीस) प्रतिशत सञ्चालकले बैठकमा छलफल हुने विषय र बैठक बस्ने समय तथा स्थान उल्लेख गरी सञ्चालक समितिको बैठक बोलाउन सक्नेछन् । यसरी बैठक बोलाउँदा अन्य सञ्चालकहरुलाई उपनियम (२) अनुसार बैठकको सूचना दिनु पर्नेछ ।
(२) सञ्चालक समितिको बैठकको सूचना सञ्चालकले उल्लेख गरेको ठेगानामा लिखित रुपमा वा विद्युतीय सञ्चार माध्यमबाट दिन सकिनेछ ।
(३) सञ्चालकहरू सञ्चालक समितिको बैठकमा स्वयम् उपस्थित हुनु पर्नेछ तर वैकल्पिक सञ्चालक नियुक्त गर्ने सञ्चालकको अनुपस्थित भएको अवस्थामा निजको वैकल्पिक सञ्चालक उपस्थित हुन सक्नेछ ।
(४) सञ्चालकहरूको कूल संख्याको कम्तीमा एकाउन्न (५१) प्रतिशत सञ्चालकहरू उपस्थित नभई सञ्चालक समितिको बैठक हुने छैन । तर गणपूरक संख्या नपुगी सञ्चालक समितिको बैठक हुन नसकेमा कम्तीमा सात (७) दिनको सूचना दिइ अर्को बैठक बोलाउन सकिनेछ । त्यस्तो बैठकमा पनि गणपूरक संख्या नपुगेमा उपस्थित सञ्चालकहरुले गरेको काम कारबाही तथा निर्णय मान्य हुनेछ ।
(५) सञ्चालक समितिको बैठकको अध्यक्षता समितिको अध्यक्षले गर्नेछ । निजको अनुपस्थितिमा बैठकमा उपस्थित सञ्चालकहरुले आफू मध्येबाट छानेको सञ्चालकले अध्यक्षता गर्नेछ।
(६) सञ्चालक समितिको बैठकमा बहुमतको निर्णय मान्य हुनेछ र मत बराबर भएमा अध्यक्षले निर्णायक मत दिन सक्नेछ ।
तर सञ्चालक समितिको बैठकमा आफ्नो निजी सरोकार वा स्वार्थ भएको विषयमा हुने छलफलमा कुनै सञ्चालकले भाग लिन र मतदान गर्न पाउने छैन ।
(७) सञ्चालक समितिको कुनै बैठकको निर्णयमा असहमत हुने कुनै सञ्चालकले असहमति जनाउने छुट्टै राय लेख्न वा राख्न पाउनेछ ।
(८) यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि सञ्चालक समितिले गर्न पाउने कुनै कामको सम्बन्धमा सञ्चालक समितिका सवै सदस्यहरू लिखित रुपमा सहमत भएमा त्यस्तो सहमतिलाई निर्णय पुस्तिकामा संलग्न गरी त्यस्तो काम बैठक बिना पनि गर्न सकिनेछ । त्यस्तो सहमतिलाई सञ्चालक समितिको बैठकको निर्णय सरह मानिनेछ ।
(९) यस दफामा जुनसुकै कुरा लेखिएको भएपनि यस दफामा उल्लेखित कार्यविधि अपनाई सञ्चालक समितिको निर्णय भिडियो कन्फर्रेन्स अथवा अन्य कुनै विद्युतिय माध्यमबाट समेत सम्पन्न गर्न सकिनेछ ।
२३. सञ्चालक समितिको निर्णयको अभिलेखः (१) सञ्चालक समितिको बैठकमा छलफल भएको विषय र तत्सम्बन्धमा भएको निर्णयको विवरण (माइन्यूट) को छुट्टै अभिलेख राख्नु पर्नेछ र सो अभिलेखमा बैठकमा उपस्थित सम्पूर्ण सञ्चालकहरुको कम्तीमा ५१ (एकाउन्न) प्रतिशत सञ्चालकले सही गर्नु पर्नेछ । तर बैठकमा उपस्थित कुनै सञ्चालकले निर्णयको विवरणमा सही नगरेकै कारणबाट उक्त निर्णय अमान्य भएको मानिने छैन ।
(२) विद्युतीय सञ्चार साधन वा कम्प्युटरको प्रयोग गर्ने भए त्यस्तो विद्युतीय सञ्चार साधन वा कम्प्युटरको माध्यमबाट पनि निर्णयको विवरण राख्न सकिनेछ । यसरी निर्णयको विवरण राख्ने भए निर्णयको व्यहोरा फेरबदल गर्न नपाउने पर्याप्त व्यवस्था गर्नु पर्नेछ ।
(३) कम्पनीका निर्णयहरू सदस्यहरूले निरीक्षण गर्न चाहेमा कार्यालय समयभित्र निरीक्षण गर्न दिनु पर्नेछ।
२४. सदस्य तथा सञ्चालकहरुको आचारसंहिताः कम्पनीले कारोबार शुरु गरेको एक वर्षभित्र कम्पनीका सदस्य, सञ्चालक तथा पदाधिकारिहरूले पालना गर्नुपर्ने आचारसंहिता साधारण सभाबाट बनाई लागू गर्नेछ।
परिच्छेद-४
हिसाब किताब, लेखा तथा लेखापरीक्षण
२५. कम्पनीको खर्च सम्बन्धी व्यवस्थाः (१) यस कम्पनीमा पूरा समय काम गर्ने पदाधिकारी वा सदस्यले पाउने तलव, बैठक भत्ता, अन्य सुविधा तथा कम्पनीको संस्थापना र कम्पनी सञ्चालन गर्दा लाग्ने खर्च कम्पनीको पूँजीगत अवस्था तथा मुनाफालाई आधार बनाई कार्यालयले तोकिदिए बमोजिम हुनेछ ।
(२) उपनियम (१) बमोजिम सञ्चालक वा सदस्यले पाउने तलव, बैठक भत्ता र अन्य सुविधा तोक्ने प्रयोजनका लागि कम्पनीले आफ्नो पूँजीगत अवस्था, हुन सक्ने वा भएको आम्दानी र मुनाफा तथा तोक्नु पर्ने प्रस्तावित तलव भत्ता र सुविधाको आधार एवं कारण तथा त्यस्तो तलव भत्ता सुविधा भुक्तानी गर्ने स्रोत समेत खुलाई कार्यालयमा पेश गर्नेछ ।
(३) कम्पनीमा काम गर्ने कर्मचारी वा सल्लाहकारको पारिश्रमिक तथा सुविधा सञ्चालक समितिले तोके अनुसार हुनेछ ।
(४) उपनियम (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि कम्पनीको कुनै सदस्य वा पदाधिकारीको नजिकको नातेदारलाई कुनै वैतनिक कर्मचारी वा सल्लाहकार नियुक्त गर्दा साधारण सभाको पूर्व स्वीकृति लिनु पर्नेछ र ३५ (पैंतीस) दिनभित्र यस्ता कर्मचारी वा सल्लाहकारले पाउने तलव तथा सुविधाको बारेमा कार्यालयलाई लिखित जानकारी दिनु पर्नेछ।
२६. कम्पनीको हिसाबकिताब, लेखा तथा लेखापरीक्षण सम्बन्धी व्यवस्थाः (१) यस कम्पनीको लेखा तथा हिसाबकिताब प्रचलित कानून अनुसार अधिकार प्राप्त निकायले निर्धारण गरेको लेखा मापदण्ड अनुरूप तयार गरिनेछ ।
(२) कम्पनीले राख्नुपर्ने हिसाबकिताब प्रति दिनको कारोबार स्पष्ट देखिने गरी अद्यावधिक रुपमा राख्नु पर्नेछ ।
(३) ऐन बमोजिम यस कम्पनीले आफ्नो हिसाबकिताब लेखापरीक्षण गराउनेछ ।
(४) यस कम्पनीको साधारण सभाले ऐन बमोजिम लेखा परीक्षक नियुक्त गर्नेछ । त्यसरी नियुक्त भएको मितिले पन्ध्र दिनभित्र निजको नाम कार्यालयमा पठाउनेछ ।
तर प्रथम साधारण सभा हुनुभन्दा अघि सञ्चालक समितिले लेखापरीक्षक नियुक्त गर्नेछ।
(५) उपनियम (४) बमोजिम नियुक्त लेखापरीक्षकले आफूले लेखा परीक्षण गरेको हिसाबकिताब र लेखाबाट कम्पनीको वासलात, नाफा नोक्सानीको हिसाब एवं नगद प्रवाह विवरण प्रमाणित गरी आफूलाई नियुक्त गर्ने अधिकारीलाई सम्बोधन गरी आफ्नो प्रतिवेदन कम्पनीलाई दिनेछ। कम्पनीले त्यस्तो प्रतिवेदनको प्रतिलिपि प्रत्येक सदस्य र कार्यालयलाई पठाउनु पर्नेछ।
(६) कम्पनीको अद्यावधिक हिसाबकिताब कुनै सदस्यले निरीक्षण गर्न चाहेमा कार्यालय समयभित्र यथाशीघ्र निरीक्षण गर्न दिनु पर्नेछ ।
परिच्छेद-५
विविध
२७. सदस्य, सञ्चालक र पदाधिकारीलाई दिईने तथा निजबाट प्राप्त हुने सूचनाः कम्पनीले सदस्य, सञ्चालक वा पदाधिकारीहरुलाई र सदस्य, सञ्चालक वा पदाधिकारीहरुले कम्पनीलाई कुनै सूचना वा जानकारी विद्युतीय वा अन्य कुनै माध्यमबाट पनि दिन सक्नेछ।
२८. कम्पनी सचिवः (१) संचालक समितिले योग्यता पुगेको नेपाली नागरिकलाई कम्पनी सचिवको पदमा नियुक्त गर्न सक्नेछ ।
(२) उपनियम (१) बमोजिम नियुक्त भएको कम्पनी सचिवको काम, कर्तव्य र अधिकार ऐन बमोजिम हुनेछ ।
(३) कम्पनी सचिवको अन्य काम, कर्तव्य र अधिकार, पारिश्रमिक तथा सेवाका अन्य शर्तहरु निजको नियुक्तिको बखत संचालक समितिले तोके बमोजिम हुनेछ ।
२९. कम्पनीको छाप सम्बन्धी व्यवस्थाः कम्पनीले आफ्नो काम कारोबारमा छाप प्रयोग गर्नेछ र यो कम्पनीको देहायको जिम्मामा हुनेछ।
(१) प्रबन्ध सञ्चालक वा निजले तोकेको अन्य कुनै व्यक्ति।
(२) अनधिकृत रुपमा छाप प्रयोग गरि कम्पनी उपर कुनै दायित्व सिर्जना भएमा सो छाप जिम्मा लिने व्यक्तिबाट त्यस्तो दायित्व सिर्जना हुने रकम कम्पनीले असुल उपर गर्न सक्नेछ।
३०. प्रतिलिपि दस्तुर सम्बन्धी व्यवस्थाः (१) कम्पनीको प्रबन्धपत्र, नियमावली, वार्षिक आर्थिक विवरण, लेखापरीक्षण प्रतिवेदन, सञ्चालकको लगत, दर्ता प्रमाणपत्र वा कम्पनीले कार्यालयमा पेश गरेको कुनै लिखतको प्रतिलिपि कुनै सदस्य वा अरू कुनै सरोकारवालाले माग गरेमा दस्तुर लिई प्रतिलिपि दिनु पर्नेछ ।
(२) साधारण सभाको काम कारबाहीको विवरणको प्रतिलिपि प्राप्त गर्न प्रति पृष्ठ रु ५ (पाँच) दस्तुर लाग्नेछ ।
(३) सञ्चालक समितिको निर्णयको प्रतिलिपि प्राप्त गर्न प्रति पृष्ठ रु ५(पाँच) दस्तुर लाग्नेछ।
(४) सदस्यको दर्ता किताबको प्रतिलिपि प्राप्त गर्न प्रति पृष्ठ रु ५(पाँच) दस्तुर लाग्नेछ।
३१. कम्पनीले ऋण लिने वा दिने व्यवस्थाः ऐन बमोजिम साधारण सभाबाट स्वीकृति लिनु पर्ने अवस्थामा बाहेक ऋण लिने अधिकार सञ्चालक समितिले प्रयोग गर्नेछ।
३२. कम्पनी गाभिने कुराः (१) यो कम्पनी ऐनको दफा ३ को उपदफा (१) बमोजिम संस्थापना भएको कम्पनीसँग गाभिन सक्ने छैन वा त्यस्तो कम्पनीलाई आफूमा गाभ्न सक्ने छैन ।
(२) यो कम्पनीमा समान उद्देश्य भएको कुनै अर्को मुनाफा वितरण नगर्ने कम्पनीलाई वा यस कम्पनीलाई समान उद्देश्य भएको कुनै मुनाफा वितरण नगर्ने कम्पनीमा गाभ्न आवश्यक भएमा साधारण सभाले विशेष प्रस्ताव पारित गरी ऐन बमोजिमको प्रक्रिया पूरा गरी कम्पनीलाई गाभ्न सकिनेछ।
३३. कम्पनीको खारेजीः (१) कम्पनीको साधारण सभाले आवश्यक देखेमा विशेष प्रस्ताव पारित गरी कम्पनी खारेज गर्न सक्नेछ।
(२) उपनियम (१) बमोजिम खारेजीको प्रस्ताव पारित गर्दा साधारण सभाले खारेजीको कामका लागि एक वा एकभन्दा बढी लिक्विडेटर र लेखापरीक्षकहरूको नियुक्ति गर्नेछ । त्यसरी नियुक्त भएका लिक्विडेटर तथा लेखापरीक्षकको पारिश्रमिक साधारण सभाले तोकि दिए बमोजिम हुनेछ ।
(३) उपनियम (२) बमोजिम नियुक्त लिक्विडेटर तथा लेखापरीक्षकले कम्पनी खारेजी सम्बन्धी काम कारबाही गर्नेछन् ।
३४. कम्पनीको खारेजी र कम्पनीको जायजेथाः प्रचलित कानुनको अधिनमा रहि कम्पनी खारेज हुँदा कम्पनीको ऋण दायित्व भुक्तानी गरी बाँकी रहेको जायजेथा नेपाल सरकारको हुनेछ।
३५. कुनै खास व्यवसाय गर्ने कम्पनीको नियमावलीमा खुलाउनु पर्ने भनी प्रचलित कानूनमा कुनै व्यवस्था गरिएको भए सो कुरा खुलाउनेः नभएको।
३६. अन्य आवश्यक कुराहरुः दातृ संस्थाको आर्थिक सहयोगमा खरिद गरिएको सम्पत्तिको प्रयोग तथा निसर्ग कम्पनी र दाता बीचको लिखित व्यवस्था अनुरूप हुनेछ। सबै परियोजना कोषका १५% (१०%+५%) प्रशासनिक खर्च मानिनेछ जुन परियोजना कार्यान्वयन र अनुसन्धानका लागि क्रमशः प्रयोग गरिनेछ।
३७. नियमावलीमा संशोधन भएमा लागू हुने अवस्थाः यस नियमावलीमा कुनै संशोधन गर्नु पर्ने भएमा साधारण सभामा विशेष प्रस्ताव पारित गरी सो निर्णय कार्यालयमा अभिलेख भएपछि मात्र नियमावली संशोधन भएको मानिनेछ।
३८. नियमावली बाँझिएको हदसम्म निष्कृय हुनेः यस नियमावलीमा लेखिएका कुराहरु ऐन, अन्य प्रचलित कानून वा प्रबन्धपत्रसँग बाझिएमा बाँझिएको हदसम्म स्वतः वदर हुनेछ।
३९. संस्थापकको विवरण र उद्घोषणः हामी “………………………………(कम्पनीको पुरा नाम)” का संस्थापकहरूले यो कम्पनी संस्थापना गरी प्रचलित कानून बमोजिम सञ्चालन गर्न मञ्जुर गरेका छौं । यो नियमावलीमा उल्लेखित हाम्रो नाम, ठेगाना, हस्ताक्षर, र साक्षी सम्बन्धी व्यहोरा ठीक साँचो हो । कुनै कारणले झुटृा ठहरिन गएमा कम्पनी दर्ता पश्चात् सिर्जना हुने दायित्व व्यहोर्न हामी तयार छौं । यो नियमावलीमा लेखिएका कुरा साँचो हो, झुटृा ठहरे कानून बमोजिम सहन बुझाउन मञ्जुर छौं भनी सहिछाप गरेका छौं।
संस्थापकको नाम, ठेगाना र सहीछाप | बाबुको नाम | ना. नं. र जिल्ला | साक्षीको नाम थर ठेगाना र सहीछाप | साक्षीको नागरिकता नं. |
---|---|---|---|---|
द. .................... नामः ठेगानाः दा. बा. |
द. .................... नामः ठेगानाः दा. बा. |
|||
द. .................... नामः ठेगानाः दा. बा. |
द. .................... नामः ठेगानाः दा. बा. |
मस्यौदाकारः
नामः
इति संवत् २०…. साल ……….. महिना ……. गते रोज …… शुभम् ……………………………………।
Share This :
Babita Pariyar
Babita is a law student with a keen interest in property accountancy and legal compliance. She contributes insightful, well-researched articles that reflect a fresh and analytical perspective on evolving legal matters.